| आइतवार, माघ ५, २०७६

पाँच वर्षदेखि गुमनाम थिए जोशी

गोरखा नगरपालिका वडा नम्बर ६ छहरेका धु्रब जोशी पाँच वर्षदेखि गुमनाम थिए । गोरखा सदरमुकामको महेन्द्रज्योति माध्यामिक विद्यालयमा अध्यापन गराउने उनकी साली ‘रती’ ले आत्महत्या गरेपछि उनले गोरखा छाडे ।

आफैँ विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेका बेला जोशीले १२ कक्षासम्म पढाउने गरी सालीलाई जागिर लगाएका थिए । छहरेमा रहेको उनको घरमा सालीले एक दिन दिउँसो आत्महत्या गरेपछि उनी यहाँ बसेनन् । उनीसँगको अनैतिक संम्बन्धका कारण सालीको गर्भ रहन गएको चर्चा त्यतिबेला चलेको थियो । प्रहरीले जोशीलाई पक्राउ गरेपनि राजनीतिक आडमा जोशीले छुटकार पाए ।

क्त घटनापछि गुमनाम रहेका जोशीलाई रोग निको पारिदिने आस्वासन देखाएर बलात्कार गरेको आरोपमा ललितपुरबाट प्रहरी पक्राउ गरेको छ । उनी केही वर्ष देखि क्रिस्चियन धर्मको प्रवचन दिने (पास्टर) को रुपमा काम गर्दै आएका  रहेछन् ।

ललितपुर कुसुन्तीकी एक महिला दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन् । थला पारेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन । औषधि खाउन्जेल निको हुने, खान छाडेपछि बल्झिने भएपछि उनी उपचारका अन्य विधि र तरिका खोज्नतिर लागिन् । धामीकहाँ पुगेर झारफुक गराइन् । निको भएन । एक दिन उनलाई छिमेकी महिलाले चर्चमा गएर ध्यान गर्दा निको हुन्छ भन्दै त्यसै गर्न सुझाइन् ।

रोगले सताइरहेका बेला चर्च जाँदा निको हुन्छ भन्ने सुनेपछि उनी कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली नामको चर्चमा धाउन थालिन् । उनी शनिबार(शनिबार नियमित चर्च जान्थिन् । चर्च जान थालेपछि पास्टर विश्वास भन्ने ध्रुवबाबु जोशी उनीसँग नजिकिन थाले । उनले ‘अघिल्लो जुनीमा नराम्रो काम गरेका कारण यस्तो भएको हो, यसलाई मेटाउन परमेश्वरको विधि अपनाउनुपर्छ’ भन्न थाले ।

पाप र रोग मेटाउन जोशीले ती महिलालाई आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने बताए । उनले आफू प्रार्थना बस्दा परमेश्वरले यस्तो विधि बताएको भन्दै आफूसँग शारीरिक सम्पर्क राखेको तीन महिनाभित्र रोग निको हुने भनी महिलालाई विश्वस्त पारे । पास्टर जोशीले उनलार्ई चापागाउँ (ललितपुर) मोडमा रहेको एक गेस्ट हाउसको कोठामा बोलाएर शारीरिक सम्बन्ध राखे । त्यसपछि पनि दबाब र आशा देखाई पटक(पटक उनले शारीरिक सम्बन्ध राखे ।

तर रोग निको भएन । रोग निको नभएपछि महिलाले रोग निको बनाइदिने झुटो आश्वासन देखाएर जोशीले आफ्नो अस्मिता लुटेको भन्दै कारबाहीका लागि प्रहरी गुहारिन् । उनले प्रहरी परिसर ललितपुरमा जोशीविरुद्ध जाहेरी दिइन् । जाहेरीमा लेखिएको छ, ‘मेरो इच्छाविपरीत ढोका बन्द गरी निज पास्टरले शारीरिक सम्बन्ध राखे। मैले तिमीलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश हुन्छ र यसको असर तिमीलाई पनि पर्छ भनेर धम्की दिए ।’

जाहेरीमा जोशीले पटकपटक बलात्कार गरेको र यो विषयलाई बाहिर लगे परिवार तथा साथीभाइलाई भनिदिने भन्दै डर देखाएको उल्लेख छ । जाहेरीमा जोशीले पछिल्लोपटक पुस पहिलो साता बलात्कार गरेको उल्लेख छ । पीडितको लिखित जाहेरीका आधारमा चर्चका पास्टर जोशीलाई सोमबार ललितपुर प्रहरीले कुसुन्तीबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जोशीविरुद्ध जाहेरी परेपछि पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए । ‘धार्मिक आस्था देखाएर फाइदा लिएको देखियो, यस्तो काम गर्ने र गराउनेलाई कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘चर्चमा धेरै संख्यामा मानिस आउने रहेछन्, अन्यमाथि पनि यस्तै भएको हुनसक्छ, अनुसन्धान भइरहेको छ ।’ जोशीलाई थुनामा राखेर थप अनुसन्धान गर्न मंगलबार पाँच दिनको म्याद थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्