| शनिबार, बैशाख ८, २०८१

सी आउँदैमा उत्पात भयो भनेर भारत र चीनको बिचमा खेल्नुहुदैन : डा. भट्टराई

सी नेपालमा आउँदैमा भारतलाई चिढ्याइहाल्नु नपर्ने समाजवादी पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले तर्क गरेका छन् । बिहिबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको कुराकानीमा नेता भट्टराईले चीनले भारतको विश्वास लिएर मात्र क्षेत्रीय नीति बनाउन चाहने दाबी गरे ।

‘सीले नेपाल आए भन्दैमा लौ उत्पात भयो भनेर मामा आए घोँडा, माइजु आइन् डोली, पापा ल्याइन् सोली भन्ने भ्रममा पर्नु हुदैन’, उनले भने, ‘उहाँ सिधै नेपाल नआईकन भारतको महावलीपुरम पुगेर भारतीय प्रधानमन्त्रीसंग कुराकानी गरेर मात्र यहाँ आउनु भयो । यसको सांकेकित अर्थ के हो भने, चीनले भारतलाई चिढ्याउन चाहँदैन । भारतलाई विश्वासमा लिएर मात्र क्षेत्रीय बनाउन चाहन्छ भन्ने यसले सन्देश दिन्छ ।’ यो अबस्थामा तीनवटा शक्तिसम्पन्न मुलुकलाई सन्तुलनमा राख्न सक्नु पर्ने उनले सुझाव दिए ।

‘चीन र अमेरिकाको सामरिक प्रतिष्पर्धा, संगसंगै भारत उदीयमान छिमेकी राष्ट्र हुनुको नाताले परम्परादेखिको जुन हाम्रो चासो छ, यसमा ख्याल गर्नुपर्ने कुरा के हो भने यी तीन शक्तिको स्वार्थ र चासो टकराउने अबस्था हामी देख्छौं । यस्तो अबस्थामा हामी सन्तुलित ढंगले अघि बढ्नुपर्छ’, उनले भने, ‘एकले अर्काको बिरुद्ध खेल्ने नीति लिनु हुदैन । कतिपय नेताहरु यो भ्रममा छन् । हामीचाहिँ त्यो भ्रममा छैनौं ।’ विश्वको शक्तिशाली देशका ठूला नेता आउनुले देशको साख बढेको उनले बताए ।

सरकारमा बस्ने सम्भावना छैन

पूर्व प्रधानमन्त्री डाक्टर भट्टराईले वर्तमान सरकारलाई संविधान संशोधनका लागि दुई तिहाई पु¥याउन सत्ता समिकरणमा साथ दिएको भन्दै अहिलेसम्म पनि संविधान संशोधनका लागि पहल नभएकाले सत्तामा बसिरहनुको औचित्य समाप्त भएको टिप्पणी गरे । ‘सरकारको डेढबर्षको अवधि सकिसक्यो, प्रधानमन्त्रीले संविधान संशोधन गर्ने चासो देखाइरहनु भएको छैन’, उनले भने, ‘त्यसैले अब हामी सरकारबाट बाहिर निस्केर जनताको जनमत तयार गर्ने र आन्दोलनमा उत्रिने तयारीमा छौं ।’ सशर्त सरकारमा गएकाले सर्त पूरा नभएर सरकारमा टाँसिरहने स्वार्थ नभएको उनले स्पष्ट पारे ।

‘छिट्टै पार्टीको बैठक बस्नेछ र सरकारबाट बाहिरिएको निर्णय गर्नेछ’, उनले भने, ‘किनभने, संविधान संशोधनको पहल गर्नुको साँटो प्रधानमन्त्री उल्टै संविधान संशोधनको कुरा गर्ने कुरालाई ‘दिनदिनै गाउने गीत जस्तो भयो’ भन्दै ब्याङ्ग्य छेडखानी गर्नुहुन्छ । यो हामीलाई सह्य छैन ।’ राष्ट्रिय जनतापार्टीसंग छिट्टै एकताको घोषणा हुने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्