| शनिबार, बैशाख ८, २०८१

देशभरका हिमाल आरोहण गर्ने २४ टोली मध्य १८ टोली मनास्लुका लागि, १९४ जनालाई मनास्लु आरोहणको अनुमति,

 

अनुपमा खनाल :

यो बर्षको शरद ऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल आरोहण गर्न १८ टोलीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म १८ टोलीका एक सय ९४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका छन् ।

विभागबाट अहिले सम्म कूल २४ टोलीका दुईसय ३० जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र १८ टोलीका १ सय ९४ आरोही छन् ।

यस हिमालबाट आगामी सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट दुई करोड रुपैयाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ ।
गोरखाको चुमनुब्री १, सामागाउँ मा रहेको आठ हजार एक सय ६३ मिटर उचाईको मनास्लुमा केही बर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको हो ।

अन्य हिमालको तुलनामा मनास्लु हिमाल आरोहण गर्न कठिन रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । ‘साहसिक आरोहण गर्न चाहनेको रोजाईमा मनास्लु पर्छ’, उनले भने, ‘आरोहीका अनुसार सगरमाथा भन्दा यो हिमाल चढ्न गाह्रो छ ।’

मनास्लु हिमाल संसारको आठौँ र नेपालको सातौं अग्लो हिमाल हो । यसलाई किलर माउन्टेनका रुपमा पनि चिनिन्छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार आरोहीहरु प्रायजसो मनाङको भीमथाङ हुँदै लार्केपास गरेर मनास्लु आरोहण गर्न जाने गरेका छन् । कतिपय हेलिकोप्टर चार्टर गरेर सामागाउँसम्म जाने गरेको एमक्यापका प्रमुख लामाले जानकारी दिए । यसबर्ष भने गोरखाको बाटो हुदै आरोहीहरु जाने वातावरण मिलाउन गोरखा उद्योग वाणिज्य संघले पहल गरेको छ ।

मनास्लु हिमालको बेसक्याम्प सामागाउँबाट दुई घन्टाको पैदल दुरीमा रहेको छ ।

आरोहीहरुले यहाँबाट मनास्लुको चुचुरोमा पुग्न एक सातादेखि एक महिनासम्म लगाउने गरेको लामाले जानकारी दिए ।

‘आरोहीहरु आफुलाई वातावारण अनुकुल बनाउँदै जाने हुनाले कोहीले एक हप्तामै आरोहण गर्नुहुन्छ । कोहीलाई एक महिना पनि लाग्न सक्छ ।’ आरोहणका क्रममा आरोहीले आफु अनुकुल क्याम्प बनाएर बस्ने गरेका उनले बताए ।

सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

केहिबर्ष अघिसम्म मनास्लु आरोहण गर्नेमा जापानी नागरिक बढि रहेकोमा पछिल्लो समय चिनिया र युरोपियन राष्ट्रका नागरिकको संख्या बढि रहेको एमक्यापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्