| शुक्रबार, अशोज ३, २०७६

बा आमाको माझमा बसेर याकुबले भने : ‘श्यामहरिलाई मैले मारेको हुँ’

 

अनुपमा खनाल :

गोरखा नगरपालिका १० टक्सारका श्यामहरि घिमिरेको हत्या प्रकराणको रहस्य १२ औं दिनमा खुलेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय गोरखामा पत्रकार सम्मेलन गरी प्रहरीले वडा नं ९ लक्ष्मीबजार निबासी याकुब परियारले घाँटी अँचेटेर मारेको स्वीकार गरेको जनाएको छ ।

प्रहरीले लिएको प्रारम्भिक बयानको भिडियो रेकर्डमा याकुबले बुबा र आमाको माझमा बसेर घिमिरेको हत्या आवेशमा आएर आफैले गरेको स्वीकार गरेका छन् । उनी आफ्नै श्रीमती पूजा परियारको हत्या आरोपमा प्रहरी हिरासतमा छन् । उनको थप अनुसन्धान गर्दै जाँदा मनकामना बहिरा माविका कर्मचारी श्यामहरी घिमिरेको हत्या गरेको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाले पत्रकार सम्मेलनको आयोजना गरी याकुबले श्यामहरिको हत्या आफुले गरेको स्वीकार गरेको जनाएको हो ।  याकुबले श्यामहरीको हत्या गरेको बयान दिएका एसपी ओम अधिकारीले बताए । ‘साउन २७ गते राती याकुवका बा आमा र श्रीमतीले उनलाई टक्सारको उमाकान्त बगालेको घरमा झारफुक गर्न लगेका रहेछन्’, उनले भने, ‘बगाले बा कहाँ पुगेपछि याकुबले श्रीमती, बा आमालाई कुटेर भागेछन् । त्यहि बेला मृतक घिमिरेसँग उनको जम्काभेट भएछ । मानसिक अबस्था राम्रो नभएका उनले घिमिरेलाई एक मुक्का हानेछन् । घिमिरे ढलेपछि कपडा समातेर कान्लाबाट तल झारेर घिसार्दै तल पुगेर घोप्टो पारेर घाँटी थिचेर मारेछन् । मृतकको ढाडमा बसेर मुन्टो बटारेछन् ।’

अनुसन्धानकै क्रममा प्राप्त तथ्यको आधारमा प्रहरीले याकुबमाथि घिमिरे हत्याको विषयमा पनि अनुसन्धान गरेको थियो ।

प्रहरी कार्यालयमा प्रदर्शन गरिएको भिडियो रेकर्डमा याकुबले बुबा आमाको बीचमा बसेर भनेका छन्, ‘रोडमा हिडिरहेको उसलाई हिर्काएर ढलाएको हुँ । एकछिन हानाहान पनि भएको थियो । अनि मैले उसको घाँटी थिचेर बटारिदिएँ । अनि घिसारेर जंगलमा लगेर फालिदिएँ । यी हेर्नुस् मेरो खुट्टामा चोट अहिले पनि छ ।’

२१ बर्षका याकुव मानसीक रोगी रहेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । उनीबिरुद्ध ज्यान मार्ने कसुर अन्तरगत दुईवटा मुद्धा दर्ता हुने एसपि अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्