| बिहिबार, बैशाख ६, २०८१

विदेशबाट फर्केको छोरा गुमाउनुको पीडा

एक वर्षअघि २०७३ फागुन २३ गते एमालेको मेची महाकाली अभियान अन्र्तगत सप्तरीमा सम्बोधन गर्ने दिन थियो । सप्तरीकै शान्तिदेवी मेहताका माइला छोरा सञ्जय पनि कार्यक्रममा लागि घरबाट निस्किनुभयो । शान्तिदेवीलाई छोरा कहाँ गयो भन्ने हेक्का थिएन ।

 

सञ्जय बेलुकी अबेरसम्म घर नफर्किदा उहाँले सोच्नुभयो, ‘विदेशबाट फर्किएको छोरो, भनेको काम पाएको छैन, विरक्तिएर बजार र चोकतिर कतै बसेको होला ।’ बजार र चोकमा भीड थियो । त्यही भीडमा होला भन्ठानेको छोराको मृत्युको खबर त्यै भीडबाट उहाँको कानमा ठोक्कियो । उहाँ छांगाबाट खसै झैँ हुनुभयो ।

विदेशबाट फर्किएको केही समयमै आफ्नै काखमा छोरा गुमाउनु पर्दा शान्तिदेवीको आँखा ओभाएका छैनन् । कमाउने छोराको मृत्यु भएपछि शान्तिदेवी र उहाँका श्रीमान् लक्ष्मणप्रसाद बिचल्लीमा पर्नुभएको छ ।

शान्तिदेवीका व्यथा उहाँकै शब्दमा

सिकाउन पर्ने उमेरको थिएन हाम्रो छोरो । विदेश पनि घुमेर आएको छोरालाई गाउँ सरह घुम्न नजानु भनेर कसरी भन्नु थियो र । पोहोर फागुनमा एमालेले मेचीमहाकाली अभियान चलाएको थियो । त्यही अभियानमा सहभागी हुन छोरो पनि जान्छु भन्यो । गाउँका सबै युवा गएका थिए । मैले छोरालाई रोक्न सकिन ।

दिनभरी छोरो फर्किएन । किन आएन भनेर मन आत्तिएको थियो । छोरो त साँझ पर्दा पनि आएन तर रात पर्नै लाग्दा आएको खबरले भने हाम्रो होसै उड्यो ।

गाउँकै रामचन्द्र यादवले हत्तारिँदै आएर भने, ‘सञ्जय त झडपमा पर्‍यो ।’

अपत्यारिलो थियो उहाँले ल्याएको खबर, कसरी त्यस्तो भयो ? के भयो सञ्जयलाई ? म एकदमै आत्तिएँ ।

रामचन्द्रले थप्नुभयो, ‘हिंसात्मक घट्ना भयो, सञ्जय पनि त्यसमै परेर बित्यो ।’

उहाँको कुरा पत्याउन पनि सकिन । नपत्याउनु पनि कसरी ?

छोरो त्यही सिंसात्मक घटनामा परेर मरेको सत्य सावित भयो । २५ वर्ष मात्रै लागेको थियो । सहारा त्यो छोरा भन्दा अरु थिएनन हामी बुढाबढीको । जेठो छोरो छुट्टै बस्न थालिसकेको थियो । कान्छो सानै थियो । छोरा मरेको खबर सुन्दा हामी नै किन मरेनौं भन्ने लाग्यो । सन्तान शोक कोही आमाबुवाले नि भोग्न नपरोस् ।

विदेशबाट फर्किएको ६ महिना पनि भएको थिएन । कमाएर भाइ पढाउछु, तपाईंहरुलाई नि राम्रोसँग पाल्छु भन्थ्यो, खै के भयो यसै फर्कियो । बरु विदेशमै भएको भए त्यसरी त मर्ने थिएन होला जस्तो लाग्छ । उ त मरेर गैहाल्यो । नेताहरुले के पाए थाहा छैन् । अहिले त एमालेकै नेता प्रधानमन्त्री भएका छन् रे ।

उहाँहरुको सफलताका लागि मेरो छोराको पनि ज्यान गएको छ । उहाँहरुकै कार्यक्रममा छोरा म¥यो । कार्यक्रम सक्नुभयो जानुभयो । तर हामी त छोरो मरेपछि टुहुरो भएका छौँ ।

बिहान बेलुकाको पेट भर्ने उही त थियो । कमाउने नै नभएपछि हामीलाई कसले पाल्ला । घरव्यवहार थेग्ने छोराकै मृत्यु भयो । कान्छो छोरो पढ्दै छ । उसलाई पढाउन पनि धौ–धौ भयो ।उज्यालो अनलाईनबाट लिइएको खबर

उसको पढाई खर्चका लागि तीन कठ्ठा जग्गा पनि बेचिसकेँ । अब दुई कठ्ठा मात्रै बाँकी छ । यो बाहेक अरु कुनै जेथो छैन । न त कुनै आम्दानीको स्रोत ।

प्रतिक्रिया दिनुहोस्