| मङ्लबार, भदौ ३, २०७६

भूकम्पले भत्किएका गोरखाका सबै स्वास्थ्य चौकी बने

दरौँदी ः भूकम्पले भत्काएका गोरखाका सबै स्वास्थ्यचौकी तीनबर्षको अवधिमा निर्माण सम्पन्न भएका छन् । भत्किएका ५५ वटा स्वास्थ्य चौकीमध्य सबै निर्माण सम्पन्न भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक केदार पराजुलीले जानकारी दिए ।
निर्माण सम्पन्न भएकामध्य तीन वटा हस्तान्तरण गर्न बाँकी रहेको उनको भनाइ छ । निर्माण सम्पन्न भएकामध्य सातवटा सरकारी निकायले र बाँकी सबै अन्तर्राष्टिूय गैरसरकारी संस्था(आइएन जीओ)को सहयोगमा बनेका हुन् ।
सबैभन्दा धेरै स्वास्थ्यचौकी युनिसेफले निर्माण गरिदिएको जिल्ला जनस्वास्थ्य कार्यालयका एनजीओ समन्वय शाखाका नानीबाबु दानीले जानकारी दिए । युनिसेफले १३ वटा स्वास्थ्यचौकी बनाइदिएको उनले बताए । आठवटा स्वास्थ्यचौकी सेभ द चिल्ड्रेनले, आइएमसीले सातवटा स्वास्थ्य चौकी निर्माण सम्पन्न गरेका छन् । त्यस्तै असल छिमेकी पोखराले पाँचवटा, केयर नेपालले तीनवटा, नेदरल्याण्ड लेप्रोसी रिलिफ(एनएलआर)ले एउटा र वल्र्डभिजनले दुईटा स्वास्थ्यचौकी निर्माण गरेका दानीले जानकारी दिए । त्यस्तै शुभ अवसर ग्रामले दुई वटा, गुडनेवर्स इन्टरनेशनलले चारवटा, फेस नेपालले दुईवटा, चेया नेपालले निर्माण गरेका उनले बताए । माउन्टेन चाइल्डले एक, कम्युनिटी एक्सन नेपाल(क्यान)ले पाँच वटा स्वास्थ्य चौकी बनाएको छ ।
लोककल्याणकारी संघ नेपाल(स्वान नेपाल) नामक एनजीओले १० वटा स्वास्थ्यचौकी बनाएको छ । तर अस्थायी संरचना मात्र बनाएको दानीले बताए । स्वान नेपालले बोर्लाङ, धुवाँकोट, धारापानी, आँपपिपल, घैरुङ, सौरपानी, गाँखु, हर्मी, च्याङ्ली र भुम्लिचोक स्वास्थ्यचौकी निर्माण गरेको हो । ‘तीनकोठे अस्थायी रुपमा बनाएको छ’ दानीले भने ‘यो अल्पकालका लागि हो । पक्की संरचना पछिफेरि बनाउनु पर्नेछ ।’
नेपाल सरकारले थालाजुङ, खोप्लाङ, सिर्दिबास, बोर्लाङ, भच्चेक, घ्याल्चोक र आरुआर्बाङ स्वास्थ्यचौकी निर्माण गरेको जिल्ला जनस्वास्थ्य प्रमुख पराजुलीले बताए । त्यस्तै दर्बुङ, लाप्राक, बारपाक, माछाखोला, तारानगर, बक्राङ, नाम्जुङ, छोप्राक, फुजेल, देउराली, गुम्दा र बोर्लाङ स्वास्थ्यचौकी युनिसेफले निर्माण गरेको छ ।
नारेश्वर, ताकुकोट, पन्द्रुङ, पाँचखुवादेउराली, धावा, तान्द्राङ, बगुवा र आरुचनौटे स्वास्थ्यचौकी सेभ द चिल्डूेनले निर्माण गरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
घ्याच्चोक, मुच्चोक, सौरपानी, स्वाँरा, ताप्ले, खरिबोट र आरुआर्बाङ स्वास्थ्यचौकी इन्टरनेशनल मेडिकल क्रप्स(आइएमसी)ले निर्माण गरेको पराजुलीले जानकारी दिए । श्रीनाथकोट, आँपपिपल, घ्याल्चोक, भुम्लिचोक र घैरुङ स्वास्थ्यचौकी असल छिमेकी पोखराले निर्माण गरिदिएको उनले बताए । हर्मी, गाँखु र उहिया स्वास्थ्यचौकी केयर नेपालले, केराबारी स्वास्थ्यचौकी वल्र्डभिजनले निर्माण सम्पन्न गरेका थिए । क्यान नेपालले बिही, प्रोक, ल्ही, ल्हो, सामागाउँको स्वास्थ्यचौकी निर्माण गरेको कार्यालयले जनाएको छ । केरौंजा, काशिगाउँ, लापु स्वास्थ्यचौकी फेज नेपालले, छेकम्पारमा चेया नेपालले स्वास्थ्यचौकी निर्माण गरेका हुन् ।
सबै स्वास्थ्यचौकी पुनर्निर्माण भएपनि अहिलेसम्म जिल्लाको एउटा स्वास्थ्यचौकी भने अलपत्र नै छ । ‘चुम्चेत स्वास्थ्य चौकीचाहिँ सरकारले पनि बनाएको छैन, अहिलेसम्म कुनै एनजीओ, आइएनजीओले पनि जिम्म लिएका छैनन् ।’
बिभिन्न २८ ठाउँको ग्रामीण सामुदायिक स्वास्थ्य इकाइ र सहरी सामुदायिक स्वास्थ्य इकाइ पनि निर्माण भइसकेको छ । लापुको माझगाउँमा माहिली नेपालले, केरौंजाको हुलचुकमा र सौरपानीको रञ्चोकमा स्वान नेपालले, गुम्दाको सिङ्लामा मनास्लु फाउण्डेशनले, सामागाउँको साम्दोमा माउण्टेन चाइन्डले सामुदायिक स्वास्थ्य संस्था निर्माण गरेका छन् । ‘सेभ द चिल्डूेनले ११ वटा, गुड नेवर्स इन्टर नेशनलले पाँचवटा, वल्र्डभिजन इन्टरनेशनले चार वटा गाउँघर क्लिनिक बनाएका छन्’ एनजीओ शाखाका कर्मचारी दानीले भने ‘यस्ता क्लिनिक त जिल्ला स्वास्थ्य कार्यालयमा समन्वय नगरी पनि बनाएकाले कुन एनजीओले कहाँकहाँ बनायो भन्ने निश्चित छैन ।’ भूकम्पपछि निर्माण भएका स्वास्थ्यसंस्थामा बर्थिङ सेन्टर पनि स्थापना भएका छन् । ‘एउटा सकारात्मक पक्ष के छ भने भूकम्पपछि निर्माण सम्पन्न भएका स्वास्थ्यचौकीमा २४ घण्टे प्रसुती केन्द्र पनि तयार भएका छन्’ वरिष्ठ जनस्वास्थ्य प्रशासक पराजुलीले भने ‘त्यतिमात्रै होइन, जसले बनायो उसले स्वास्थ्यचौकीमा आवश्यक औषधी, उपकरण, फर्निचर र क्वाटरका लागि आवश्यक पलंग, ओढ्नेओछ्याउने, भाँडाकुँडा समेत उपलब्ध गराएका छन् ।’
चुमनुब्री र धार्चेका केही गाउँमा काम गरेका क्यान र फेज नेपालले जनशक्ति समेत उपलब्ध गराएका उनले बताए । ‘क्यान र फेजले त चुमनुब्री र धार्चेका केही स्वास्थ्यसंस्थामा एकसय ५८ प्रकारका औषधी पनि निशुल्क उपलब्ध गराएका छन्’ पराजुलीले भने । भूकम्प गएको छ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेपनि स्वास्थ्यचौकी निर्माण गर्न करिब तीन बर्ष लागेको हो । ‘पाँचगुना बढि समय त लाग्यो, तर ढिलै भएपनि अहिले सुबिधा सम्पन्न स्वास्थ्य चौकी बनेका छन्’ जिल्ला जनस्वास्थ्य प्रमुख पराजुलीले भने ‘भूकम्पले क्षतिग्रस्त भएका बेला आएर गरेको सहयोग अबिस्मरणीय छ ।’

प्रतिक्रिया दिनुहोस्