| आइतवार, असार २८, २०७७

प्राथमिक उपचार तालिम दिदै रेडक्रस

दरौँदी ः नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले धामाधम प्राथमिक उपचार तालिम संचालन गरेको छ । २५ वटा उपशाखा रहेको गोरखाको पालुङटार उपशाखामा यस अघि नै तालिम भईसकेको छ भने बिहिबारदेखि शहिद लखन गाउँपालिको बुङ्कोट उपशाखामा तालिम सुरु भएको रेडक्रसका सुवास घिमिरेले बताए ।
रेडक्रस उपशाखाका सदस्यहरु, समाजसेवी, वडा प्रतिनिधी तालिममा सहभागी भएका छन् । उपशाखा सभापति मदन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडा अध्यक्षहरु काशीनाथ अम्गाई, शरण श्रेष्ठ, रामप्रसाद लामिछाने, रेडक्रस सभापति भगवानबाबु मास्के लगायतले धारणा राखेका थिए ।
सहभागीलाई सगुना ढकाल, दिपक भट्ट, लालबहादुर गुरुङ, टोपबहादुर बानियाँ, सुवास घिमिरे लगायतले प्राथमिक उपचारका विधिका बारेमा प्रशिक्षण दिनेछन् । प्राथमिक उपचार र विपद पूर्व तयारी गर्ने तरिकाका बारेमा सिकाईने र हरेक उपशाखालाई पाँचदेखि छ थानसम्म ‘फस्ट एड बक्स’ पनि उपलब्ध गराउने रेडक्रसका सुवास घिमिरेले बताए । बिपद् वा दुर्घटनामा घाईतेहरुलाई छिटो सहज सेवा दिन र दुर्घटनाको जोखिम न्यूनिकरण गर्न तालिम दिइएको उनले बताए । तालिम १३ गतेसम्म बुङ्कोट उपशाखामा चल्नेछ भने गोरखा नगरपालिका २ ताप्ले उपशाखामा पुस २५ देखि २७ सम्म हुने रेडक्रस जिल्ला शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्