| आइतवार, माघ ५, २०७६

माछाखोलामा दुईदिने स्वास्थ्य शिविर सम्पन्न, नौसय ४३ जनाको चेकजाँच

धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सञ्चालित दुई दिने स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ । दुई दिनसम्म खटिएका ७० जनाको स्वास्थ्यकर्मीको टोलीले नौसय ४३ जनाको स्वास्थ्य परीक्षण तथा उपचार गरेका गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।
छसय तीनजना महिला र तीनसय ४० जना पुरुषको उपचार गरिएको उनले बताए । मंगलबार सञ्चालित शिविरमा १४ जना मोतियाविन्दूको शल्यक्रिया गरिएको उनले बताए । त्यस्तै १७७ जनाको ल्याब परीक्षण गरिएको थियो ।
शिविरमा हाडजोर्नीको समस्या भएका बिरामी सबैभन्दा धेरै भेटिएको चिकित्सकको तथ्याङ्क उद्धृत गर्दै अध्यक्ष गुरुङले बताए । ‘हाडजोर्नीको समस्या भएका दुईसय ६५ जना बिरामीको चेकजाँच र उपचार भएको छ’, उनले भने, ‘दुईसय ६५ जना बिरामीको स्त्रीरोग सम्बन्धी परीक्षण र उपचार गरिएको छ ।’ १८६ जनाको पाठेघरको मुखको क्यान्सर सम्बन्धी परीक्षण गर्दा दुई जनाको पाठेघरको अपरेशन गर्नुपर्ने देखिएको उनले बताए ।
दुईसय तीनजनाको दाँतको परीक्षण गर्दा १७० जनाको उपचार गरिएको थियो । त्यस्तै एकसय २८ जनाको नाक, कान, घाँटीको परीक्षण र उपचार तथा एकसय ११ जनाको छालासम्बन्धी चेकजाँच र उपचार भएको थियो ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय गोरखा, धार्चे गाउँपालिका र गोरखा जिल्ला अस्पतालले सो शिविरको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्