| शुक्रबार, अशोज ३, २०७६

डाक्टर सन्दूक रुइतलाई डेङ्ग्यू

तिलगंगा आँखा केन्द्रका संस्थापक निर्देशक रुइतेक्टोमीका प्रवद्र्धक म्यागासेसे पुरस्कार विजेता आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण भएको छ । उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

अस्पताल भर्ना भए पनि रुइतको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी नभइसकेको स्रोतले बताएको छ ।
पछिल्लो समय देशभरमा डेंगी संक्रमण हुने दर बढेको छ । वैशाखदेखि फैलिएको डेंगीबाट ४८ भन्दा बढी जिल्लामा ५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।

गत बुधबार मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल पनि डेंगी संक्रमण देखिएर ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना भएका थिए ।

ताप्लेजुङको दुर्गम गाउँ ओलाङचुङगोलामा जन्मेका डाक्टर रुइतले आफै उपस्थित भएर तथा अडियो भिडियो प्रविधिमार्फत विश्वका १५० भन्दा धेरै देशमा आँखाको रोग सम्बन्धी डाक्टरहरुलाई पढाउने गरेका छन् । सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाएका उनले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरिसकेका छन् ।

 

हाम्रो घरलाई डेंगी लामखुट्टेबाट जोगाउने १० उपाय
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केही दिनअघि भनेका थिए, ’डेंगी नियन्त्रण गर्न मुश्किल भयो, सेना परिचालन गर्नुपर्ने अवस्था आइसक्यो ।’
देशको रक्षा गर्नुपर्ने सेनाले लामखुट्टे कसरी नियन्त्रण गर्लान् थाहा छैन। तर, हामीले केही उपाय अपनायौं भने डेंगी लामखुट्टेबाट सेनाले भन्दा प्रभावकारी रूपमा घरको रक्षा गर्न सक्छौं ।
तपाईंहरू अलमलिनुभयो होला, सरकारले नै नियन्त्रण गर्न नसकेको डेंगी लामखुट्टे हामी कसरी रोक्न सक्छौं ?
यसको निम्ति सबभन्दा पहिला डेंगी सार्ने लामखुट्टेबारे बुझौं ।
डेंगी लामखुट्टेको आनीबानी र आकारप्रकार फरक हुन्छ । यो सामान्य लामखुट्टेजस्तो कान खाने गरी कराउँदैन। न राति आउँछ। यो त दिउँसो सक्रिय हुने जात हो, जतिबेला हामी पनि काममा सक्रिय हुन्छौं। यसको आकार यति सानो हुन्छ, झट्ट देखिँदा पनि देखिँदैन ।
पहिलेका लामखुट्टे प्याट्ट मार्दा पिच्च रगत आउँथ्यो। यी लामखुट्टे मार्दा कालो, फुस्रो धूलोजस्तो देखिन्छ। यसले टोक्यो भने शरीर चिलाएजस्तो हुन्छ। मसिना बिबिरा आउँछन्। बिबिरासँगै चिलाइ फैलिन्छ ।
यस्तै लामखुट्टेले ओसारेको डेंगी भाइरसबाट यो वर्ष तीन जनाको मृत्यु भइसकेको र झन्डै पाँच हजार बिरामी परेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महानिर्देशक डा. विवेककुमार लाल बताउँछन् ।
यति भयानक लामखुट्टे रोक्न हामी के गर्न सक्छौं त ? के यो हाम्रो हातमा छ ?
खासमा यो लामखुट्टे रोक्ने हैसियत सरकार वा सेनासँग होइन, हामी जनतासँगै छ । जनताले चाहेनन् भने सरकारले ’संकटकाल’ लागू गरे पनि डेंगी लामखुट्टे रोकिँदैन ।
यो यस्तो लामखुट्टे हो, जुन हाम्रो घरभित्रै हुर्किन्छ र फैलिन्छ। काठमाडौंजस्तो सहरी क्षेत्रमा त यसको बास भनेकै हाम्रो सफासुग्घर घर हो ।
हामीले सधैं सुन्दै आयौं, घरवरिपरि फोहोर पानी जम्यो भने लामखुट्टेको बिगबिगी बढ्छ। लामखुट्टे फैलिन्छ भनेर टोलका नाली सरसफाइ गरेको पनि हामीले देख्यौं। तर, त्यस्तो लामखुट्टे कसरी रोक्ने, जुन फोहोर नाली होइन, हामीले भान्सा वा कौसीमा जम्मा गरेको सफा पानीमा हुर्किन्छ, बढ्छ ?
डेंगी लामखुट्टेको स्वभाव त्यस्तै हुन्छ। यसलाई फोहोर होइन, सफा पानी चाहिन्छ। सफा पानीमै यसले फुल पार्छ। बाल्टिन, ड्रमदेखि गमलामुनि रहेको प्लेट र मिनरल वाटरको बोतलजत्रो सानो भाँडोमा थोरै पानी छ भने पनि यसले आफ्नो घर बनाउन थालिहाल्छ।
’डेंगी लामखुट्टेको जीवनचक्र चलाउन प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यानदेखि छतमा जमेको पानी नै काफी हुन्छ,’ डा. लाल भन्छन्, ’सफा पानीमा हुर्किने आनीबानीकै कारण यो लामखुट्टे काठमाडौंमा फैलिएको हो ।’
काठमाडौंमा खानेपानीको विकराल समस्या छ । अधिकांश टोलमा बढीमा साताको एकचोटि पानी आउँछ। पानी जोहो गर्न बाटा, बाल्टिन, ड्रममा जम्मा नगरी धर छैन। पछिल्लो समय आकाशेपानी जम्मा गर्ने चलन पनि बढेकै छ । डेंगी लामखुट्टे यस्तै वातावरणमा फैलिन्छ ।
’खानेपानी आपूर्तिको राम्रो व्यवस्था नभएकाले हामी पानी जम्मा नगर्नुस् भन्न सक्दैनौं,’ डा. लालले धरानको उदाहरण दिए, ’डेंगी प्रकोपपछि त्यहाँको स्थानीय सरकारले हरेक दुई दिनमा जम्मा गरेको पानी फ्याँक्नू र सफाइमा ध्यान दिनू भन्यो। स्थानीयले सोधे– पानी जम्मा नगरे हामीले के खाने? केले लुगा धुने? कसरी नुहाउने?’
जवाफ कसैसँग थिएन।
काकाकुल सहरबासीलाई पानी जम्मा नगर्नू भन्न सम्भव छैन। जबसम्म पानी जम्मा भइरहन्छ, डेंगी लामखुट्टेको जोखिम रहिरहन्छ।
डा. लालका अनुसार डेंगी नियन्त्रण गर्न केही ठाउँमा विषादी र डिजेल बालेर धुँवा पुत्याउन थालिएको छ। यसले अल्पकालीन रूपमा लामखुट्टे मरे पनि त्यसले पारेका फुलमा असर पर्दैन। बरू यस्तो धुँवाले वृद्ध, बच्चा र गर्भवतीको स्वास्थ्य र वातावरणमा भने नकारात्मक असर परेको छ।
’विश्वमा डेंगी लामखुट्टे नियन्त्रण भएका ठाउँको अनुभव हेर्ने हो भने कडा कानुनले काम गरेको देखिन्छ,’ उनले सिंगापुरको उदाहरण दिए।
सिंगापुरजस्तो सफासुग्घर ठाउँमा पनि केही वर्षअघि डेंगी प्रकोप थियो। डेंगीबाट बच्न जनचेतनामूलक कार्यक्रमसँगै कडा कानुन लागू गरियो। घरभित्र र वरिपरि पानी जमाएर राख्नेलाई कारबाही थालियो। कसैको घरआँगनमा बोतल, प्लास्टिकका भाँडाकुँडा, टायर लगायत डेंगी लामखुट्टे सल्किन सक्ने साधन फेला परे जरिवाना तिराउन थालियो। यसैको नतिजा, सिंगापुरले डेंगी लगभग उन्मूलन गर्यो।
भारत, श्रीलंका, पाकिस्तान लगायत मुलुकले पानी जम्मा गर्नेलाई जरिवाना तिराए पनि कार्यान्वयन फितलो छ। हामीकहाँ पनि कानुन कडा बनाएर डेंगी नियन्त्रण गर्न सम्भव छैन।
सरकारलाई नै मुश्किल परेको काम हामी जनताले चाह्यौं भने कसरी सुल्झाउन सक्छौं? के धरानको स्थानीय सरकारले भनेजस्तै पानी जम्मा गर्नै छाड्ने?
पानी जम्मा नगर्नु त सबभन्दा राम्रो उपाय भइहाल्यो, तर हामीलाई थाहा छ, यो सम्भव छैन। कम्तिमा आजको काठमाडौंमा। तर, पानी जम्मा गर्दा पनि हामी दसवटा यस्ता सजिला उपाय अपनाउन सक्छौं जसले डेंगी लामखुट्टे नियन्त्रणमा सघाउ पुग्छ।

एक, तपाईंहरूले जुनसुकै भाँडामा पानी जम्मा गर्दा हावा नछिर्ने गरी टम्म बिर्को लगाउनुस्। छतको ट्यांकीमा सधैं कसिलो गरी बिर्को लगाउने बानी गर्नुस्। भूमिगत ट्यांकी छ भने पनि कहिल्यै खुला नछाड्नुस्।

दुई, बिर्को नभएको भाँडामा सकभर पानी जम्मा नगर्नुस्। गर्नैपर्ने भए हावा नछिर्ने गरी छोपेर राख्नुस्।

तीन, आफूले जम्मा गरेको पानी बढीमा दुई–तीन दिनमा प्रयोग गरिहाल्नुस्। त्योभन्दा बढी समय जम्मा गर्दा जतिसुकै सतर्क भए पनि कुनै न कुनै रूपले डेंगी लामखुट्टे छिरेर फुल पार्नसक्छ। एउटा मात्र लामखुट्टे छिरेर फुल पार्न पायो भने पनि रोग फैलाउन पर्याप्त हुन्छ।

चार, घरका भाँडाकुँडा सफासुग्घर राख्नुस्। पानी नभएका बाटा–बाल्टिन सधैं सुख्खा राख्नुस्। अलिकति पानी पनि लामखुट्टेलाई फुल पार्ने घर बन्न सक्छ। त्यसैले पानी जम्मै तर्काएर–सुकाएर घोप्ट्याउने गर्नुस्। फ्रिजको पछाडि जम्ने पानी सकेसम्म दिनकै वा कम्तीमा तेस्रो दिनसम्म फ्याँकिसक्नुस्।

पाँच, गमलामुनिको प्लेटमा पानी जम्न नदिनुस्। पानीमा राखिएका फूल(बिरूवा भए बढीमा दुई दिनमा पानी फेर्नुस्। बरन्डा वा छतमा पानी जमेको भए बडारकुँडार पारेर फ्याँक्नुस्।

छ, बाथरूम, ट्वाइलेट, भाँडा माझ्ने ठाउँ र स(साना मगमा पानी जमेको छ कि याद गर्नुहोस्। ट्वाइलेट प्रयोग गरे पनि, नगरे पनि हरेक एक(दुई घन्टामा फ्लश गर्ने बानी गर्नुस्। फ्लश गर्न पानी छैन भने कमोडलाई प्लास्टिकले टम्म कस्नु राम्रो।

सात, आकाशको पानी जम्मा गर्ने भाँडो थापेर धेरै दिन नराख्नुस्। पानी परेका बेला थाप्नुस्, चलाउनुस् र भाँडो सुकाइहाल्नुस्। यी भाँडाकुँडामा विषादी छर्नु हुँदैन।

आठ, झ्याल–ढोकामा जाली लगाउनुस्। यो जुनसुकै लामखुट्टे रोक्न काम लाग्छ।

नौ, सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नुस्। दिउँसो सुत्दा झुल टाँगेर मात्र सुत्ने गर्नुस्।

दस, बारी वा पानी भएका ठाउँमा काम गर्न जाँदा पूरा बाहुला भएका लुगा लगाउनुस्। हातखुट्टामा लामखुट्टेले नटोक्ने मह्लम घस्नुस्।

झर्को नमान्ने हो भने यी उपाय खासै अप्ठ्यारा छैनन्। तर, यो काम एक्लो घरले गरेर हुँदैन। टोल–गाउँका सबैले गर्नुपर्छ। ’भुटान, बंगलादेश, मलेसिया, श्रीलंकाजस्ता देश पनि यो समस्याले आजित छन्। लाखौं खर्चेर प्रयास गर्दा पनि डेंगी नियन्त्रण भएको छैन,’ लाल भन्छन्, ’सरकारको पहलसँगै सर्वसाधारणको सहयोग नभए लामखुट्टे नियन्त्रण सम्भव हुन्न।’

उनका अनुसार डेंगी छिटो फैलिने रोग हो, तर प्राणघातक मानिँदैन। हामीकहाँ मृत्यु भएकामध्ये एक जनामा ’स्क्रब टाइफस’ पनि थियो भने अर्कामा उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो।

’यो भाइरस जोकोहीमा सर्न सक्छ, तर दस प्रतिशत मात्र बिरामी पर्छन्,’ उनले भने, ’शंका लाग्नासाथ जचाउनु भने पर्छ। सामान्य ज्वरो आएको भए पारासिटामोल र झोलिलो पदार्थ खाए ठीक हुन्छ।’

आँखा, नाक, मुखबाट रगत बग्ने, पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने डेंगीका केही लक्षण हुन्।

रोग फैलियो भन्दै आत्तिएर नियन्त्रण हुनेवाला छैन। न यसलाई नियन्त्रण गर्नु सरकारको मात्र बूतामा छ। अलिकति जाँगर गर्नुस्, डेंगी सार्ने लामखुट्टे भगाउने सेना तपाईं(हामी नै हो!

प्रतिक्रिया दिनुहोस्