
असहज परिस्थिति हुन सक्ने भन्दै भवानी क्याम्पसको स्ववियु निर्वाचन स्थगित
पालुङटार नगरपालिका–५ स्थित भवानी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पस प्रशासनले आइतबार एक सूचना जारी गर्दै क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको हो ।
‘स्ववियु निर्वाचन समितिबाट प्रकाशित कार्यक्रमहरुले क्याम्पसमा उत्पन्न हुन सक्ने असहज परिस्थितिलाई मध्यनजर गरी अर्को सूचना जारी नभएसमका लागि आजको मितिदेखि यस क्याम्पसको स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको छ’, सूचनामा भनिएको छ ।
मतदाता नामावलीको विषयमा केही विद्यार्थी संगठनहरुले असन्तुष्टि जनाएकाले पूर्व सावधानी अपनाई निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख विष्णुप्रसाद आचार्यले बताए । ‘नामावलीको विषयमा असन्तुष्टि देखाउँदै केही विद्यार्थी संगठनले नामावली च्यात्ने, विरोध गर्ने जस्ता क्रियाकलाप गरिरहेका थिए’, उनले भने, ‘भोलि अप्रिय घटना घट्न सक्ला भनेर पूर्वसावधानी अपनाएका हौँ ।’
क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचनको टुङ्गो लगाउने उनले बताएका छन् ।




