
गोरखा बहुप्राविधिक शिक्षालयमा लगाइएको ताला खोल्ने सहमति
प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराएको बिषयलाई लिएर पालुङटारको गोरखा बहुप्राविधिक शिक्षालयमा गरिएको तालावन्दी खुल्ने भएको छ । ताला खोल्ने बिषयमा बिहीवार शिक्षालय र नेपाल बिद्यार्थी संघ गोरखाबीच चार बुदेँ सहमति भएको छ ।
अहिले नयाँ भर्नाको समय भएकाले बिद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै शिक्षालयमा लगाइएको ताला शुक्रवार (आज) बाट खुल्ने सहमति भएको नेविसंघका जिल्ला अध्यक्ष शिवहरि तिमल्सिनाले बताए । आफ्ना मागहरु भने कायम रहेको उनले जानकारी दिए ।
प्रयोगात्मक परीक्षामा बिद्यार्थीलाई पटक पटक फेला गराउँदै आएका प्रशिक्षक आशिष रानाभाटलाई जिम्मेवारीबाट हटाउने शिक्षालय संचालक तथा व्यवस्थापन समितिको निर्णयलाई पूर्ण कार्यान्वयन गर्ने सहमति समेत भएको छ । प्रशिक्षार्थी श्यामहरि संग्रौलाको प्रयोगात्मक परीक्षाको पुनः मूल्याकंन गर्न परीक्षा नियन्त्रण कार्यालयलाई शिक्षालय प्रशासनले अविलम्व आवश्यक कदम चाल्ने सहमति समेत भएको बताइएको छ ।
‘परिक्षार्थीहरुले शिक्षालयले तोकेको समयमा परीक्षा आवेदन फारम बुझाउँदा पनि शिक्षालयको कर्मचारीको लापरवाहीका कारण बिद्यार्थीमाथि अन्याय भएकाले ती बिद्यार्थीहरुको उत्तरपुस्तिका परीक्षण गरी नजिता प्रकाशन गराउन शिक्षालय प्रशासनले आवश्यक कदम चाल्ने सहमति पनि भएको छ,’ नेविसंघ जिल्ला अध्यक्ष तिमल्सिनाले भने ।
प्रशिक्षार्थी संग्रौलामाथि बदनियत राखी आफूले पढाउने बिषयको प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराएको भन्दै यही साउन १० गते केही बिद्यार्थी समूहले प्रशिक्षक रानाभाटमाथि अभद्र व्यवहार गर्दै शिक्षालयमा तालावन्दी गरेका थिए । बिद्यार्थीलाई अन्यायपूर्ण हर्कत गर्ने प्रशिक्षक रानाभाटमाथि कारवाही गर्न उनीहरुले माग गर्दै आएका छन् ।
प्रशिक्षक रानाभाटले दिएको जाहेरीका आधारमा केही बिद्यार्थीहरु माथि अभद्र व्यवहारमा मुद्दा दर्ता समेत भएको छ । नेविसंघले उक्त मुद्दा फिर्ता हुनुपर्ने माग पनि राख्दै आएको छ । तालावन्दीको बिषयमा भने बिहीवार शिक्षालय र नेविसंघबीच सहमति भएको हो । सहमतिपत्रमा शिक्षालयको तर्फबाट शिक्षालय प्रमुख प्रदिपराज बसौला र नेविसंघका जिल्ला अध्यक्ष शिवहरि तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।