| मङ्लबार, माघ ६, २०८२

स्ववियू चुनाव : गोरखा क्याम्पसका सचिव उम्मेदवार अनेरास्ववियुका बोहोरामाथि हातपात

स्ववियू चुनाव अन्तरगत गोरखा क्याम्पसमा कांग्रेस र एमालेको संयुक्त प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका नेकपा एमाले निकट अनेरास्ववियुका राजाराम बोहोरामाथि हातपात भएको छ । सोमवार राती करिव ९ बजे वाइसिएलको टोली क्याम्पस हाताभित्रै प्रवेश गरेर आफूमाथि हातपात गरेको बोहोराले बताए ।

‘मतदाता बिद्यार्थीमध्ये केहीको दोहोरो आइडी कार्ड भएको थाहा पाएपछि हामीले असन्तुष्टी जनाएका थियौ,’ उनले भने, ‘त्यही बिषयमा हामी छलफल गरेर बसिरहँदा एक्कासी वाइसिएलका २०–२५ जनाको समूह आएर म माथि हातपात गरे ।’ भीमसेन थापा गाउँपालिकाका कर्मचारी समेत रहेका कुमार सुर्खेतीले आफूमाथि हातपात गरेको उनले बताए ।

क्याम्पस प्रमुख र क्याम्पस प्रशासन एक पक्षिय ढंगले निर्वाचनको तयारीमा लागेको सत्ता पक्ष निकट बिद्यार्थी संगठन (नेविसंघ र अनेरास्ववियु) को आरोप छ । उनीहरुले मतदाताको फोटो सहितको नामावली प्रकाशन गर्न माग राखेका छन् । घटना पश्चात उनीहरुले निर्वाचन अधिकृतको कार्यकक्षमा ताला समेत लगाएका छन् । दुवै पक्षबीच केही समय झडप समेत भएको थियो । सो कुरा प्रहरीले समेत बताएको छ । अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले क्याम्पस स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

समाजवादी मोर्चाका बिद्यार्थी संगठनबाट सचिव पदमा उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका रुपेश विश्वकर्माले घटनाबारे आफूलाई जानकारी नभएको भन्दै अध्यक्षसँग बुझ्न आग्रह गरे । फोन गर्दा अध्यक्षसँग सम्पर्क हुन सकेन । घटनाबारे थप बुझ्न खोज्दा निर्वाचन अधिकृतले पनि फोन उठाएनन् । क्याम्पस प्रमुख पनि सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्