| आइतवार, कार्तिक २३, २०८२

बारपाक सुलिकोटद्वारा एसईईमा ४ जिपिए ल्याउनेलाई रु. एकलाख पुरस्कारको घोषणा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आउदो चैत ७ बाट सञ्चालन हुने एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाभित्रका विद्यार्थीलाई एकलाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
पालिकाले सोमबार सार्वजनिक सूचना जारी गरी विद्यार्थीलाई परीक्षाको तयारी गर्न मनोबल बढोस् भन्ने उद्देश्यले पुरस्कार घोषणा गरेको जनाएको छ । पालिकाले ४ जिपिए ल्याउनेलाई रु एकलाख, ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जिपिए ल्याउनेलाई २५ हजार पुरस्कार प्रदान गर्ने जनाएको छ । त्यस्तै ३.७० देखि ३.७९ जिपिए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जिपिए ल्याउनेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यसबर्षको एसईई परीक्षामा बारपाक सुलिकोट गाउँपालिकाबाट नियमिततर्फ २९८ जनाले एसईई परीक्षा दिदैछन् । ग्रेडवृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाको सूचनामा उल्लेख छ ।
शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको पालिका प्रमुख विष्णु भट्टले जानकारी दिए । उनले अभिभावकविहिन बालबालिकालाई निशुल्क रुपमा छात्रवासमा राखेर कक्षा १२ सम्म पढाउने व्यवस्था गरेको जानकारी दिए । साथे यसअघिदेखि गाउँपालिकाभित्र रहेको पोलिटेक्निक कलेजमा प्राविधिक शिक्षा पढ्ने सबै विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको पनि गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी गाउँपालिकाले दलित तथा बराम समुदायबाट स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति, एमबिबिएस पढ्नेहरुलाई छात्रवृत्ति दिने गरिएको पालिका प्रमुख भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्