
मेला महोत्सव नहुँदा दशैं बजार उत्साहजनक
कोभिड महामारी यता व्यापार व्यवसाय ओह्रालो लागेर निराश बनेका गोरखा बजारका व्यापारी, व्यवसायी दशैँ बजार गुल्जार हुन थालेपछि उत्साहित भएका छन् । दशैं, तिहारजस्ता चाडबाडका बेला भएको व्यापारले बाँकी ११ महिना जसोतसो टिक्दै आएका उनीहरु चाडबाडको मुखमा मेला महोत्सव हुँदा निराश हुने गरेका थिए । यसबर्ष भने बिगतको चाडबाडका बेला मेला महोत्सव नहुँदा उत्साहित भएका हुन् ।
घटस्थापना लागेयता बजारमा किनमेल गर्नेको भिड लाग्न थालेको गोरखा बजारका व्यापारी, व्यवसायीहरुको भनाइ छ । यतिबेला विशेषगरी कपडा तथा फेन्सी पसल, किराना तथा मसला पसलमा ग्राहकको बढि भीड लाग्ने गरेको छ । ‘दशैंमा एकजोर भने पनि नयाँ पहिरन लगाउने प्रचलन छ’, नागरिक समाजका यदु अधिकारी भन्छन्, ‘मरमसला, खाद्यान्न किन्ने पनि बढेका छन् । चाडबाडका बेला देश, विदेश गएकाहरु पनि घर फर्कने हुँदा दैनिक उपभोग्य खाद्यान्न पसलहरुमा खपत पनि बढ्ने हुनाले बजारमा भीड बढेको हो ।’ दशैंका बेला आफन्त, इष्टमित्रका लागि उपाहार किनिदिने प्रचलनले पनि कारोबार बढेको उनको भनाइ छ ।
पढाइ तथा काम विशेषले देशका विभिन्न सहरहरमा गएकाहरु चाडबाडमा घर फर्कने र यही मौकामा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने गर्नाले पनि बजारमा चहलपहल धेरै बढेको हो । चाडबाडका बेला घर मर्मतसम्भार गर्ने, सजाउने चलन भएकाले हार्डवायर, सेनिटरी, रंग, सिसा पसलहरुमा पनि ग्राहकको भीड लाग्ने गरेको छ ।
यसबर्ष बजारमा भीड लागेको देख्दा मेला महोत्सवले व्यापार, व्यवसायमा असर गरेको प्रमाणित भएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको भनाइ छ । ‘सबैले देख्न सक्नुहुन्छ, यो बर्षको दशैं बजार गुल्जार छ’, श्रेष्ठले भने, ‘यदि यो बेलामा बजारबाहिर मेला महोत्सव भएको भए ग्राहकको भीड तितरबितर हुन्थ्यो, जसले गर्दा अर्थतन्त्र बाहिरिन्थ्यो । अहिले दुईचार पैसा भने पनि जिल्लाभित्रकै व्यापारी, व्यवसायीको हातमा परेको छ ।’
तर फेन्सी तथा कपडा व्यवसायी गोरखाका अध्यक्ष सुवास मल्लले भने यो बर्षको दशैं बजारमा पनि चित्त बुझाउन सकेका छैनन् । मान्छेको चापको तुलनामा व्यापार भने खासै प्रभावकारी नभएको उनले जानकारी दिए । ‘बजारमा पसलहरुमा मान्छेको भीड त धेरै नै बढेको छ तर व्यापारमा भने त्यस्तो उतारचढाव छैन,’ उनले भने, ‘गएको वर्षहरुमा मेलाले व्यापार भएन भने पनि यो वर्ष पनि व्यापार गत वर्षहरु जस्तै छ ।’ व्यापार कम भएर फेन्सी व्यवसायीहरुले सामान सेलमा राखेको उनले बताए ।
यसअघि गोरखा बजारमा कपडा सेलमा राखिदैन थियो । यस वर्ष भने अधिकांशं फेन्सी पसलहरुमा सेलमा सामान राखिएको छ । पोके व्यापारी र दर्ता नभएका अनलाईन व्यापारका कारणले सटर भाडामा लिएर विधि र प्रक्रिया पूरा गरी व्यापार व्यसाय गर्नेहरु मारमा परिरहेको अध्यक्ष मल्लले बताए । ‘यहाँ सटर भाडामा लिएर, दर्ता गरेर र सरकारलाई राजस्व तिरेर विधिवत रुपमा व्यापार गर्नेहरु छन्, अर्कोतिर पोके व्यपारीहरु बिनादर्ता, बिना राजस्व अनलाईन सञ्चालन गरेर व्यपार गर्नेहरु पनि छन्,’ उनले भने, ‘त्यहीँ भएर पनि विधिवत रुपमा व्यापार गर्ने व्यवसायीहरु भने मारमा परेका छन् ।’
बजारमा भिडभाड बढेको स्वीकार गर्दै थोक विक्रेता मनकाजी श्रेष्ठ व्यापार भने गत वर्ष भन्दा झनै घटेको बताउँछन् । वर्षाको कारणले किनमेल गर्न नपाएकाले अहिले दशैँको मुखमा आएर बजारमा मान्छेको भिड लाग्न थालेको उनले बताए । ‘खुद्रा सामानहरु दशैं अघिदेखि नै किनमेल गरिन्थ्यो, लगातार परेको वर्षले विथलिदियो,’ उनले भने, ‘अहिले दशैँको मुखमा आएर एकैचोटी परेर चाप बढेको हो ।’
यस्तै दशैँको बेला मसला बजार पनि उत्साहजनक छ । ग्राहकको भीड त यसै बढेको छ, मसलाजन्य बस्तुमा मूल्य घटेका कारण क्रयशक्ति बढेको मसला व्यवसायी संघ गोरखाका अध्यक्ष अरविन्द गुप्ताले बताए । ‘गतवर्ष जीरा प्रतिकेजी १२ सय रुपियाँ थियो । यो वर्ष ६५० मा र धनियाँ प्रतिकेजी तीनसयमा बिक्री भइरहेको छ’, गुप्ताले भने, ‘त्यसैले पोहोर एक किलो किन्नेले अहिले दुई किलो किन्ने भएका छन् । त्यसैले बिगतको तुलनामा कारोबार राम्रै छ ।’ अझै केही दिन किनमेल गर्नेको भिड बढ्ने व्यापारीहरुले बताएका छन् ।




