
विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्दै बारपाक सुलिकोट, तीन विद्यालय बन्द हुने अवस्थामा
बारपाक सुलिकोट गाउँपालिकाले विद्यार्थी संख्या न्यून रहेका सामुदायिक विद्यालय मर्ज गर्न सुरु गरेको छ । यो बर्ष वडा नम्वर ६ बाहकोटमा रहेको मनास्लु आधारभूत विद्यालयलाई सोही वडामा रहेको सुर्यज्योती माविमा मर्ज गरिएको पालिका शिक्षा संयोजक भीमकुमार श्रेष्ठले बताए ।
‘विद्यार्थी संख्या निकै कम भएपछि मनास्लु आविलाई मर्ज गरेका हौँ,’ उनले भने, ‘त्यहाँ रहेको दुई वटा दरवन्दीका शिक्षकमध्ये एउटालाई सूर्यज्योतीमै ल्यायौँ, अर्काेलाई पालिकाले अभिभावकविहीन विद्यार्थीका लागि संचालन गरेको छात्रावासमा होस्टेल वार्डेनको रुपमा काजमा खटाएका छौँ ।’ पालिकाभित्रका अभिभावकबिहीन विद्यार्थीलाई लक्षित गरी गत बैशाखबाट पालिकाले छात्रावास संचालन गरेको हो । उक्त छात्रावासमा हाल बिभिन्न वडाका २० जना विद्यार्थी निशुल्क रुपमा आवासीय सुविधा सहित बस्छन् । उनीहरुले कुनै शुल्क तिर्नु नपर्ने बताइएको छ ।
‘मर्ज गरिएको मनास्लु आविको भवनमा छात्रावास संचालन गरेका छौँ, पालिकाभित्र जुनसुकै विद्यालयमा पढ्ने अभिभावक नभएका विद्यार्थीहरु त्यहाँ बस्न पाउँछन्,’ शिक्षा संयोजक श्रेष्ठले भने । छात्रावासमा बस्नका लागि अभिभावकविहीन भनेर वडाले गरेको सिफारिस र कुन कक्षामा अध्यापन गर्दै भन्ने सम्बन्धित विद्यालयको सिफारिस आवश्यक पर्ने उनको भनाइ छ ।
तीन वटा विद्यालय बन्द हुने अवस्थामा
विद्यार्थी संख्या कम भएकै कारण पालिकाका तीन वटा विद्यालय बन्द हुने अवस्थामा रहेको पालिका शिक्षा शाखाले जनाएको छ । वडा नम्वर ३ चिसापानीको शिम्भु आधारभूत विद्यालय, भानु आधारभूत विद्यालय र वडा नम्वर ४ को ज्वालामुखी आधारभूत विद्यालय बन्द हुने अवस्थामा रहेको शिक्षा संयोजक श्रेष्ठले बताए । ‘एउटा विद्यालयमा चार÷पाँच जना भन्दा बढी विद्यार्थी छैनन्, अब यिनीहरु पनि बिस्तारै बन्द हुने हो,’ उनले भने । उक्त विद्यालयमा पालिकाको अनुदानमा रहेको शिक्षक दरवन्दी पनि कटौती गर्न थालिएको उनले जानकारी गराए ।