| शनिबार, जेष्ठ ४, २०८२

१३ महिनामा विपदले लियो ८ जनाको ज्यान, ९ घाइते

१३ महिनाको अवधिमा विपदमा परी गोरखामा आठ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक बर्षदेखि हालसम्म भएका बिभिन्न घटनामा ८ जनाको ज्यान गएको र ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पहिरोमा ५ जना, आगलागीमा २ जना र हावाहुरीका कारण १ जनाको ज्यान गएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत साउन १३ गते धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परी एकै परिवारका तीन जना सहित कुल चार जनाको ज्यान गएको थियो ।

स्थानीय जीतबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, उनका बुवा सुलाल कान्छा गुरुङ, सिङ्लाका रमेश गुरुङ र आरुघाट गाउँपालिका–८ लामागाउँका रमेश परियारको ज्यान गएको बताइएको छ । उक्त पहिरोमा परी सिङ्लाका दिलिप गुरुङ र छमबहादुर गुरुङ घाइते भएका थिए ।

२०८० साल कात्तिक २५ गते धार्चे गाउँपालिका–१ हुल्चुकमा घर आगलागी हुदाँ कान्छी गुरुङ र उनका छोरा चन्द्रसिङ गुरुङको ज्यान गएको थियो ।

हावाहुरीका कारण एक जनाको ज्यान गएको छ । २०८१ साल जेठ १७ गते हावाहुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा शहिद लखन गाउँपालिका–४ ताक्लुङका गिरबहादुर रानाको ज्यान गएको हो । साँझ घर फर्कने क्रममा रुखको हाँगाले लागेर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिभिन्न समयमा आएको हावाहुरीका कारण ६ जना घाइते भएका थिए । घाइते हुनेमा बिरगंज घर भई शहिद लखन गाउँपालिका बस्दै आएका दिनेश पटेल, सुधिर रजक, रवी रजक, इरफोन खान, गोनपा ६ सातधुरेका डम्वरबहादुर थापा र सिरानचोक गाउँपालिका ४ अमराईका अमृता कुमाल रहेका छन् । त्यस्तै २०८० साल कात्तिक ५ गते गएको भूकम्पमा गोरखा नगरपालिका–३ नारेश्वरकी सरस्वती थापा घाइते भएकी थिइन् ।

यता १३ महिनाको अवधिमा करेन्ट लागेर जिल्लामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गोरखा नगरपालिका–९ का सुनिल मगर र शहिद लखन गाउँपालिका–७ बाह्रबिसेका रामरमण थापाको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका–६ पाटेचौरमा निर्माणाधिन घरमा आल्मुनियमको काम गर्ने क्रममा करेन्ट लागेर मगरको ज्यान गएको हो । करेन्ट लागेर भारत घर भई गोनपा ६ बस्ने अर्मन खान र अजिरकोट गाउँपालिका ४ का उत्तम गुरुङ घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्