| सोमवार, बैशाख १५, २०८२

गाउँका जुवाडेलाई ठेगान लगाउँदै आमा समूह

प्रतिक्षा आले मगर :

महिलाहरु रातदिन घरधन्दा र मेलापातको कामले लखतरान भइरहने, तर पुरुषहरु जुवातासको खालबाट कहिल्यै नउठ्ने भए भने तपाईँ के गर्नुहुन्छ ? धेरैको उत्तर हुनसक्छ ‘प्रहरीसमक्ष उजुरी गर्छौँ ।’ एकठाउँ, दुईठाउँ, एकफेर, दुईफेर भए त प्रहरीले नियन्त्रणमा लिन साध्य लाग्ला ।

तर धेरै ठाउँमा सँधै यस्तो समस्या भए प्रहरीबाट मात्र सम्भव हुदैन । त्यस्तो ठाउँमा स्थानीयबासी स्वयं पनि सक्रिय हुनुपर्छ ।
यही उदाहरण प्रस्तुत गरेका छन्, गोरखा लाप्राकका महिलाहरुले । गाउँमा जुवातास खेल्नेहरुको बिगबिगी बढेपछि लाप्राकका आमा समूहहरु एकजुट भई त्यसविरुद्ध अभियान चलाएका छन् ।

धार्चे गाउँपालिका वडा नं ४ लाप्राकको ‘श्री हिमाली आमा समूह’ गाउँमा जुवातास नियन्त्रणका लागि एकजुट भएका हुन् । ६० सदस्यीय उक्त समूहले समूह विभाजन गरी दैनिक रुपमा गाउँमा गस्ती गर्ने गरेको स्थानीय दिलबहादुर गुरुङले जानकारी दिए ।

‘दैनिक ८(९ जना महिला टोलीहरु मिलेर घरघरै घुम्ने र जुवातास खेलेका छन् कि छैनन् भनेर खोजतलास गर्ने गरेका छन्’, उनले भने, ‘महिला टोलीले जुवातास खेलिरहेको अबस्थामा खालमा भेटे भने नियन्त्रणमा लिई कारवाही गर्ने व्यवस्था समेत मिलाएका छन् ।’ आमा समूहले केही जुवाडे टोलीहरुलाई कारबाही समेत गरिसकेको उनले बताए । लाप्राकका आमा समूह हाल दैनिक रुपमा एउटै जसो पोशाक लगाएर जुवातास खेल्नेको निगरानी गर्दै हिँड्ने गरेको उनको भनाई छ ।

गाउँमा मदिरा सेवन र जुवातास अत्याधिक रुपमा बढेपछि त्यसलाई नियन्त्रणका लागि यस्तो कदम चाल्नु परेको श्री हिमाली आमा समूह लाप्राककी अध्यक्ष स्मृति गुरुङले बताइन् । ‘गाउँमा मदिरा सेवन र जुवातासको बिगबिगी नै बढ्यो, भोलिको दिनमा ठुलो दुर्घटना नघटोस् भनेर हामी आमा समूहरु जुटेका हौँ’, उनले भनिन्, ‘२०६४÷६५ तिर पनि यसरी नै गाउँ घुम्ने, जुवातास तास खेल्नेलाई कारबाही गर्ने भनेर लागेका थियौँ ।

त्यतिबेलाको समय परिस्थिति अर्कै थियो । समूहमा पनि धेरै सदस्य थिएनौँ , सबैजनाले आमा समूहको कामलाई प्रतिकार गरेका थिए । तर, अहिले समय फेरिएको छ, समूहमा ६० जना सदस्य छौँ । त्येसैले अहिले भने जुवा नियन्त्रणका लागी बलियो भएर जुटेका छौँ ।’ वडाका जनप्रतिनिधिहरु र प्रहरी सँगको सहकार्यका जुवातास नियन्त्रणको काम भईरहेको उनले बताइन् ।

लाप्राकमा यही साउनदेखि आमा समूहहरु दैनिक रुपमा घरघरमै गस्ती गर्दै हिँडेका छन् । समूहका सदस्यहरुलाई टोलीमा विभाजन गरी एउटा टोलीको हप्तामा एकपटक पालो आउने गरी गस्ती लगाइएको आमा समूहकी अध्यक्ष स्मृति गुरुङ बताउँछिन् । ‘साउन ३ गतेबाट सूचना जारी गरेर गस्ती लगाउन सुरु गरेका हौँ’, उनले भनिन्, ‘समूहका सदस्यहरुको घरयासी कामलाई असर नपार्ने हिसावले सल्लाह अनुसार टोली बिभाजन गरेर काम गरिरहेका छौँ ।

’ आमा समूहले जुवातास खेल्दै गरेको भेटेमा घरबेटी सहित जुवाडे र च्याखे थाप्नेहरुलाई जरिवाना र कारबाहीको व्यवस्था मिलाइएको उनले बताइन् ।

पुनः सोही व्यक्तिहरु जुवातास खेल्दै र खेलाउँदै गरेको भेटिए सोही अनुसार जरिवानाको दायरा बढाउँदै लैजाने अध्यक्ष गुरुङको भनाई छ । ‘कोही कोहीले आमा समूहको कामको बिरोध पनि गरेका छन्, महिलाहरु बाठी भए भएका छन् तर हामी अरुको कुरा नसुनी गाउँको बिकृति हटाउने प्रसायका छौँ’, उनले भनिन् ।

लाप्राकमा आमा समूहले गस्ती लगाउन सुरु गरेपछि जुवातास खेल्ने लहर करिब करिब बन्द नै भएको वडाअध्यक्ष किसान गुरुङले जानकारी दिए । ‘पहिला र खुल्लम्खुल्ला जुवातास खेलेको भेटिन्थ्यो जति गरेपनि नियन्त्रण हुन सकेको थिएन, अहिले गाउँकै आमा समूह जुटेर काम गर्नुभएपछि गाउँमा जुवातास करिब बन्द नै भएको छ’, उनले भने, ‘अहिले त पहिलाको जस्तो घरबाहिरै मादक पदार्थ सेवन गर्ने होहल्ला गर्ने जुवातास खेल्ने क्रम धेरै नियन्त्रणमा आएको छ ।’

समुदायको बिकृति हटाउने प्रयासलाई वडा र प्रहरी प्रशासनको साथ र समर्थन रहेको वडाअध्यक्ष गुरङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्