
२०८१ लाई गोरखा भ्रमण बर्षको रुपमा मनाइने
गोरखा नगरपालिकाले यो बर्षलाई भ्रमण बर्षको रुपमा मनाउने भएको छ ।
त्यसका लागि आवश्यक छलफल र प्रक्रिया सुरु भइसकेको नगर प्रमुख कृष्ण रानाले बताए ।
‘जिल्लाका सरोकारवाला निकायहरु सँग आवश्यक छलफल भइरहेको छ,’ उनले भने, ‘नगरभित्रका पर्यटकीय स्थलहरुको पहिचान गरी रुट तय पनि गरिसकेका छौँ । छिट्टै उद्घाटन कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ ।’ ती स्थानहरुको ऐतिहासिक महत्व र आवश्यक विवरणसहितको होर्डिङ बोर्ड राख्ने तयारी पनि भइरहेको उनले जानकारी दिए ।
धार्मिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने स्थलहरुको भिजुअल समेत तयार गर्ने योजना रहेको उनको भनाइ छ । गोरखामा पर्यटन भित्र्याउन ट्रेकिङ एजेन्सीहरुसँग पनि आवश्यक छलफल र समन्वय गर्ने उनले बताए । ‘पोखरा, काठमाडौ, चितवन, तनहूँ लगायतका ठाउँमा रहेका एजेन्सीहरुसँग पनि आवश्यक समन्वय गरेर पर्यटकलाई गोरखा ल्याउने वातावरण मिलाउने प्रयत्न गर्छाै,’ उनले भने ।
उनका अनुसार मनकामना आउने पर्यटकलाई गोरखा दरवार ल्याउने वातावरण मिलाउन आवश्यक छलफल समेत भइरहेको छ । भगिनी सम्बन्ध गाँसिएका पालिकाहरुलाई पनि पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन आग्रह गरिने बताइएको छ ।
यो बर्ष नगरपालिकाले पर्यटन सूचना केन्द्र समेत स्थापना गर्ने भएको छ । केन्द्र स्थापनाका लागि दश लाख रकम विनियोजन गरिएको मेयर रानाले बताए ।
केन्द्र स्थापना गर्ने स्थान भने आवश्यक छलफल गरेर एकीन गरिने उनको भनाइ छ ।
मनास्लु जाने पर्यटकलाई गोरखा बजार हुदैँ जाने वातावरण मिलाउन सम्बन्धित निकायमा पहल समेत भइरहेको उनले जानकारी दिए । ‘मनास्लु पदमार्ग भनेर पर्यटन मन्त्रालयबाट यो बर्ष पैसा आएको छ । यो रकम के मा खर्च गर्ने भनेर सोध्दा मनास्लु पदमार्ग कार्यालय राख्ने भन्नुभएको छ ।
सायद त्यो भनेको मनास्लु जाने पर्यटकको सूचना सम्पर्क कार्यालय हो भन्ने बुझेका छौ,’ मेयर रानाले भने । यो बर्ष नगरपालिकाले पर्यटन गुरुयोजना समेत निर्माण गर्ने भएको छ । गुरुयोजना निर्माणका लागि एउटा टिम बनाएर परिचालन गरिने बताइएको छ ।
नगरपालिकाले पथप्रदर्शक तालिम समेत दिइसकेको छ । पर्यटकलाई लक्षित गरी यो बर्ष बिशेष प्याकेजको व्यवस्था समेत गरिने बताइएको छ । भ्रमण बर्ष मनाउन भन्दै नगरपालिको यो बर्ष २० लाख रकम विनियोजन गरेको छ । आवश्यक तयारी पूरा भएपछि कार्यपालिका बैठक बसेर भ्रमण बर्षको उद्घाटनको मिति तय गरिने बताइएको छ ।