| आइतवार, बैशाख १४, २०८२

गुम्दा आलु मेलामा घले हाइब्रेस्टिङ युवा क्लव पहिलो

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित ५ दिने ऐतिहासिक आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवको संयुक्त आयोजनामा भदौ १ गतेबाट सुरु भएको मेला बुधबार सम्पन्न भएको हो ।
मेलामा आयोजित भलिबल प्रतियोगितामा धार्चे–७ लापुबेसीको घले हाइब्रेस्टिङ युवा क्लव प्रथम भएको छ । पुरुष अन्तरगत खुल्ला भलिबल प्रतियोगितामा घले हाइब्रेस्टिङ्ग युवा क्लवले प्रथम स्थान हासिल गर्न सफल भएका हो । प्रमथ हुने टिमलाई नगद ७० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको मेलाका संयोजक मिन कहादुर सुनारले जानकारी दिए ।
प्रतियोगितामा धार्चे मनासलु युवा क्लव धार्चे गाउँपालिका–५ गुम्दा दोस्रो र अजिरकोट गाउँपालिका भलिबल टिम तेस्रो भएका थिए । उनीहरुलाई व्रmमश नगद ४५ हजार र ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइएको उनले जानकारी दिए । पुरुष तर्फको भलिबल प्रतियोगितामा कुल २२ टिमको सहभागिता रहेको थियो ।
यस्तै, महिला भलिबल प्रतियोगितामा बारपाक सुलिकोट गाउँपालिकाको ओलाजुङ युवा क्लव प्रथम भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको बाह्रमुले युवा क्लव दोस्रो र आयोजक टिम गुम्दा एकता युवा क्लव तेस्रो भएको कार्यक्रम संयोजक सुनारले बताए । प्रथम, दोस्रो र तेस्रो भएका टिमलाई क्रमश नगद २०, १५ र १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको उनले जानकारी दिए । महिला तर्फको भलिबल प्रतियोगितामा कुल तीन टिमको सहभागिता रहेको थियो ।
क्लवद्धारा आयोजित लोक नृत्य प्रतियोगितामा भने गुम्दाकी सुस्मिता सुनार प्रथम भएकी छिन् । बारपाककी पुर्णीमा गुरुङ दोस्रो र घार्चे गाउँपालिका–५ यामगाउँकी सुस्मिना गुरुङ तेस्रो भएको आयोजकले जनाएको छ । उनीहरुले क्रमश नगद पुरस्कार रु ५, ३ र २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको बताइएको छ ।
यो वर्ष आलु खाने प्रतियोगिता भने स्थगित भएको छ । मेलाको प्रमुख आकर्षणको रुपमा रहेको आलुखाने प्रतियोगिता निरन्तर बर्षाका कारण स्थगित भएको मेलाका संयोजक मिनबहादुर सुनारले जनाए । ‘यो वर्ष वर्षाका कारण आलु खाने मेला भने हुन सकेन’, उनले भने, ‘आलु मेलामा आलुकै प्रतियोगिता भने सम्पन्न हुन नसक्नु दुखको कुरा हो ।’ लगातार परेको झरीका कारण समग्र मेला प्रभावित बनेको उनले बताए ।
विगतका वर्षहरुको तुलनामा यो वर्ष आलु उत्पादनमा समेत ह्रास आएको उनले बताए । ‘खडेरी र रोगका कारण यो वर्ष आलु उत्पादनमा पनि कमी आएको छ’, कार्यक्रम संयोजन सुनारले भने ।
गुम्दा एकता युवा क्लवका अध्यक्ष मनुराज गुरुङको सभापतित्व एवं थामरा युवा क्लवका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न आलु मेलामा पालिकाका निवर्तमान उपाध्यक्ष फुलमाया गुरुङ, वडा नं ५ का अध्यक्ष भिमप्रसाद गुरुङ, धार्चे गाउँपालिकाका कार्यपालिका सदस्य अनार्द गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्