
एसईई पुरक परीक्षाको सम्पूर्ण तयारी पूरा, २३ सय ६९ परीक्षार्थी सहभागी हुने
बुधबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश मैनालीका अनुसार केन्द्राध्यक्ष अभिमुखीकरण, प्रश्नपत्र र उत्तर पुस्तिकाहरु परीक्षा केन्द्रहरुमा वितरण लगायतका कामहरु भइसकेका छन् ।
‘परीक्षाको सम्पूर्ण तयारीहरु पूरा भइसकेको अवस्था छ’, उनले भने, ‘परीक्षा सभ्य र सरल ढङ्गबाट सम्पन्न गर्नका लागि विभिन्न निकायहरुसँग समन्वय गरेर काम गरिरहेका छौँ ।’ जिल्लाभर १३४ माध्यमिक विद्यालयका २३ सय ६९ जनाले पुरक परीक्षा दिने उनले जानकारी दिए ।
‘कुल २४ सय ६५ जना अनुत्तीण भएकोमा जम्मा २३ सय ६९ ले मात्र फारम भरेका छन’, उनले भने, ‘सबैभन्दा धेरै गणित विषयको पुरक परीक्षा १५ सयभन्दा बढीले दिँदै छन् ।’ गणित पछि सबैभन्दा धेरै विज्ञान विषयमा १५ सयले पुरक परीक्षा दिनुपर्ने उनले बताए ।
परीक्षा संचालनका लागि कार्यालयले जिल्लाभर ६ वटा केन्द्रहरु तोकेको छ । गोरखा नगरपालिका वडा नं–९ लक्ष्मीबजार स्थित महालक्ष्मी मावि, गोनपा–८ को सरस्वती मावि आहाले, गोनपा–६ स्थित शक्ति मावि पाटेचौर र महेन्द्र ज्योति मावि दरमार्गमा परीक्षा केन्द्र तोकिएको हो । यस्तै, पालुङटार नगरपालिकाको भवानी मावि ठाँटीपोखरी र आरुघाट गाउँपालिकाको भिमोदय माविमा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष एसईईको परीक्षाफलमा सबै विषयमा ‘नन–ग्रेडेड’भएका विद्यार्थीले पनि पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । ठूलो संङ्ख्यामा परीक्षार्थी अनुत्तीर्ण भएपछि यस वर्षका लागि मात्र हुनेगरी बोर्डले उक्त नियम लागु गरेको हो ।