
न्यायिक समितिका कर्मचारीहरुका लागि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम
जिल्लाका ११ वटै स्थानीय तहहरुको न्यायिक समितिका कर्मचारीहरुलाई लक्षित गरेर तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम संचालन भएको छ । जिल्ला अदालतको आयोजनामा संचालित कार्यक्रमको मंगलबार उद्घाटन गरिएको हो ।
सबै पालिकाका न्यायिक समिति संयोजकहरुको सहभागितामा कार्यक्रम उद्घाटन गरिएको जिल्ला अदालतका श्रेस्तेदार मदनराज भट्टराईले जानकारी दिए । ‘यस्तो कार्यक्रम जिल्लामा पहिलो पटक आयोजना गरिएको हो’, उनले भने, ‘सबै पालिकाहरुको न्याय सम्पादन प्रक्रियामा एकरुपता ल्याउने उद्देश्यसहित कार्यक्रमसंचालन भएको हो ।’
कर्मचारीहरुलाई सैद्धान्तिक र व्यवहारिक दुवै तरिकाले प्रशिक्षण गराईरहेको उनले बताए । कार्यक्रम पछि सबै पालिकाहरुको कार्यविधिमा एकरुपता आउने उपेक्षा जिल्ला अदालतको रहेको उनी बताउँछन् । ‘उहाँहरुलाई मुद्दामा प्रवेश गरेदेखि अभिलेखिकरणसम्मको प्रक्रियाका बारेमा प्रशिक्षण गरेका छौँ’, उनले भने ।