
छेवेटारमा निशुल्क दन्त शिविर संचालन
गोरखा नगरपालिका–१० छेवेटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर संचालनमा आएको छ ।
सोमबार एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिएको हो । रोटरी क्लब अफ गोरखाको आयोजना तथा डेन्टल भोलुन्टियरिङ्क टिम जर्मनीको समन्वयमा शिविर संचालन गरिएको रोटरी क्लबका क्लब एड्मिन कमल पोखरेलले जानकारी दिए ।
‘शिविर गोनपा–१० स्थित छेवेटार आधारभूत स्वास्थ्य केन्द्रमा ४ दिन र सहिदलखन गाउँपालिका–८ स्थित आरसिसि भिलेजमा ३ दिन गरी ७ दिनसम्म चल्छ’, उनले भने, ‘१२ वर्ष मुनिका बालबालिका तथा ५० नाघेकाहरुलाई लक्षित गरेर शिविर संचालन गरेका हौँ ।’ शिविरमा दाँतको सामान्य चेकजाँच, दाँत निकाल्ने, दाँत भर्ने तथा निशुल्क औषधीको समेत वयवस्था रहेको उनले बताए । शिविरको पहिलो दिन सोमबार ४० जना विद्यार्थीहरुले सेवा लिएको उनको भनाइ छ ।
रोटरी क्लब अफ गोरखाका सर्भिस प्रोजेक्ट चियर आनन्द गुरुङको अध्यक्षता तथा गोनपा–१० का वडा अध्यक्ष प्रदीप कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा क्लबका अध्यक्ष बिनोद बस्नेत, छेवेटार आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज विकास थापा, क्लबका एड्मिन कमल पोखरेल लगायतले मन्तव्य राखेका थिए ।