| शनिबार, जेष्ठ ४, २०८२

भेटेरिनरीको प्राथमिकतामा बाख्रापालन : १ करोड १६ लाख बजेट विनियोजन

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले यो बर्ष बाख्रापालन लक्षित कार्यक्रम ल्याएको छ । कार्यक्रमका लागि चालु आर्थिक बर्ष १ करोड १६ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ । हावापानीका हिसाबले जिल्लामा बाख्रापालनको राम्रो सम्भावना भएकाले कार्यक्रम प्राथमिकतामा परेको कार्यालय प्रमुख शर्मिला कुमालले बताइन् ।

‘यो वर्ष अरुभन्दा बाख्रापालन लक्षित कार्यक्रम प्राथमिकतामा परेको छ,’ उनले भनिन्, ‘बाख्रा पालन कार्यक्रम अन्तरगत तीन शीर्षकमा बजेट विनियोजन भएको छ ।’ उनका अनुसार बाख्रा स्रोत केन्द्र स्थापनाका लागी ८० लाख रुपैँया बजेट परेको छ । जसमध्ये मध्यपहाडी लोकमार्गले छोएका पालिकाहरु (पालुङटार नगरपालिका, सिरानचोक, भिमसेन, बारपाक सुलिकोट र आरुघाट) मा केन्द्र स्थापनाका लागी ५० लाख र अन्य पािलकाका लागी ३० लाख आएको उनले जानकारी दिइन् ।

मध्यपहाडी लोकमार्ग (कोरिडोर) लक्षित भएर कार्यक्रम आएको बताउँदै उनले थपिन्, ‘कोरिडोर क्षेत्र अन्तरगत पायक पर्ने एक दुई स्थानमा बाख्रा स्रोत केन्द्र स्थापना हुन्छ, अन्य पािलकाहरुको हकमा भने पायक पर्ने स्थानमा केन्द्र स्थापना गरिन्छ ।’ बाख्रा स्रोत केन्द्रमा किसानहरुको आवश्यकता अनुसार उन्नत जातका बाख्राहरु उत्पादन गरिने उनको भनाइ छ ।

यसैगरी, घाँस स्रोत केन्द्र तथा नसर्री स्थापनाका लागी २६ लाख रकम आएको कार्यालयले जनाएको छ । यो कार्यक्रम पनि कोरिडोर क्षेत्रमै संचालन हुने बताइएको छ । खसी–बोकाको मासुमा प्रति केजीका दरले अनुदान दिने कार्यक्रम अन्तरगत पनि १० लाख रुपैँया आएको कार्यालय प्रमुख कुमालले बताइन् । ‘सबै अनुदानहरु कृषि सहकारी मार्फत नै वितरण गर्ने प्रावधान छ, कुनै पनि सहकारीमा आबद्ध नभएका नीजि फर्महरुले भने अनुदान पाउँदैनन्’, उनले भनिन् ।

कुकुर तथा घोडा/खच्चड बन्ध्याकरणका लागी पनि यो बर्ष बजेट बिनियोजन भएको छ । कुकुर बन्ध्याकरणका लागी ४ लाख बिनियोजन भएको छ भने उत्तरी गोरखामा घोडा तथा खच्चड बन्ध्याकरणका लागी २ लाख बजेट आएको कार्यालयले जनाएको छ । चालु आव २०८१/८२ मा कार्यालयको कुल बजेट ६ करोड ४२ लाख रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्