| शनिबार, जेष्ठ ४, २०८२

धार्मिक सहिष्णुताको नमूना : क्रिश्चियन, हिन्दू र वौद्धमार्गी मिलेर बनाए ‘माने’

चुमनुब्री ३ जगतका क्रिश्चियन, हिन्दू र वौद्ध धर्मावलम्बीहरु मिलेर ‘माने’ निर्माण गरी धार्मिक सहिष्णुताको नमूना प्रदर्शन गरेका छन् । सतप्रतिशतजसो क्रिश्चियनको बसोबास रहेको जगतमा विभिन्न धार्मिक समुदाय मिलेर वौद्ध धर्मावलम्बीहरुको धार्मिक सांस्कृतिक सम्पदा माने निर्माण गरेका हुन् ।

जगत, भालुवन र सल्लेरीका बासिन्दाले करिब २० दिन श्रमदान गरी माने निर्माण गरेको वडाअध्यक्ष रामकुमार गुरुङले जानकारी दिए । जगत बजारको बीच बाटोमा रहेको माने भूकम्पले जीर्ण भएको थियो । साथै सडक निर्माण गर्दा थप क्षति नहोस् भन्ने उद्देश्यले नजिकै स्थानान्तरण गरी निर्माण गरिएको हो ।

करिब २५ घरधुरी रहेको जगतका चारपाँच परिबार हिन्दू धर्मावलम्बी छन् भने अरु सबै क्रिश्चियन धर्मावलम्बीहरु हुन् । वौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएकाले सबै धर्मावलम्बी मिलेर माने निर्माण गरेको निर्माणमा संयोजन गरिरहेका गुणबहादुर कार्कीले जानकारी दिए । निर्माणमा समन्वय गर्ने कार्की स्वयं पनि क्रिश्चियन धर्मावलम्बी हुन् ।

‘यो माने वौद्ध धर्मावलम्बीको आस्थाको धरोहर हो । सामाजिक सम्पत्ति पनि भएकाले यसको र उसको भन्नुभन्दा यसको संरक्षण गर्ने दायित्व सबैको हो’, कार्कीले भने, ‘त्यसैले सबै मिलेर निर्माण गरेका हौँ । यो बनाउन करिब दुईहजार जनाको श्रमदान परेको छ । आर्थिक सहायता कतैबाट पनि आएको छैन । वडा कार्यालय अथवा पालिकाले धेरथोर भने पनि सहायता गर्छ कि भन्ने आशा छ ।’

जगत बजारको बीचबाट सडक निर्माण गर्दा चार घरपरिबारको घर पूर्ण रुपमा भत्किएको छ भने तीनजनाको घरमा आंशिक क्षति भएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । ‘सडक बनाउने क्रममा गोपाल गुरुङ, वीरबल कार्की, लक्ष्मण घले र बलबहादुर कार्कीको पूरै घर भत्किएको छ । बलबहादुर गुरुङ, सीता गुरुङ र धनसिँह गुरुङको घरको पिँडीसम्म भत्किएको छ’, उनले भने, ‘आंक्षिक क्षेति भएकाहरु टालटुल गरेर उही घरमा बसेका छन् भने घर पूरै भत्किएकाहरु बिस्थापित भएका छन् ।’

बेनिघाट, आरुघाट, लार्के सडक निर्माण गर्दा जगत गाउँको बीचबाट करिब चार मिटर चौडा करिब एकसय मिटर लामो सडक निर्माण भएको छ । सडक निर्माण गर्दा वौद्धमार्गीहरुको धार्मिक तथा सांस्कृतिक सम्पदामा क्षति नहोओस् भनेर पुरानो मानेको नजिकै नयाँ माने निर्माण गरिएको हो । सो मानेको गत शुक्रबार पाङ्सिङ, न्याक र फिलिमका प्रमुख लामाहरुले प्राण प्रतिष्ठा गर्ने काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्