
कवि पोखरेलको ‘नियति’ विमोचन
कवि नारायणप्रसाद पोखरेलद्वारा लिखित ‘नियति’ नामक स्मृति काव्य सार्वजनिक भएको छ । शनिवार जिल्ला सदरमुकाममा एक कार्यक्रमका बीच उक्त काव्यको बिमोचन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले बिमोचन गरेको उक्त काव्यमा २०७२ सालको भूकम्पले कृष्णप्रसाद र उनका श्रीमती अम्विका पोखरेलमाथि पारेको बज्रपातको कथावस्तुलाई समेटिएको छ ।
शहिदलखन गाउँपालिकाको बक्राङ घर भई हाल जिल्ला सदरमुकामको अस्पतालमार्ग बस्दै आएका पोखरेल दम्पत्तिले २०७२ सालमा आफ्नो दुई छोरी, एक छोरा र ज्वाँईलाई गुमाउनु परेको थियो । आफ्ना दाजु कृष्णप्रसादमाथि परेको विपत्तिको स्मरण गर्दै कवि पोखरेलले स्मृति काव्य लेखेका हुन् । गोरखाको मनकामना बनौती घर भएका कवि पोखरेलको उक्त काव्यमा उपजाती, सालिनी, बसन्ततिलका, शार्दुलबिक्रीडित, स्रग्विणी लगायतका छन्दमा लेखिएका बाह्र अध्याय समावेश छन् ।
सो पुस्तकबारे सुरेन्द्र देवकोटा र कल्पना तिमिल्सिनाले टिप्पणी गरेका थिए । साथै प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पोखरेल दम्पत्तिका आफन्त निर्मल ज्ञवाली, जेष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, साहित्य संगम गोरखाका अध्यक्ष शिव उप्रेती, निर्वाचन कार्यालय प्रमुख टेकबहादुर कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए । पोखरेल दम्पत्तिको आयोजनामा कार्यक्रम भएको हो । वडा नम्वर ६ का पुर्व अध्यक्ष नारायण अर्यालको अध्यक्षता भएको कार्यक्रममा कवि पोखरेलले काव्यको केही अंश वाचन गरेर सुनाएका थिए ।