| शनिबार, जेष्ठ ४, २०८२

विद्यार्थी तार्न विद्यालयले बनायो दुईवटा काठेपुल

पालुङ्टार नगरपालिका ९ सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थी आवतजावत गर्न सहज गराउने उद्देश्यले खोलामा काठेपुल निर्माण गरेको छ ।

स्थानीय चुक्ती खोला र खहरे खोलामा काठेपुल बनाएर विद्यार्थीलाई आवतजावत गर्न सहज बनाएको प्रधानाध्यापक गणेश सेढाईँले जानकारी दिए ।

‘चुक्ती खोलामा बाढी आएपछि कुवापानी, पिप्लेबगैँचा, अम्बोटे रिपथोक, डाँडास्वाँरा, भोर्ले, माथिल्लो सेरा लगायतका धेरै टोलका विद्यार्थी र स्थानीयबासिन्दा पनि खोला तर्न नसकेर पारिको पारि नै हुने अबस्था छ’, प्रअ सेढाईँले भने, ‘त्यस्तै खहरे खोलाको बाढी तर्न नसकेर जोगीबेशी, लामाटारी, काभ्रेटारका बालबालिकाहरु विद्यालय आउन नपाउने अबस्था छ ।

त्यसैले विद्यालयले नगरपालिका कार्यालय र स्थानीयबासीको साथ र सहयोग लिएर दुवै ठाउँमा काठेपुल बनाएको छ ।’ काठेपुल बनाएपछि सबै टोलका गरी २५० भन्दा धेरै बालबालिकालाई खुरुखुरु विद्यालय आउन सहज भएको उनले बताए ।

काठेपुल निर्माण गर्न विद्यालयले ८७ हजार पाँचसय रुपैयाँ खर्च गरेको छ भने पालुङ्टार नगरपालिकाले पनि ६७ हजार रुपैयाँ र केही थान तारजाली प्रदान गरेको विद्यालयले जनाएको छ । साथै स्थानीयबासीले श्रमदान पनि गरेका प्रधानाध्यापक सेढाईँले जानकारी दिए ।

चुक्तीखोलामा काठेपुल बनेपछि सो भेगका स्थानीयबासीलाई दैनिक उपभोग्य सामान किन्नका लागि सेरा बजार आउन जान पनि सजिलो भएको छ । खहरेखोलामा काठेपुल बनेपछि वडा नं. ९ का बासिन्दालाई नगरपालिका कार्यालय जान सहज भएको छ ।

सो खोलामा पक्की पुल नहुँदा बर्खाका बेला यातायातका साधन वारपार गर्न सक्दैनथे भने स्थानीयबासी पनि आवतजावत गर्न नसक्ने अबस्था थियो । बहुसंख्यक स्थानीयवासी आवतजावत बनाउन सो ठाउँमा पक्की पुल बनाउन स्थानीयले माग गर्दै आएपनि अहिले सम्म प्रक्रिया सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्