
बुंकोट स्वास्थ्यचौकी पुनर्निर्माणका लागि ४० लाख विनियोजन
आगलागीबाट क्षति भएको शहिद लखन गाउँपालिका–७ बुंकोट स्वास्थ्यचौकी भवन पुनर्निर्माणका लागि ४० लाख रकम बिनियोजन भएको छ । गण्डकी प्रदेश सरकारको विपद व्यवस्थापन कोषबाट उक्त रकम बिनियोजन भएको हो । शुक्रवार बसेको कार्यकारी समितिको बैठकले रकम विनियोजन गर्ने निर्णय गरेको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव तिर्थराज भट्टराईले बताए ।
‘त्यो रकम हामीले सम्बन्धित पालिकाको स्थानीय विपद व्यवस्थापन कोषमा पठाउँछौ,’ उनले भने, ‘पालिकाले भवन पुनर्निर्माणको प्रक्रिया अघि बढाउछ ।’ रकम प्राप्त भएपछि लागत स्टमेट गरेर ठेक्का आव्हान गर्ने गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘रकम हाम्रो कोषमा आइसकेको छैन, आएपछि भवन निर्माण प्रक्रिया अघि बढाइहाल्छौँ,’ उनले भने ।
गत जेठ ७ गते बिद्युत सर्ट भएर स्वास्थ्यचौकी भवन आगलागी भएको थियो ।
आगलागीबाट चौकीको माथिल्लो तल्लाको स्टोर, हल र प्रशासन शाखामा भएको सबै सामग्री जलेर नष्ट भएको थियो । भवनमा क्षति पुगेसँगै स्टाफको क्वाटर व्यवस्थापन र औषधी लगायतका सामग्री भण्डारणमा समस्या भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । ‘आगलागी भएको माथिल्लो तला स्टाफको क्वाटर, प्रशासन र स्टोर रुम थियो,’ उनले भने, ‘अहिले वडा कार्यालय रहेको भवनमा स्टाफ बस्ने गर्नुभएको छ । कार्यालय समय वाहेक अन्य समयमा बिरामी स्वास्थ्यचौकी आउनुपर्दा स्टाफलाई बेलाउन जान पनि समस्या फेरि स्टाफलाई तल चौकीसम्म आउन पनि समस्या हुने गरेको छ ।’
हालको भवनमा पानी लिकेज हुने गरेको र बिद्युतको पनि समस्या भएको उनले जानकारी दिए । स्टोर रुमको अभावमा औषधी लगायतका आवश्यक सामग्री भ¥याङमुनि भण्डारण गरेर राख्नुपर्ने बाध्यता रहेको उनले बताए । नयाँ भवन बनेपछि सहज हुने उनले अपेक्षा गरेका छन् ।