| शुक्रबार, अशोज ३, २०७६

गोरखामा गुड नेवर्स इन्टरनेशनलले बनायो भूकम्पले भत्किएका सात विद्यालय !

दरौँदी ः २०७२ बैशाख १२ को भूकम्पले गोेरखा जिल्लाका चारसय ४३ वटा विद्यालय पुननिर्माण गर्नुपर्ने गरी ध्वस्त पा¥यो । अझै ८५ विद्यालयको पुननिर्माणको लागि स्रोत जुट्न सकेको छैन । दुई सय ३१ विद्यालय अहिले पूर्ण रुपमा निर्माण भइसकेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले जानकारी दिए ।
‘हामी विद्यालयहरु असार मसान्त भित्र सबै सिध्याउने रणनिति बनाएर अघि बढेका थियौँ, त्यो पुरा नहुने देखियो’ सुबेदीले भने ‘ सरकारी कार्यक्रमहरु हामीले माग गरे अनुसारका आएनन् । समस्या भयो । यति हुँदा हुँदै पनि जाईका, गुड नेवर्स जस्ता सँस्थाले विद्यालयको लागि ठुलो सहयोग गरेका छन् ।’ गुड नेवर्सले निर्माण गरिरहेको सात वटा विद्यालयको पुननिर्माण अन्तिम चरणमा पुगेको बताइएको छ ।
गुड नेवर्सले गोरखा नगरपालिकाको ४ को सरस्वती माविमा १२ कोठे भवन, ढुङ्कागाडे आधारभूत विद्यालयमा १० कोठे, आरुघाटको स्थानीका आधारभूत विद्यालयमा १० कोठे, आरुघाटकै गणेश माविमा १२ कोठे, आरुघाटकै इन्द्रकन्या आधारभूतमा विद्यालयमा ८ कोठे, आरुघाटकै मान्बुको गणेश आधारभूत विद्यालयमा ८ कोठे भवनको निर्माण अन्तिम चरणमा पुगेको हो । निर्माणको जिम्मा पाएको एनबी कँस्ट्रक्सनले छाडेर भागेपछि धार्चे गाउँपालिकाको कालरात्री माविको १२ कोठे भवन निर्माण गर्न भने ढिलो भएको छ । केही दिन अघि मात्रै विद्यालय ब्यवस्थापन समितिले आफैँ निर्माण गर्नेगरी सम्झौता भएको गुडनेवर्स इन्टरनेशनलका द्रोण जिसीले जानकारी दिए ।
गुडनेवर्सले पद्धति विकास सेवा केन्द्र मार्फत सबै विद्यालयहरु निर्माण गरेको हो ।
निर्माण भइरहेका विद्यालयमा गुड नेवर्सले फर्निचर, कम्प्यूटर ल्याब र विज्ञान प्रयोगशाला निर्माणमा पनि सहयोग गर्ने जिसीले बताए ।
निर्माण भएका विद्यालयको भूईँ तला अपांग मैत्री समेत रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्