| शनिबार, कार्तिक २, २०७६

गोरखाका जोनले रकेट बनाए

किरण लोहनी ः गोरखाको श्रीनाथकोट घर भएका एक स्कुले विद्यार्थीले रकेट लगायत वैज्ञानिक उपकरणहरु बनाएका छन् ।

गोरखा नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय कुन्दुरमा १० कक्षामा पढ्ने १८ वर्षका जोन तामाङले वजारमा उपलब्ध हुने विभिन्न सामग्री प्रयोग गरेर मिनि रकेट, पेस्तोल लगायतका सामग्री निर्माण गरेका हुन् ।

४/५ वर्षदेखि खेर गएका सामग्री बटुलेर घरासयी प्रयोगमा आउन सक्ने खालका उपकरण बनाउने अभ्यास गरेका उनले झण्डै आधा दर्जन सामग्री बनाइसकेका छन् ।

आफुले निर्माण गरेका केही सामग्री शनिवार उनले अभिभावक, छरछिमेक तथा सञ्चारकर्मीहरुमाझ प्रदर्शन गरेका छन् । वजारमा पाइने जिआई पाइप लगायतका सामग्री प्रयोग गरेर उनले मिनि रकेट बनाएका हुन् ।

‘सानैदेखि रुचि थियो, इन्टरनेटमा पढेर यस्ता सामग्री बनाउने शीप सिक्दैछु’ जोनले भने, ‘होमवर्क सकेर बचेको बिहान बेलुकाको समयमा सिक्ने र बनाउने काम गर्दै आएको छु ।’ हालसम्म उनले रिमोटबाट चलाउन सकिने मिनि कार, प्यारामोटर, रकेट, मिनि मेशिनगन र पेस्तोल बनाएका छन् । खेर गएका सामग्री प्रयोग गरेर मिनि प्लेन बनाउने लक्ष्य रहेको उनले बताए ।

यसअघि डुंगा लगायत सामग्री बनाएर सफल परिक्षण गरेको तामाङले बताए । सानैदेखि यन्त्र उपकरणबारे रुचि भएका उनले पछिल्लो समय भने हतियारजन्य सामग्री निर्माणमा चासो देखाएको छिमेकीहरुको भनाई छ ।

ति सामग्री निर्माणमा करीव ५० हजार रुपैया खर्च भएको तामाङले बताए । आफुले निर्माण गरेका सामग्रीको उनले आँबुखैरेनी साँस्कृतिक मेलामा केही समय अघि प्रदर्शन गरेका थिए । तामाङको मेकानिकल इन्जिनियर बन्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्