
अजिरकोटको शोध गर्नेलाई फेलोसिप दिने कार्यक्रम उत्कृष्ट
गोरखाका विभिन्न पालिकाहरुले एकपछि अर्को उत्कृष्ट नमूनायोग्य कार्यक्रमहरु गर्न थालेका छन् । पछिल्लो चरणमा अजिरकोट गाउँपालिकाले घोषणा गरेको फेलोसिपको कार्यक्रम अरु पालिकाहरुले पनि देखासिकी गर्न लायक कार्यक्रम छ ।
अजिरकोट गाउँपालिकाले यदि पालिकाभित्रका महिला विद्यार्थीहरुले पालिकाभित्रका कुनै पनि विषयमा शोधकार्य (थेसिस) गरेभने फेलोसिप प्रदान गर्ने कार्यक्रम घोषणा गरेको छ ।
अजिरकोट गाउँपालिका जिल्लाको क्षेत्र नं. २ को सबैभन्दा सिरानमा रहेको पालिका हो । यसभन्दा माथि हिमाल पर्दछ । यहाँ दुर्गम, बिकट भूभागहरु पनि छन् । त्यसैले यदि कुने महिला शोधार्थीले यस पालिकामा विद्यमान समस्याका बारेमा शोधग्रन्थ तयार गरेमा ४० हजार रुपैयाँ अनुदान दिने जनाइएको छ ।
पालिका स्थायी ठेगाना भएका र विभिन्न विश्वविद्यालय तथा अन्तरगतका कलेजहरुमा स्नातकोत्तर तथा विद्यावारिधि अध्ययनरत महिला विद्यार्थीहरु उक्त कार्यक्रममा समावेश हुन पाउने व्यवस्था छ । यसका लागि केही सीमाहरु छन् । पहिलो सीमा त महिला विद्यार्थी हुनुपर्दछ । दोस्रो सीमा भनेको पालिकाभित्र विद्यमान समस्याहरु उधिन्नु पर्दछ ।
पालिकाभित्र लुकेर रहेका सामान्यदेखि जटिल समस्याको यथार्थ चित्र जानकारी होओस् र ती समस्या समाधानका उपाय खोजीका लागि सहयोग पुग्ने आशा पनि पालिकाको छ । यस्ता कार्यक्रमले महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न एवं शोध अनुसन्धान गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्य पनि पालिकाको छ ।
अनुदानका लागि आवेदन दिनका लागि शोधार्थीहरुले शोधकार्यको प्रस्तावना, अध्ययनरत् कलेजको सिफारिस, नागरिकताको प्रतिलिपि र निवेदनसहित चैत पहिलो हप्ताभित्र पालिकामा सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता खालका रचनात्मक, सिर्जनात्मक कार्यक्रम पालिकाहरुले घोषणा गर्नुपर्दछ । सकिन्छ, आफ्नै वौद्धिकताले, सकिँदैन भने पनि विभिन्न अन्य पालिकाको देखासिकी गरेर पनि सकारात्मक कार्यक्रमहरु घोषणा गर्नुपर्दछ ।




