
स्थानीय उत्पादनको प्रोत्साहनसँगै बजार व्यवस्थापनमा पनि सहयोग गर
चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा जिल्लाका अधिकांश पालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने बताएका छन् । सोही अन्तरगतका कार्यक्रमहरु पनि उनीहरुले ल्याएका छन् । पालिकाहरुले ल्याएको यो नीति स्वागतयोग्य छ । स्थानीय उत्पादानलाई प्रोत्साहन गर्दै गर्दा उत्पादित उपजको बजार व्यवस्थापनमा पनि सघाउ पु¥याए सुनमा सुगन्ध हुने थियो ।
कृषि क्षेत्र होस् वा अन्य, अहिलेको प्रमुख समस्या भनेकै बजार व्यवस्थापन हो । उत्पादित उपज तथा सामग्रीले बजार नपाएर बिजोग छ । मेहनतको प्रतिफल पाउन सक्ने अवस्था छैन । यसले लगानीकर्तामा निराशाजनक परिस्थिती सृजना गरिदिएको छ । लगानीकर्ताको मनोवललाई उच्च राख्न अंकुश लगाएको छ ।
हरेक स्थानीय तहमा केही न केही स्थानीय उत्पादनहरु छन् नै । जसलाई व्यवसायिक रुपमा पनि प्रयोग गर्न मिल्छ । दुना/टपरी, दारको ठेकी/मदानी, गुन्द्री/चकटी, डोको, थुन्से लगायतका स्थानीय उत्पादन त यसै भइहाले । तर यस्ता स्थानीय उत्पादनहरुले बजार पाएका छैनन् । त्यसमाथि पनि परम्परागत सामग्रीका उत्पादन । स्थानीय उत्पादानको बजार व्यवस्थापनका लागि केही स्थानीय तहले संचालन गरेका हाट बजारहरु पनि अहिले अलपत्र छन् ।
उचित व्यवस्थापनको अभावले समस्या निम्त्याएको छ । स्थानीय उत्पादनको बजार व्यवस्थापनमा सम्बन्धित निकायले खासै चासो नदिनु अर्काे समस्या हो । यस्ता मौलिकता झल्कने वस्तुहरुको संरक्षणसँगै प्रवद्र्धन गर्ने दायित्व स्थानीय तहको पनि हो । मौलिकता जोगाउँदै आफ्नो सिप र श्रम बेच्नेहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ । उनीहरुको श्रमको सम्मान गर्दै उत्पादित सामग्रीहरुको बजार व्यवस्थापन गर्न सके रोजगारका लागी बिदेशीने क्रमलाई केही हदसम्म रोक्न सकिने थियो की !