| शनिबार, बैशाख ८, २०८१

अब नयाँ सडक भन्दा स्तरोन्नतिमा जोड दिऔं

नेपालमा प्रजातन्त्र आगमनसंगै विकास निर्माणको कामले फड्को मारेको हो । त्यसपछि नै गाउँगाउँ टोलटोलमा विद्यालय खुलेका हुन् । बीचमा माओवादी द्वन्द्व सुरु भयो । १० बर्षे द्वन्द्व कालमा विकास निर्माणको काम अवरोध भयो । भएका विकास निर्माणको काम पनि कतिपय ठाउँमा ध्वस्त पार्ने काम भयो ।

शान्ति प्रक्रिया सुरु भएको १० बर्ष बितिसकेको छ । अहिले विकास निर्माणको काम धमाधम भइरहेको छ । यो नेपाल जस्तो विकासोन्मुख देशका लागि खुशीको कुरा हो । तर सँधै नयाँ टूयाक मात्र खोलिरहने गर्नाले खनिएका सडक स्तरोन्नती हुने काम ओझेलमा परिरहेका छन् । सडक बनेको दसौं, पन्द्रौं बर्षसम्म पनि सडक कच्ची नै छन् ।

बिहिबार जिल्ला समन्वय समिति गोरखाको समीक्षा कार्यक्रमका बोल्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि स्थानीय सरकारहरुलाई जथाभावी सडक खन्नमा नभै स्तरीकरणमा जोड दिन आग्रह गरेका छन् । सँधै कच्ची सडकमा यात्रा गर्नुपर्ने नेपालीको बिडम्बना छ । अब स्थानीय सरकार आइसकेपछि आफ्नो क्षेत्रभित्रको सडकलाई कालोपत्रे गर्नुपर्ने दायित्व उनीहरुको हातमा छ । तर उनीहरु पनि भोटरको घरदैलोमा मोटरबाटो खन्नमै बजेट खर्च गरिरहेका छन् ।

अब नीति परिवर्तन गर्नु जरुरी छ । भलै केही मतदाता नाराज होलान्, तर आफ्नो कार्यकालमा यो मैले पिच गरेको बाटो हो भनेर नाम राख्नका लागि जनप्रतिनिधिहरुले नयाँ टूयाक खन्ने भन्दा पनि बनेका सडकलाई स्तरीकरण गर्नुमा जोड दिनुपर्छ । विकास यसैमा देखिन्छ । यो निर्णय परिपक्क पनि हो ।

प्रतिक्रिया दिनुहोस्