| शुक्रबार, अशोज ३, २०७६

पर्यटन विकास गर्न संयुक्त पहलको खाँचो

आउँदो भदौको २५ गते लिगलिगकोटबाट गोरखा दरबारसम्म म्याराथुन दौड हुने भएको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेना(रणसिँह दल गण)ले दौडको आयोजना गरेको हो । करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सो दौडबाट जिल्लाकै पर्यटन विकास हुने लक्ष्य राखिएको छ । नेपाल भ्रमणबर्ष २०२० को पूर्वसन्ध्यामा म्याराथुन दौड आयोजना गर्न लागिएको हो । करिब २० करोड पर्यटक ल्याउने लक्ष्य प्रक्षेपण गरिएको सो अवसरमा गोरखामा पनि कम्तिमा २५ प्रतिशत पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
साथै यी स्थानीय तह तथा नेपाली सेनाले द्रव्य शाह र पृथ्वीनारायण शाहले सञ्चालन गरेको राज्य एकीकरण अभियानमा प्रयोग भएको बाटोमा पर्यटक हिडाएर एकीकरण पदमार्गको विकास गर्ने जनाएका छन् । यतिले मात्र पुग्दैन । यस्ता सिर्जनशील, रचनात्मक कार्यक्रम अरु पनि गर्नुपर्छ । पर्यटन बर्षमा भित्र्याएका पर्यटकले राम्रो सन्देश लगे भने अरु पर्यटक थपिने निश्चित छ । त्यतिले मात्र पनि पुग्दैन । पर्यटन विकासका लागि पूर्वाधार पनि बनाउनु पर्छ । यतिले पनि पुग्दैन । प्रचार प्रसारमा जोड दिनुपर्छ । वृत्तचित्र बनाउने, युटुव, फेसबुक, वेभसाइटमार्फत सूचना, विज्ञापन गर्नुपर्छ, प्रचार गर्नुपर्छ ।
एउटा स्थानीय तहले चाहेर मात्र पर्यटन विकास हुदैन । पर्यटन विकास गर्न बिभिन्न स्थानीय तहले संयुक्त रुपमा कार्यक्रम गर्नुपर्छ । पालुंटार, गोरखा नपा, सिरानचोक गापाले झै अन्य सीमा जोडिएका स्थानीय सरकारले संयुक्त पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्