| शनिबार, भदौ ७, २०७६

जाँड खाएर जेल पुगेका वडाध्यक्ष एकै रातमा छुटे

दिउँसै मदिरा सेवन गरी सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोप लागेका चम्पादेवी गाउँपालिकाका एक वडाअध्यक्ष पक्राउ परेको एक रातमै छुटेका छन् ।

मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौज गरेको आरोपमा शुक्रबार पक्राउ परेका वडा ४ का अध्यक्ष कृष्णबहादुर खत्री शनिबार छुटेका हुन् । स्थानीयले उजुरी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

शनिबार बेलुकी स्थानीय तथा जनप्रतिनिधिसँग छलफल गरी खत्रीलाई छाडेको कोषभञ्ज्याङ प्रहरी चैकीका प्रहरी हवल्दार वीरबहादुर भण्डारीले बताए । अबदेखि मदिरा सेवन गरी कार्यालय नजाने शर्तमा उनलाई प्रहरीले छाडेको हो । स्थानीय बासिन्दा भने खत्रीलाई कारबाही नगरी छाडेको भन्दै आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्