| शनिबार, मंसिर २१, २०७६

पढाइ छाडेर मजदुरी : १० कक्षासम्म कोही पुग्दैनन्

प्युठान नगरपालिका–३, विजयनगर डाँडागाउँ कुमालबस्तीका मिठुलाल कुमाल दुई छोरालाई माथिल्लो कक्षासम्म पढाउन चाहन्थे। गाउँमा अगुवाका रूपमा चिनिएका उनले दुई वर्ष अन्तरका जीवन र प्रकाशलाई दाखाक्वाडीको पब्लिक आवासीय बोर्डिङ स्कुलमा भर्ना गराए। तर, छोराहरूले उनको सपना साकार पार्न सकेनन्।

दुवैले पढ्दापढ्दै विद्यालय छाडे र मजदुरी गर्न थाले। जीवन २१ र प्रकाश १९ वर्षका भइसके। दाजुभाइ नै ‘ड्राइभर’ भइसकेका छन्। उनीहरूले पहिला ट्र्याक्टरमा सहयोगीका रूपमा काम गरे। अहिले जीवन प्युठान–काठमाडौं हायस र प्रकाश बिजुवारमा भ्यान चलाउँछन्। ‘छोराहरूलाई राम्रोसँग पढाउने धोको थियो’, मिठुलालले भने, ‘तर चाहना पूरा हुन दिएनन्। दुःख लागेको छ।’

उनी मात्र होइन, गाउँभरिका बालबालिका नै यातायात मजदुरीमा लागेका छन्। गाउँमा १० कक्षासम्म पढेका विद्यार्थी भेट्टाउनै मुस्किल पर्छ। केही वर्षअघि दुई/चार युवाले १० कक्षासम्म पढे पनि हिजोआज बालबालिका बीचमै पढाइ छाडेर यातायात मजदुरीमा लाग्ने गरेका छन्। ट्र्याक्टर, जिप र ट्रकमा मजदुरी गर्नेहरूको गाउँभरि बाक्लो संख्या छ। प्रायः घरमा यातायात मजदुरीमा नलागेका बालबालिका भेट्टाउनै मुस्किल हुने गरेको छ। वडा ३ को बाँझबारीदेखि बतासेडाँडासम्म झन्डै एक सय ५० घरधुरी कुमाल बस्तीकै छ। गाउँका करिब ४५ बढी बालबालिका तथा युवा यातायात मजदुरीमा लागेको स्थानीयको भनाइ छ।

 केही वर्षअघि दुई/चार युवाले १० कक्षासम्म पढे पनि हिजोआज बालबालिका बीचमै पढाइ छाडेर यातायात मजदुरीमा लाग्ने गरेका छन्।

चार कक्षामा पढ्दापढ्दै छाडेका राजु कुमाल हिजोआज जिपमा सहचालक छन्। १४ वर्षका उनले सुरुमा ट्र्याक्टरमा काम गरेका हुन्। ‘दाइ जिपको ड्राइभर हुनुहुन्छ’, उनले भने, ‘दाइ लागेको देखेर म पनि गएँ।’ यातायातमा लागेका धेरैजसोले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकालिसकेका छन्। झिमरुक नदी किनारमा माछा मार्न र ढुंगा, गिट्टी, बालुवा निकाल्न जाँदाजाँदै धेरैजसो बालाबालिका यातायात मजदुरीमा लाग्ने गरेको स्थानीय बताउँछन्। यातायात क्षेत्रमा लागेका बालबालिका युवावस्थामा पुगिसकेपछि कुलतमा समेत लाग्ने गरेका छन्।

कुमाल बस्तीका बालबालिकालाई विद्यालयमा टिकाउनै हम्मेहम्मे परिरहेको बालमन्दिर प्राथमिक विद्यालय विजयनगरका प्रधानाध्यापक लोकबहादुर विष्टको भनाइ छ। ‘आधाभन्दा धेरै विद्यार्थी कुमालबस्तीकै छन्’, विष्टले भने, ‘चार/पाँच कक्षामा पुगेपछि छाडिहाल्छन्।’ विद्यार्थी परीक्षाको अवधिसम्म रहे पनि नतिजा राम्रो नहुने गरेको उनको भनाइ छ। नियमित विद्यालय उपस्थित नहुने, घरबाट निस्के पनि विद्यालयसम्म नआउने, कक्षाकोठामा राम्रोसँग पढाइमा ध्यान नदिनेजस्ता समस्या कुमाल बस्तीका बालबालिकामा देखिने गरेको उनको भनाइ छ। विद्यालयले कुमाल बस्तीकै घर/घरमा पुगेर सचेतनाका कार्यक्रम गरिरहे पनि प्रभावकारी बन्न नसकेको उनी सुनाउँछन्।

अघिल्लो शैक्षिक सत्रमा विद्यालय छाडेका १४ बालबालिका सबै कुमालबस्तीकै रहेको विद्यालयले जनाएको छ। ‘विद्यार्थी टिकाउन लक्षित वर्गका कार्यक्रम सञ्चालन भइरहेका छन्’, विष्ट भन्छन्, ‘धेरै प्रयास गर्दा पनि परीक्षाको अवधिसम्म विद्यार्थीलाई टिकाउन मुस्किल पर्छ।’ छात्रा सानै उमेरमा विवाह गर्ने र छात्रहरू यातायात क्षेत्रमै मजदुरी गर्ने प्रचलन धेरै बढ्दै गएको उनले बताए। धेरैजसो अभिभावककै हेलचेक्र्याइँका कारण पनि यस्तो समस्या बढ्दै गएको उनको बुझाइ छ।

बाल्यकालदेखि नै यातायात मजदुरीमा लागेपछि युवावस्थामा आउँदा धेरैजसोको घरपरिवार समस्याबाट गुज्रिने गरेको समेत पाइएको छ। जातीयताको प्रभावले पनि यस गाउँका अभिभावकमा चेतनाको स्तर माथि उठ्न नसकेको कतिपयको विश्लेषण छ। जिल्लाका थुप्रै संघसंस्थाले सामाजिक सचेतनाका कार्यक्रम केन्द्रित गरे पनि त्यसले अपेक्षाअनुसार प्रतिफल पाएको देखिँदैन। विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराउने अभियान चलाइरहेका छन्। तर, विद्यालय छाड्ने क्रम बर्सेनि बढ्दै गएको छ।

माझगाउँबाटै खुलेको सडकबाट दिनहुँजसो ट्र्याक्टर ओहोरदोहोर गर्छन्। ढुंगा, गिट्टी, बालुवा बोकेर आउजाउ गर्ने ट्र्याक्टरमा बालबालिका जबर्जस्ती झुन्डिने गरेको देखिएको छ। गाउँका केही सामाजिक अगुवा र पढे/लेखेकाले समेत आफ्ना छोराछोरीलाई विद्यालयमा नियमित उपस्थित गराउन सकेका छैनन्।

कुमाल बस्तीका बालबालिकाको शैक्षिक उपलब्धिका लागि स्थानीय सरकारले कडा नियम बनाएर अघि बढ्नुपर्ने सरोकारावाला निकायले सुझाव दिएका छन्। ‘अभिभावकको आय आर्जनले पनि प्रभाव पारेको पाइयो’, कालिका विकास केन्द्र नेपाल बिजुवारका कार्यक्रम संयोजक सरोज श्रेष्ठले भने, ‘सेभ द चिल्डे«नमार्फत किसानको आय आर्जनको क्षेत्रमा लगानी गरेका छौं। विगतको तुलनामा सुधार भए पनि खास उपलब्धि हासिल गर्न सकिएको छैन।’ स्थानीय तहले बाध्यकारी कानुनकै माध्यमबाट कुमाल बस्तीको समस्या समाधान गर्न सक्ने उनको बुझाइ छ।

अभिभावकको चेतनास्तरलाई माथि उठाउनेगरी विशेष कार्यक्रम बनाएर अघि बढ्ने योजनामा रहेको वडाध्यक्ष प्रेम हमालले बताएका छन्। ‘सामाजिक सचेतनामा वडाकै धेरै कमजोर बस्ती हो’, उनले भने, ‘उपलब्धि निस्किने गरी कार्ययोजना बनाउने सोचमा छौँ।’ n ews source  annapurna post

प्रतिक्रिया दिनुहोस्