| शुक्रबार, फाल्गुन ९, २०७६

स्थानीय तहसँगको समन्वयमा काम गर्छु ः प्रजिअ पौडेल

गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको समग्र बिकास र शान्ति सुरक्षाका सवालमा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । गत बिहिवार गोरखा आएका उनले आइतबार गोरखामा क्रियाशील पत्रकारहरु सँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन् ।
भेटघाटका क्रममा प्रजिअ पौडेलले स्थानीय, संघ र प्रदेश तीन तहको सरकार रहेको अहिलेको अबस्थामा आवश्यकताअनुसार समन्वय गरेर अघि बढ्ने बताए । ‘अहिले म कुनै ठूलो कुरा गर्दिन । ऐन, नियम र कानुनभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै जानेछु’, उनले भने ।
तीनवटै तहका सरकारले आफ्नो जिम्मेवारीमा रहेर काम गरिरहेका बेला आपसी सहकार्य र समन्वय अघि बढ्ने योजना रहेको उनले बताए ।
पत्रकारहरुसँगको अन्तक्र्रियामा उनले कमिकमजोरी भएको ठाउँमा झक्झक्याउन र राम्रा काममा सहयोग गर्न अनुरोध गरे । ‘गल्ती भएको ठाउँमा झक्झक्याउनु तपाईहरुको दायित्व हो’, प्रजिअ पौडेलले भने, ‘जिम्मेवारी धेरै भएकाले कतै अलमलिन सक्छु । तपाईहरुको रचनात्मक सुझावको सँधै अपेक्षा रहनेछ ।’
जिल्लामा संञ्चालन भएका बिकास निर्माणको योजना, लामो समय देखि अवरुद्ध रुग्ण योजनाहरु, राष्ट्रिय गौरबको बुढीगण्डकी जलविद्युत आयोजना लगायतका बारेमा उनले चासो दिएका छन । जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सुरक्षा निकाय, कर्मचारी सबै पक्षसँग सोधखोज गरेर अघि बढ्ने उनले बताए ।
प्रजिअ पौडेल गोरखा आउनु अघि कारागार ब्यवस्थापन बिभागमा थिए । त्यसअघि उनी सप्तरी र अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालि सकेका थिए ।
२०५१ सालदेखि उनी गृहमन्त्रालयमा कार्यरत छन् । लामो समय गृहमन्त्रालयको अनुभव र अन्य जिल्लामा प्रजिअ हुँदाको अनुभवका आधारमा गोरखामा शान्ति सुरक्षा कायम गराउन साथै सार्वजनिक चासो र महत्वका विषयमा ध्यान केन्द्रित गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्