| बुधबार, कार्तिक २७, २०७६

यसबर्ष गोरखामा ६५ विद्यालय पुनर्निर्माण हुने, विद्यालय पुनर्निर्माण यसैबर्ष सक्ने लक्ष्य

गोरखामा यो बर्ष राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत ६५ विद्यालयको भवन निर्माण हुने भएको छ । दुईकोठे, तीनकोठे र चारकोठे ६५ वटा विद्यालय भवन निर्माण हुने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ ।

विद्यालयको आबश्यकताका आधारमा भवन निर्माण हुने कार्यालयका इन्जिनियर बाबुराम देवकोटाले बताए । ‘दुईकोठे १० वटा, तीनकोठे ५ वटा र चारकाठे भवन ५० वटा बन्नेछन्’, उनले भने, ‘जिल्लाका स्थानीय तहमार्फत सम्पूर्ण विद्यालयलाई विद्यालय पुनर्निमाण प्रस्ताव पेश गर्न लगाउँछौ । स्थानीय तहको सिफारीस र विद्यालयको आबश्यकताका आधारमा कुन कुन विद्यालयमा कति कोठे भवन बनाउने भन्ने छनौट गर्छौ ।’ कात्तिकभित्र नै विद्यालय छनौट गरेर भवन निर्माणको काम सुरु गर्ने उनले बताए ।

विद्यालय ब्यबस्थापन समिति मार्फत भवन निर्माण गरिने उनले जानकारी दिए । चालु आर्थिक बर्ष नै प्राधिकरण मार्फत जिल्लाका विद्यालयमा ७० वटा शौचालय निर्माण हुने भएको छ । स्थानीय तहसँगको समन्वय तथा आबश्यकताका आधारमा शौचलय निर्माण गर्ने विद्यालय छनौट गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ ।

प्राधिकरणबाट जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि करीब ४० करोड रुपैयाँ विनियोजन भएको कार्यालयका इन्जिनियर देवकोटाले बताए । चालु आर्थिक बर्षभित्र नै ६५ विद्यालय र ७० शौचालय निर्माण सक्ने कार्यालयको लक्ष्य छ । भूकम्पले भत्किएका जिल्लाका विद्यालय पुनर्निर्माणमा दातृसंस्थाले सहयोग गरेपनि कतिपय विद्यालयमा आबश्यकता अनुसारका कक्षाकोठा अपुग भएकाले प्राधिकरणले विद्यालय भवन निर्माणको कार्यक्रम ल्याएको हो ।

भूकम्पपछिको तीनबर्षको अबधिमा प्राधिकरण मार्फत नै जिल्लामा २८७ भवन बनेका कार्यालयले जनाएको छ । गतबर्षको कार्यक्रम अनुसार ७० शौचालय निर्माणाधिन छन् । भूकम्पले क्षति पुगेका चार सय १९ विद्यालयमध्ये हालसम्म दुई सय ९५ भवन पुनर्निर्माण भैसकेको कार्यालयका इन्जिनियर देवकोटाले बताए ।

तर पुनर्निर्माण भएकामध्ये एक सय २० विद्यालयलाई कक्षाकोठा अपुग भएको उनको भनाई छ । चालु आर्थिक बर्षको भवन निर्माण भएपछि कक्षाकोठा अभाव नरहने उनले विश्वास गरे ।

विद्यालय पुनर्निर्माणको काम यसबर्ष सम्पन्न गर्ने लक्ष्य रहेको देवकोटाले सुनाए ।

प्रतिक्रिया दिनुहोस्