| शनिबार, कार्तिक २, २०७६

गोरखा दरबारमा अबदेखि गुरुजीको पल्टनको ड्युटी

गोरखा दरबारमा शुक्रबारदेखि गुरुजीको पल्टनलाई ड्युटीमा खटाइएको छ । हनुमानढोका दरबारमा मात्र खटिएका गुरुजीको पल्टनका ११ जनालाई बडा दर्शैको छैटौँ दिनको अवसर पारेर गोरखा दरबारमा पनि खटाइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

‘अहिले उहाँहरु गोरखकाली मन्दिरको सुरक्षामा खटिनु भएको छ’, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, ‘गोरखा दरबार त पुनर्निर्माणको चरणमा छ । पछि दरबारमा पनि खटिनु होला ।’ दरबार क्षेत्रको वनमा रहेको फूलबारी ब्यारेकमा रहेर दरबारको सुरक्षामा खटिएका उनले बताए ।

पर्यटन बर्षको पूर्वसन्ध्यामा पृथ्वीनारायण शाहकालीन मूलथलोमा पृथ्वीनारायण शाहकालीन कालो पोशाकका सेना खटिनु अत्यन्त सकारात्मक रहेको गोरखा दरबारका निमित्त प्रमुख कट्टेलको तर्क छ । ‘पृथ्वीनारायण शाहको पालामा सेनालाई मिलिसिया भन्थे । उनीहरुकै पोशाकमा सजिएका सेना अहिले गोरखा दरबारको मूल थलोमा खटिएका छन्’, उनी भन्छन्, ‘पर्यटन बर्षको पूर्वसन्ध्यामा गरिएको यस कार्यले यहाँको पर्यटन विकासका लागि पक्कै पनि सकारात्मक काम गर्छ ।’

पृथ्वीनारायण शाह कालीन सेनाले लगाउने गरेको जस्तो पोशाकमा गुरुजीको पल्टन खटिएका छन् । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले सबैभन्दा पहिले १८१९ मा श्रीनाथ गण, पुरानो गोरखगण, कालीबक्स गण, बर्दबहादुर गण र सबुज गण नामका सेनाका पाँचवटा एकाइ स्थापना गरेको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारी बताउँछन् ।

त्यतिबेला सेनाले झैँ खुकुरी भिरेका, कालो रंगको दौरा सुरुवाल लगाएका, शीरमा चाँदतोडा, पहेँलो पाउपोशमाथि कालो बुट अहिले गोरखा दरबारमा खटिएका गुरुज्यूको पल्टनले लगाएका छन् । उनीहरुको साथमा सोही समय सेनाले बोक्ने गरेको भरुवा बन्दुक रहेको छ ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले गोरखा दबार छाडेर काठमाडौंमा हनुमानढोका दरबारबाट राजकाज चलाएका थिए । त्यहाँ अहिले शादूलजंग गुल्मका सेनाहरु छन् । सोही गुल्मबाट हाल ११ जनालाई गोरखा दरबारमा खटाइएको हो ।

लिगलिगकोटका राजा द्रव्य शाहलाई गोरखामा ल्याएर तत्कालीन राजगुरु नारायणदास अज्र्याल, सर्वेश्वर खनाल, गणेश पाण्डे, भगिरथ पन्त, केशव बोहोरा लगायतले विक्रम संवत् १६१६ भदौ २५ गते राज्याभिषेक गराई गोरखा राज्यको स्थापना गरेको इतिहास छ ।

ऐतिहासिक स्थलमा ऐतिहासिक कालकै पोशाकमा पल्टन खटिँदा दरबारको शोभा बढेको कालीका दर्शनका लागि दरबारमा आएका गोरखा नगरपालिका ७ नयाँबजारका श्यामबाबु श्रेष्ठले बताए । ‘ऐतिहासिक गोरखा दरबारमा इतिहास झल्किने खालको सेनाको ड्यूटी साह्रै सुहाएको छ’, उनले भने, ‘यस्तो भैदिए हुन्थ्यो भन्ने हामीले पहिल्यैदेखि महशुस गरेका थियौं । आज देख्न पाइयो अत्यन्तै खुशी लागेको छ ।’ यसकै कारण पनि भक्तजन तथा पर्यटकहरु बढ्न सक्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्