| शनिबार, बैशाख ८, २०८१

सतिघाटु संरक्षणमा लाप्राकका युवाहरु जुटे

लोपोन्मुख सतिघाटु संरक्षणका लागि लाप्राकका गुरुङ समुदाय संगठित भएका छन् ।

आफ्नो समुदायको पहिचान बनेको सतिघाटु लोप हुने अबस्थामा पुगेको भन्दै उनिहरुले यसको संरक्षणका लागि मुलाल गुरुङको अध्यक्षतामा ३ सदस्यिय तदर्थ समिति गठन गरेका छन् ।

समितिमा यामे गुरुङ र माया गुरुङ सदस्य रहेका छन् ।

खर्च ब्यबस्थापनमा कठिनाई हुँदा सतिघाटु लोप हुन लागेकाले स्थानीयकै सक्रियतामा अर्थ संकलन पनि सुरु गरेको लाप्राकका मणि गुरुङले जानकारी दिए । ‘सतिघाटु लामो अबधिको हुन्छ, त्यसैले खर्चपर्च पनि धेरै लाग्ने’ उनले भने ‘संस्कृति धान्नैपर्छ भनेर हामीले घाटुका लागि अर्थ संकलन सुरु गरेका छौं । देश विदेशमा रहेका लाप्राकीबाट अहिलेसम्म दश लाख रुपैयाँको प्रतिबद्धता आएको छ ।’

सतिघाटुका लागि बर्षमा करीब तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धार्चे गाउँपालिका ४ लाप्राकको सतिघाटु गुरुङ समुदायमा प्रचलित रहेको उनले बताए । हरेक बर्षको श्रीपञ्चमीबाट सुरु हुने सतिघाटु बैशाख पुर्णिमामा सकिने गुरुङले जानकारी दिए ।
मादलको ताल र गीतको टुक्कामा नाचिने यो नाच राजा परशुराम र रानी यम्फावतीको कथामा आधारित छ । यो नाचमा राजा परशुराम र रानी यम्फावतीको कथासार व्यक्त गरिन्छ ।

नाचमा दुई जना किशोरी सहभागी हुन्छन् । शीरमा लाहाको मुकुट लगाएर राजा परशुरामको रुपमा नाचिन्छ भने गुन्यु र चोली लगाएर रानी यम्फावतीको रुपमा नाचिन्छ । घाटुमा नाच्ने दुई जनालाई घाँटुसरी भनिन्छ । घाँटु नाँच्नेहरु रजश्वला भएका, अपाङ्गता तथा अशक्त हुनु हुँदैन भन्ने मान्यता छ ।
घाटु सुरु हुनुपूर्व देवता बोलाउने र देवता चढेपछि घाटुसरी बेहोसीमै नाच्ने चलन रहेको गुरुङ समुदायले बताएका छन् । मादलको ताल र गुरुहरुले गाउने गीतको आधारमा घाटुसरी नाच्छन् । लाप्राकमा गठन भएको तदर्थ समितिले सतिघाटुसँगै समग्र गाउँपालिकाको संस्कृति संरक्षण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्