| शुक्रबार, जेष्ठ २३, २०७७

बाँझो जमिनमा खेतीगर्न प्रोत्साहन गर्दै गोरखाका स्थानीय तह

५५ हजार छ सय ९६ हेक्टर खेतीयोग्य जमिन रहेको गोरखामा ४६ हजार दुई सय २० हेक्टरमा मात्रै खेती हुँदै आएको छ, यो गत वर्षको तथ्याङ्क हो । आउँदो वर्ष यो तथ्याङ्क धेरै घट्ने अनुमान गरिएको छ । कोरोना प्रभावको कारण आउन सक्ने खाद्य संकट र स्थानीय सरकारले ल्यएको कृषि लक्षित अनुदान, योजनाले खेतीगर्नेहरु बढ्ने संकेत देखिएको हो ।
रोजगारी, शिक्षा, ब्यापार लगायत बिभिन्न कारणले घर बाहिर भएकाहरु पनि अहिले घरमा रहेको र जमिन बाँझो राख्दा आउन सक्ने खाद्य संकटबाट सर्वसाधारण सचेत भएकाले खेती हुने क्रम बढ्ने कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा बताउँछिन् । ‘आगामी वर्षका लागि हामीले बिदेशबाट फर्किएका र साना किसानलाई अनुदान दिने, कृषिमा प्रोत्साहन गर्ने खालको कर्याक्रम बनाईरहेका छौँ’ उनले भनिन् ‘कृषि पेसा गर्नेहरु बढेसँगै उत्पादन पनि बढ्ने पक्का छ ।’ कृषि सामग्रीमा सत प्रतिशत अनुदान, बिरुवा बितरण, निशुल्क बिउ बितरण जस्ता कार्यक्रमको माग धेरै रहेको उनले बताईन ।
कृषि उत्पादन बढाउन अहिले गोरखाका स्थानीय तहले किसानलाई मल बिउमा अनुदान दिने, बाँझो जग्गामा खेती गर्न प्रोत्साहन गर्ने खालका नयाँ योजना ल्याएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले दुई वर्षयता बाँझो रहेका तर अहिले खेतीपाती गर्ने हो भने किसानलाई प्रतिरोपनी तीन हजार रुपैयाँ दिने निर्णय ग¥यो । जमिन नभएका खेतीपाती गर्ने चाहना भएकालाई सजिलो बनाउन भन्दै पालिकाले खेत प्रतिरोपनी पाँच सय र पाखो जमिन चार सयमा भाडामा दिनुपर्ने नियम बनाएको छ ।
गोरखा नगरपालिकाले धानको बिउ राख्ने सिजन सुरु हुन लागेपछि बिउ खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ । सार्वजनीक सुचना निकाले नगरपालिकाले धानको बिउ चाहिने किसानलाई अनलाईन फारम भर्न वा वडा कार्यालयमा निवेदन दिएर माग गर्न अनुरोध गरेको छ । नगरपालिकाले यस अघि मल बिक्रेतालाई भेला गराएर प्रतिबोरा नौ सय ५० रुपैयाँमा बिक्री गर्न निर्देशन दिएको थियो । महँगोमा मल खरिद गर्दै आएका किसानले सहुलियतमा पाए ।
गोरखाको आरुघाट गाउँपालिकाले मल ढुवानीमा अनुदान दिएको छ । रसायनिक मल प्रतिबोरा आरुघाटमा एक हजार पाँच सय सम्म बिक्री गरेको गुनासोपछि कार्यपालिकाको बैठकले ढुवानी गाउँपालिकाले गर्ने निर्णय गरेको छ ।
धार्चे गाउँपालिकाले बाँझो जमिनमा आलु लगाउने, मलसाबाली लगाउने, कोदो लगाउने किसानलाई अनुदान दिने निर्णय गरेको छ । फरक फरक खेतीको छुट्टाछुट्ट मूल्य तोकिएको छ । सिरानचोक गाउँपालिकाले किसानलाई रसायनिक मल घरघरै ढुवानी गरिदिने भएको छ । शहिद लखन गाउँपालिकाले पनि रसायनिक मलमा किसानलाई अनुदान दिएको छ ।

प्रतिक्रिया दिनुहोस्