| शुक्रबार, साउन ३०, २०७७

गोरखाका पाँच सडक कालोपत्रेको काम खरायो गतिमा (तस्वीरहरु सहित)

गोरखाका पाँच वटा सडक कालोपत्रेको काम खरायो गतिमा अघि बढिरहेको छ । प्रदेश सरकारबाट सञ्चालित चार र पुनर्निर्माण प्राधिकरणबाट सञ्चालित एक सडकको काम तीब्र गतिमा अघि बढेको हो ।

भूकम्पपछिको पुनर्लाभ कोष(पिडिआरएफ)द्वारा नयाँगाउँ सिरानडाँडा सडक कालोपत्रेको काम धमाधम सञ्चालन भइरहेको छ । नेपाल सरकारको ३० करोड रुपैयाँको लागतमा लामा कन्स्ट्रक्शनले सो सडक कालोपत्रेको काम सञ्चालन गरेको हो ।

अहिले बेस ओछ्याउने काम भइरहेको छ । जेठ पहिलो हप्ताभित्र सक्नुपर्ने काम यही गतिमा अघि बढिरहे निर्धारित समय अगावै सम्पन्न हुने अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालय(जिमाली) का प्रमुख रामशरण आचार्यले जानकारी दिए । सोही परियोजना अन्तर्गत लुइँटेलभञ्ज्याङदेखि नयाँगाउँसम्मको ३१.२ किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उनले बताए ।

त्यस्तै सम्भावित रणनीतिक सडक कार्यक्रमअन्तर्गत चोरकाटेदेखि चित्रेपोखरीसम्मको ९.२ किलोमिटर सडक कालोपत्रेको काम पनि युद्धस्तरमा अघि बढिरहेको छ । मनास्लु सडक नाम दिइएको सो सडक पनि २२ करोडको लागतमा लामा कन्स्ट्रक्शनले सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय लम्जुङका प्रमुख राम पराजुलीले जानकारी दिए । २०७८ सालको मंसीरमा सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्शनले गत मंसीर महिनामा ठेक्का सम्झौता गरेको हो । सो कामको अहिलेसम्म १५ देखि २० प्रतिशतसम्म प्रगति भइसकेको र यही गतिमा अघि बढिरहेमा निर्धारित समयअघि नै सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत ढुंगागाढेदेखि नाम्जुङसम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्ने काम पनि तिब्र गतिमा अघि बढिरहेको छ । सो काम पनि दुई बर्षभित्र सम्पन्न गर्ने गरी लामा कन्स्ट्रक्शनले सञ्चालन गरिरहेको हो । ३३ करोड रुपैयाँको सो सडक कालोपत्रे आयोजनाको अहिलेसम्म १५ देखि २० प्रतिशतसम्म प्रगति भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।


त्यस्तै एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गतकै पालुङटार नयाँ पुल सडक कालोपत्रेको काम पनि तिब्र गतिमा अघि बढिरहेको छ । १० किलोमिटर सडक कालोपत्रे गर्ने काम अमर कन्स्ट्रक्शनले २० करोड रुपैयाँमा ठेक्का लिएको हो । गत मंसीरदेखि अहिलेसम्म १२ प्रतिशत प्रगति भइसकेको कार्यालयले जनाएको छ ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गतको ढोडेनी सिम्जुङ भच्चेक सडकको १४ किलोमिटर ग्राभेल गर्ने काम पनि तिब्र रुपमा अघि बढिरहेको छ । नाना गोरखा जेभीले २० करोडमा सो कामको ठेक्का लिएको हो । अरु कामको तुलनामा सो काम भने कम प्रगति भएको कार्यालयले जनाएको छ ।

एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गतको बारपाक लाप्राक १३ किलोमिटर सडक कालोपत्रे गर्ने काम भने ठेक्का स्वीकृत गर्ने चरणमा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्