| शनिबार, बैशाख ८, २०८१

पालुङ्टार विमानस्थल मर्मतसम्भारका लागि यसबर्ष ८८ लाख ५० हजार बिनियोजन

 

लामो समयदेखि बन्द रहेको पालुङ्टार विमानस्थलको पूर्वाधार सुधारका लागि यो बर्ष बजेट बिनियोजन भएको छ । पालुङ्टार नगरपालिका ५ स्थित सो विमानस्थलका लागि चालु आर्थिक बर्षका नेपाल सरकारले ८८ लाख ४९ हजार ५५८ रुपैयाँ बिनियोजन गरेको नागरिक उड्डयन प्राधि करणले जनाएको छ ।

‘धावनमार्ग, ट्याक्सी–वे, पेरिफेरि रोड निर्माणका लागि नेपाल सरकारले बजेट बिनियोजन गरेको छ’, प्राधिकरणका सूचना अधिकारी नायब निर्देशक त्रिलोचन पौड्यालले भने, ‘ढल निकास, एक्सेस रोड निर्माण र एप्रोनका लागि बहुबर्षे आयोजना अन्तर्गत बजेट बिनियोजन भएको हो ।’ प्राधिकरणले भने बजेट बिनियोजन नगरेको पौड्यालले बताए ।

२०१६ सालमा तत्कालीन निर्माण मन्त्री गणेशमान सिँहले सिलान्यास गरेको पालुङ्टार विमानस्थलमा २०३६ सालदेखि औपचारिक रुपमा उँडान बन्द भएको प्राधिकरणले जनाएको छ । काठमाडौं पोखरा पृथ्वीराजमार्ग सञ्चालन भएपछि सो विमानस्थल बन्द भएको स्थानीयबासी बताउँछन् ।

समुद्री सतहदेखि ४५७ मिटर उचाइमा रहेको सो विमानस्थल १०९७ मिटर लामो र दुईसय मिटर चौडा रहेको छ ।

बिमानस्थलमा उँडान सञ्चालन हुँदा गोरखा, तनहूँ, लम्जुङ र मनाङ जिल्लाका बासिन्दाले सेवा लिने गरेका स्थानीयबासीले जानकारी दिए । उँडान बन्द हुँदा स्थानीयबासी निराश भएको स्थानीय मातृकाबहादुर पराजुली बताउँछन् ।

विमानस्थल सञ्चालनका लागि यसबर्ष केही बजेट बिनियोजन भएको जानकारी पाएको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए । बजेट बिनियोजन मात्र नभै पुन सञ्चालनको प्रयास भएमा नगरपालिकाको मात्र नभै यस भेगकै गौरव बढ्ने उनको भनाइ छ ।
बिमानस्थल सञ्चालनमा नआउँदा बिमानस्थलको नाममा रहेको जग्गाको दुरुपयोग बढेको छ । बिमानस्थलमा युवाहरुले फुटबल, भलिबल खेल्ने, किसानहरुले गाईभैँसी चलाउने, ठेकेदारहरुले निर्माण सामग्री गोदाम गर्ने, कतिपय स्थानीयबासीले अतिक्रमण गरी घर बनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्