गोरखामा खाद्यान्न उत्पादन घट्दो
किरण लोहनी ः २०७२ सालको भूकम्पदेखि गोरखामा खाद्यान्न उत्पादन घट्दै गएको छ । कृषि ज्ञानकेन्द्र गोरखाले सङ्कलन गरेको तथ्याङ्क अनुसार जिल्लामा उत्पादित खाद्यान्नले यहाँको माग पूरा गर्ने अवस्था कमजोर बन्दै गएको हो ।
‘आलु र तरकारी उत्पादन जिल्लाको माग भन्दा बढि नै देखिन्छ, तर तेलहन बाली र खाद्यान्न उत्पादनमा क्रमशः ह्रास आएको देखियो’, ज्ञानकेन्द्र प्रमुख मनिता थापाले भनिन्, ‘२०७२ सालको भूकम्पपछि खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको हाम्रो अध्ययनले देखाएको छ ।’ २०७२ को भूकम्पअघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले पुग्ने गरेकोमा अहिले भने उत्पादन घट्न थालेको उनको भनाइ छ । जिल्लामा हाल ५१ हजार सातसय ७२ मेट्रिक टन खाद्यान्नको माग रहेकोमा उत्पादन भने ४७ हजार छसय ५ मेट्रिक टन मात्रै रहेको कृषि ज्ञानकेन्द्रको अध्ययनले देखाएको छ । जिल्लामा बर्षेनी चारहजार एक सय ६७ मेट्रिक टन खाद्यान्नको अभाव हुने गरेको ज्ञानकेन्द्र प्रमुख थापाले बताइन् ।
धान, मकै, कोदो लगायत खाद्यान्नको मागको तुलनामा ८.५ प्रतिशत अपुग देखिएको उनको भनाइ छ । जिल्लामा सबैभन्दा धेरै तेलहन बालीको चरम अभाव रहेको पाइएको छ । जिल्लाको मागको तुलनामा तेलहन बालीको उत्पादन ८१ प्रतिशतले कम देखिएको ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा वार्षिक ३३ सय २३ मेट्रिक टन तेलहन बाली उत्पादन हुनुपर्नेमा ६ सय १८ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । जिल्लाको खपत अनुसार तेलहन बालीको उत्पादन २ हजार ७ सय ५ मेट्रिक टनले बढाउनु पर्ने देखिएको छ । तरकारी र आलुबालीको उत्पादन भने माग भन्दा बढी हुने गरेको कृषि ज्ञानकेन्द्रको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा तरकारी र आलु बालीको माग २८ हजार १सय ९६ मेट्रिक टन रहेकोमा उत्पादन भने ३१ हजार ८ सय ९७ मेट्रिक टन रहेको छ । करीव तीन हजार मेट्रिक टन तरकारी र आलु बाली जिल्ला बाहिर निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्र प्रमुख मनिता थापाले बताइन् । आलुको उत्पादन मागभन्दा १ शय ३३ प्रतिशतले बढी हुने गरेको उनले जानकारी दिइन् । भूकम्पअघिसम्म जिल्लाको मागलाई यहीँको उत्पादनले धान्ने गरेकोमा पछिल्ला वर्षहरुमा उत्पादन घट्दै गएको देखिएको उनको भनाइ छ । तत्काल खाद्यान्न उत्पादन बढाउने खालका कार्यक्रम नगर्ने हो भने खाद्य असुरक्षाको जोखिम अझै बढ्दै जाने ज्ञानकेन्द्र प्रमुख थापाले बताइन् ।