| बिहिबार, चैत्र १५, २०८०

नेपाल टेलिकमको न्याक, उहिया र केरौंजाको संरचना लामो समयदेखि अलपत्र

 

चुमनुब्री ३ न्याकमा नेपाल टेलिकमको फोरजीको टावर राख्ने भनी उपकरण राख्ने घर बनायो । अब केही समयको विदापछि आएर टावर निर्माण गर्ने भनेर कर्मचारी फर्किए । टावर बनाउने मान्छे आउलान् भनेर स्थानीयबासीले बाटो हेरेर बसेको साँढे तीनबर्ष बित्यो तर अहिलेसम्म पनि टावर बनाउने मान्छे फर्केर नआएको स्थानीय दिपेश गुरुङ बताउँछन् ।

‘अरु सबै ठाउँमा मोबाइल चल्छ, तर हाम्रो गाउँमा अहिलेसम्म मोबाइल चल्दैन’, उनी भन्छन्, ‘बल्लतल्ल टावर बनाउने भनेर टोली आएको थियो । उनीहरु पनि फर्किएर गएको तीनबर्ष बितिसक्यो, अहिलेसम्म कोही पनि आएनन् ।’ करिब आठ लाख रुपैयाँ खर्च गरेर बनाएको टेलिकमको घरको ढोका उघार्ने मान्छे कोही पनि नहुँदा घर थोत्रिसकेको उनले बताए ।

न्याकमा टावर बनेपछि न्याक, साबिक चुम्चेत गाविस, छेकम्पार गाविससम्म पनि नमस्ते फोन सेवा चल्ने उनले बताए ।

नेपाल टेलिकमले धार्चे गाउँपालिका ३, साबिक उहिया गाविस र वडा नं. १ र २ को साबिक केरौंजा गाविसमा पनि टावर बनाएर गएको लामो समय भइसकेको छ, तर अहिलेसम्म सेवा आरम्भ नगरेको स्थानीयहरु बताउँछन् । ‘उहियामा मोबाइल सेवा छैन । धेरै पहिलेदेखि हार गुहार गर्दागर्दा बल्लतल्ल टावर त बन्यो तर तीन महिना भइसक्यो, अहिलेसम्म सेवा सञ्चालन भएको छैन’, वडा नं. ३ का अध्यक्ष इन्द्रप्रसाद गुरुङले भने, ‘पाँच दिनपछि प्राविधिक आउँछन्, एकहप्तापछि सेवा सुरु हुन्छ भनेर टार्दाटार्दै यत्तिका समय बित्यो । अझै कहिलेदेखि सुरु हुने हो, थाहा छैन ।’

विद्युत जडान सम्बन्धी समस्याका कारण सेवा सुरु नगरेको नेपाल टेलिकम गोरखा कार्यालयका सन्दीप ढकालले जानकारी दिए । ‘सोलार प्रविधिको लाइन जडान गर्ने कि लघुजलविद्युतको लाइन जोड्ने भन्ने अन्यौल नै छ’, उनले भने, ‘अब न्याक, उहिया, केरौंजाको सेवा एकैपटक सञ्चालन गर्ने भन्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालयको योजना छ भन्ने बुझेको छु ।’

प्रतिक्रिया दिनुहोस्