| बिहिबार, बैशाख ६, २०८१

नयाँबर्षको दिनमा चौधसय जनाले अवलोकन गरे गोरखा संग्रहालय

नयाँबर्षको दिनमा चौधसय जनाले गोरखा संग्रहालयको अबलोकन गरेका छन् । नयाँबर्षको दिनमा संग्रहालय खुल्ला गरेर नयाँ प्रयोग गरेको संग्रहालयको यतिधेरै भ्रमणकर्ताले भ्रमण गरेका हुन् ।
संग्रहालय प्रवेश शुल्कबाट ३२ हजार २० रुपैया राजस्व संकलन भएको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । संग्रहालयले विद्यार्थीसँग १०, नेपालीसँग २५ र विदेशी सँग सय रुपैयाँ प्रवेश शुल्क लिदै आएको छ । दुई सय ६७ विद्यार्थी, एक हजार एक सय ६२ नेपाली र तिन विदेशीले संग्रहालय घुमेका संग्रहालय प्रमुख अधि कारीले जानकारी दिए । अघिल्ला बर्षहरुमा नयाँ बर्षमा बन्द रहदै आएको संग्रहालय यो बर्ष खुल्ला गरिएको हो । नेपालीहरुको घुम्ने संस्कार बढ्दै गएकाले नयाँबर्ष मनाउन जिल्ला आईपुगेका पर्यटकलाई लक्षित गर्दै नयाँबर्षको दिनमा संग्रहालय खुल्ला गरिएको संग्रहालयका प्रमुख अधिकारीले जानकारी दिए ।
सार्वजनिक विदाको दिनमा संग्रहालय घुम्न पाउँदा पर्यटकहरु खुसी भएका छन् । बुटवलबाट आएका कमल ज्ञवालीले संग्रहालय सधै खुल्ला राख्न सुझाव दिए ।‘हाम्रो टोली नयाँ बर्ष मनाउन बुटवलबाट घुम्न आएका हौं’ उनले भने ‘बिदा भएपनि यहाँ संग्रहालय खुल्ला रहेछ । शाहवंशीय इतिहास अध्ययन गर्न पायौं, खुसी लागेको छ । यस्ता सांस्कृतिक सम्पदा सधै खुल्ला गर्ने वातावरण बनाउनु जरुरी छ ।’ नवलपरासीबाट आएका राजकुमार मुडवरीले संग्रहालयमा बिजुली ब्यबस्थापनमा सुधार गर्न आग्रह गरे । ‘ग्यालरी घुम्दै थियौं बत्ति गयो’ उनले भने ‘मोवाइल बालेर हेर्नुपर्ने अबस्था आयो, जेनेरेटर वा सोलारको ब्यबस्था गर्नु जरुरी रहेछ ।’

गोरखा राज्य र नेपाल एकीकरणका सन्दर्भ, युद्धमा प्रयोग गरिएका हतियार, पुराना भाडवर्तन, विभिन्न जातिका पहिचान झल्कने सामग्री, बाजा लगायतका सामाग्री संग्रहालयमा राखिएको छ । तत्कालीन राजा राजेन्द्रबिक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइ दिएको दरवारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो । परम्परागत नेपाली बास्तु शैलिबाट बनेको लगभग अन्तिम दरवार भएकाले सो सम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय गन्तब्य विन्दू बन्ने गरेको छ । यसबाहेक तत्कालीन गोरखा राज्यको स्थापनाको पृष्ठभूमि र ऐतिहासिक पक्षबारे जानकारी दिन चाहनेहरुले पनि गोरखा संग्रहालय भ्रमण गर्दै आएका छन् । संग्रहा लयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष छन् । गोरखा संग्रहालय रहेको दरवार चार रोपनी क्षेत्रफल मा फैलिएको छ भने संग्रहालय परिसरको क्षेत्रफल भने ६८ रोपनी रहेको छ । सार्वजनिक बिदा बाहेक हरेक मंगलवार संग्रहालय बन्द हुने गरेको छ । तर अन्य बिदाको दिनमा पनि संग्रहालय खुल्ला गर्न पुरातत्व विभागसँग छलफल भैरहेको संग्रहालय प्रमुख अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्