| शनिबार, जेष्ठ ४, २०८२

वी पी को शोक मनाउँदा शिक्षक जागिर चट्

यदु अधिकारी । आज पनि श्रावण ९ २०३९ को घटना सम्झदा आङ सिरिङ्ग हुन्छ । गोरखा जिल्लाको तत्कालीन बारपाक गाबिसको हिमालय नि.मा.विमा हामीहरुले अध्यापन गरेका थियौँ । नेपालका प्रथम जननिर्वाचित २०१५ सालका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति र साहित्यका विभूति हुन् ।

१९७१ साल भाद्र २४ गते वनारसमा जन्मिएका कोइराला नेपाली काङग्रेसका संथापक नेता हुन् । राण शासनको विरुद्धमा र पन्चायत शासनको विरुद्धमा सशक्त आन्दोलन गरेका कोइरालाई २०१७ साल पुष १ गतेदेखि आजीवन काराबासको सजाय सरकारले दियो । सुन्दरीजलमा बसेर उपन्यास, कथा, कविता र डेलि डायरी लेखेका कोइरालाले पाश्चात्य जगतको फ्रायडेली परम्परालाई नेपाली साहित्यमा भित्र्याई आजीवन नेतृत्व गरेका थिए ।

भारतले सिक्किम आफ्नो राज्यमा मिलाएपछि राष्ट्रियताको खतरा देखेका कोइरालाले २०३३ पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपालमा आएका थिए । क्यानसरका रोगी कोइरालाले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र जोगाउन राजाको घाँटीभन्दा आफ्नो घाँटी माथि राख्न तयार छु भनी नेपालमा आए । २०३७ सालको जनमत सङग्रहलाई स्वीकारेर सुधारिएको पन्चायतमा बहुदल प्रणाली अपनाएमा मान्न समेत तयार भएको सुनिन्थ्यो ।

क्यान्सरका रोगी कोइरालाको २०३९ साल श्रावण ६ गते बेलुका असमायिक निधन भएको कुरा रेडियो नेपालले समाचारमा भन्यो । राजा बीरेन्द्रले शोक सन्देश दिए । हामीहरु बारपाकमा पढाउने र सेभ द चिल्डूेनमा जागिर खानेले पनि दुखद समाचार सुन्यौ । नेपाल सरकारले पूर्व प्रधानमन्त्री भएको हुनाले शोक मनाउन कार्यालयहरु र विद्यालय बन्द गर्छ भन्ने सोचेका थियौँ । पन्चायती सरकारले पक्षपात गरी शोक मनाएन । हामीहरुले सल्लाह गरेर विद्यालयमा शोक मनाउने निर्णय ग¥यौ । प्राथना चलाउने खेलकुद शिक्षक म आँफै भएको हुनाले मैले नेतृत्व गरेको थिएँ ।

शिक्षक साथीहरु ईश्वरी घिमिरे, यम घले, लोक बहादुर घले, विष्णु अधिकारी र सेभ द चिल्डे«नका कर्मचारी जीवनाथ अधिकारी र स्थानीय युवा सिमन गुरुङको सल्लाहले शोक मनाउने बार्तामा मिलायौँ । प्राथाना पछि शोक मनाउने भनेर छात्र धनीबहादुर घलेले स्थानीय घले गुरुङ भाषामा ‘दिनी वी.पी सिअ शोक मनाउन पर्दिया’ अथवा हिजो वी.पीको मृत्यु भयो शोक मनाउनु पर्दछ, नपढौँ भने । विद्यालय बन्द भएपछि पन्चका पहरेदार र पन्चसँग साँठगाँठ भएका प्रअ र शिक्षकहरुको टाउको दुख्यो ।

गाउँ पन्चायतले बैठक बोलायो । बैठकमा छात्र धनीबहादुरले शिक्षक नेता इदु (यदु) सरले सबैको सल्लाह अनुसार शोक मनाउन मैले सूचना गरेको हुँ भने । त्यसपछि सल्लाहकार सिमन गुरुङ पनि छन् भनेपछि भागेका उनलाई तत्कालीन पन्चहरुले दरौँदी नदीको किनार भालुस्वाँराबाट पक्रिएर लगे । गाउँ पन्चायतको बैठकमा उनले सबैको नाम भने ।

त्यसपछि उनलाई ५ हजारभन्दा माथि जरिवाना गरेर छोडे । शिक्षकहरु सबैलाई बरखास्त गर्ने भन्ने बारेमा प्रअ र पन्चहरुको सहमति भयो । नेवि संघ जिल्ला कार्य समिति गोरखाका उप(सभापति सुरबहादुर घलेले शिक्षकहरुलाई जगाउन प्रयास गरे । म आफू नेतालाई माफी मागेमा राख्ने अरुलाई भने कुनै हालतमा पनि नराख्ने निर्णय सुनाए । मैले राख्ने भए सबैलाई राख म मात्र बस्दिन भनेर जिद्दी गरे । सुरबहादुरले नमज्जा माने पछि उनी लप्सीबोटमा पढेर बेलायती सेनामा भर्ती भए ।

हामीहरु सिधै लप्सीबोटमा गयौँ । ज्ञानज्योतिका प्रअ गुरु विजय अधिकारीसँग स्व.दाइ यदु प्रसाद अधिकारीले कुराकानी गर्नुभयो । विजय सरले गोरखाको काङग्रेसले शोक मनाएन पन्चहरुको बाहुल्य भएको बारपाकमा हाम्रो सानू यदु(म) ले शोक मनाउन लगायो अब पन्चायत कालमा जागिर जोगाउन कठिन हुन्छ भनेर धेरै दुख व्यक्त गर्नुभयो ।

गोरखाको सभापति बीरेन्द्र थिए । उनलाई शिक्षक नेताहरु विजय अधिकारी, कृष्ण पोखरेल, यदु अधिकारी (ठूलो यदु), चण्डिका भट्ट, चिनकाजी श्रेष्ठ, शुकदेव दवाडी, चित्ररत्न शाक्य, पुष्पलाल धिताल र काङग्रेसका सभापति लगायत सबैले शोक मनाउँदा जागिर जानु हुँदैन भने । बारपाकीहरुले स्थानीय भाषामा ‘तालबिया’ भनेर शोक मनाउँदा लखेटेको भनेर कुरा गरेको सुनिन्थ्यो ।

गोरखामा धेरै चर्चा परिचर्चा भयो । शिक्षा समितिका पूर्व सभापति पन्चलाई जागिर खानु हुँदैन भनेर हितैषी काङग्रेसले अनुरोध गर्दा, अराष्ट्रिय तत्वको नेपा वी.पिको शोक मनाउने ‘राँडीका छोरा काङग्रेसी मास्टरहरुको जागिर जोगाउन सकिदैन’ (उनको भनाइ) भने । त्यसपछि मनुको परिवारलाई बारपाक गाउँमा प्रवेश निषेध गरेको गाउँ पन्चायतले निर्णय गरेको थियो भनेर सुनियो । मनुको परिवार, पूर्व सभापति हरि घले दुई वर्षसम्म गाउँमा जान सकेनन् ।

चाडपर्व बाहिर नै मनाए । मनु घलेको श्रमती चिस्माया घले बडो सहासिली थिइन् । उनले कत्ति हरेस खाइनन् । २०१५ सालमा मनुका बाबु इमानसिंह र कान्छो बाबु जितशहादुरले काङग्रेसलाई सहयोग गरेका रहेछन् । सबैले दुख पायौँ । लोक बहादुरलाई मनु घलेले लोकबहादुरलाई छेकम्पारमा जागिर खाने व्यवस्था मिलाए । जीवनाथको जागरि जिल्ला सदरमुकाममा यथावत रहयो । यम घले सिङ्गापुर प्रहरीमा भर्ती भए । विष्णु अधिकारी खानेपानिमा जागिरे भए ।

ईश्वरी घिमिरे र मैले मुद्धा जितेर शिक्षकमा बहाली भयौँ । शोक मनाउन सहयोग गर्ने छात्रहरु धनीराज, गणेश, धनीबहादुर, मन्दुर र नन्दे घले थिए । तिनीहरुलाई म आजपनि सम्मान गर्दछु । आफ्नो कुरो भन्न नै प¥यो । दुल्लभ मावि घ्याम्पेसालमा बीरेन्द्रशिल्डमा सहयोग गरेपछि म ज्ञान ज्योति लप्सीबोटमा सरुवा भए । पछि गोरखा क्याम्पस आएर खेलकुदको प्रमुख भई सेवा निबृत्त भएको छु । यो सबै कुरा राजनीतिले सङघर्ष गर्न सिकाएको जस्तो लाग्दछ ।

प्रत्येक वर्ष श्रावण ६ गते वी.पिको शोक मनाउन नेपाली काङग्रेस उसका भातृ सङगठन र सुभेच्छुक संस्थाहरुले विविध कार्यक्रमहरुको आयोजना गर्दछन् । त्यसबेलामा वी.पिको फोटोमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली चढाउँदछौँ । वी.पीले नै आफू प्रभानमन्त्री भएको बेलामा विर्ता उन्मूलन, ‘जग्गा जोत्नेको उसको हुन्छ पोत’ भन्दै कार्यक्रम अगाडि ल्याएका थिए ।

प्रत्येक व्यक्तिको घरमा दूध दिने गाई हुनुपर्छ भनेका थिए । हाल प्रत्येकको घरमा गाडी हुनुपर्छ भन्ने बुझ्नु पर्दछ । समयले नेटे काट्दै गर्दा कलिलो उमेरमा नै वी.पिको शोक मनाएको आज ४२ वर्ष पुगेछ । अहिलेका युवाहरुले हिजका अग्रजहरुले गरेका कामलाई सम्झेको जस्तो लाग्दैन ।

काङग्रेसका वी.पि लगायतका नेताहरुलाई र्बिसिदैँ गएको जस्तो लाग्छ । काङग्रेसले पनि युवाहरुलाई रोजगार र राजनीति दुवैमा अगाडि बढाउनु पर्दछ जस्तो लाग्छ । अनुशासन गहना हो । पुराना नेताहरुको सङघर्ष र योगदानलाई सम्मान गर्नुपर्दछ । युवाहरुले जिम्मेवारी बहन गरेर नागरिकहरुले अनुभूति गर्ने काम गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्