
मुकुन्दसेनकोटको इतिहास नामेट पार्ने दुस्साहस गर्नु मतिभ्रष्ट हुनु हो
गोरखा इतिहासमा धनी ठाउँ हो भनेर पुष्टि गर्न धेरै शव्द खर्च गरिरहनु नपर्ला । विशेषगरी द्रव्य शाहले १६१६ सालको भाद्र २५ गते गोरखा राज्य जितेर शासन आरम्भ गरेदेखि यहाँको राजनीतिले महत्व राखेको पाइन्छ । त्यसपछि राम शाहले न्याय निसाफको क्षेत्रमा कमाएको ख्यातिले पनि राष्ट्रिय रुपमा ख्याति कमाएको थियो । पृथ्वीनारायण शाहले राज्य एकीकरणको जग बसाएपछि त यहाँको घटनाक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाउन थालेको हो ।
तर त्यसभन्दा अघिको इतिहास भने नेपथ्याभित्र छोपिएर बसेको छ ।
बिक्रम संवतको १५७५देखि १६१० सम्मको कुनै कालखण्डमा पाल्पाका चक्रवर्ती राजा मणि मुकुन्द सेनले केही समय गोरखा मुकाम गरी राज्य सञ्चालन गरेका थिए । तिनताका गोरखा पनि पाल्पा शासित थियो । त्यतिबेला मुकुन्द सेनले हालको गोरखाको चिल्डूेनपार्कमा अवस्थित थुम्कामा दरबार र खड्गदेवी मन्दिर बनाए । उनले शिववाणी सुनेको र उनलाई शिवले खड्ग उपाहार दिएको भन्ने किंवदन्ती छ । गोरखा आउँदा सोही खड्ग साथमा लिएर आएको र त्यसकै नाममा खड्गदेवी मन्दिर बनाएको इतिहास छ ।
राष्टूनिर्माता पृथ्वीनारायण शाहकी ममतामयी माता कौशल्यावती पनि मुकुन्द सेनकै सन्तति हुन् । यसरी ऐतिहासिक महत्व बोकेको मणि मुकुन्द सेनको दरबार, खड्गदेवी मन्दिर रहेको यस डाँडाको संवद्र्धन, प्रवद्र्धनको ठूलो खाँचो छ । यसको धेरैभन्दा धेरै विकास, प्रचार प्रसार गरी ऐतिहासिक पर्यटनको विकास गर्नु अहिलेको आवश्यकता हो ।
तर यत्तिका ठूलो ऐतिहासिक महत्वलाई अन्देखा गरी आधुनिकताका नाममा चिल्डूेनपार्क नामाकरण गर्नु दुखद छ । ऐतिहासिक स्थलका रुपमा विकास गर्नुपर्ने ठाउँलाई ठिटाठिटीको डेटिङ स्थलका रुपमा मात्र विकास गर्न खोज्नु मतिभ्रष्ट हुनु हो ।