| बुधबार, असार ३१, २०७७

भारतबाट आएकाहरुको तत्काल पिसिआर परीक्षण हुनुपर्छ

शिव उप्रेती :

शनिबार भारतबाट कञ्चनपुर हुदै १४ जना गोरखा आइपुगेका छन् । उनीहरुमध्य सात जना आरुघाट ५ अल्कटारका र बाँकी सातजना आरुघाट ८ आरुपोखरीका हुन् । त्यस्तै दुई जना धार्चे ५ गुम्दाका हुन् ।

त्यसैगरी आजीरकोट ३ का एकजना, पालुङटार ८ का एकजना, भीमसेन थापा गाउँपालिका ४ का एकजना र सिरानचोक गाउँपालिका ८ का एकजना रहेका छन् ।

उनीहरु सबै भारतको रुद्रपुरबाट कञ्चनपुर नाका हुदै आएका हुन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले १४ दिन क्वारेण्टाइनमा राखेर पठाएको हो ।

आरुघाट गाउँपालिकाका आठ जनालाई गाउँपालिकाले भीमोदय क्याम्पसमा रहेको क्वारेण्टाइनमा राखेको छ । सोही क्वारेण्टाइनमा सँगै आएका धार्चे ५ गुम्दाका दुई जनालाई पनि राखिएको छ ।

पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका, भीमसेनथापा गाउँपालिकाले आ–आफ्ना नागरिकलाई शनिबार नै लगेर क्वारेण्टाइनमा राखेको छ भने अजीरकोट गाउँपालिकाका एक जना गोरखा नगरपालिका १० को मनकामना बहिरा माविस्थित क्वारेण्टाइनमा रहेका छन् ।
अझै बारपाक सुलीकोट, सहिद लखन, आरुघाटलगायतका गाउँपालिकाहरुले विदेशमा रहेका र घर फर्कन चाहनेहरुको खोजी गरिरहेको छ ।
विदेशमा अलपत्र परेकालाई आफ्नो घरथरमा ल्याउनु सह्रानायोग्य काम हो ।

विदेशबाट घर फर्कन पाउनु उनीहरुको अधिकार पनि हो । संकटका बेला समन्वय गरेर ल्याउनु स्थानीय सरकारको कर्तव्य पनि हो । तेस्रो मुलुकमा अलपत्र रहेकाहरुलाई पनि समन्वय गरेर ल्याउनुतर्फ सरकारले ध्यान पु¥याउनु पर्छ ।

खुल्ला सीमाना, रोजगारीमा जानेको संख्या धेरै र आउनु पर्ने बाध्यता परेकाको संख्या पनि प्रसस्तै भएकाले नेपालमा कोरोनाबाट सबैभन्दा खतरा भारतबाट छ । तर सरकारले पर्याप्त सावधानी अपनाएको देखिएन ।

अक्सर सीमानामा देखिने जनसागरले कोरोना ल्याउन सक्ने अवस्वयम्भावी छ । त्यसबाट बच्न सरकारस्तर, नागरिकस्तरबाट हरसम्भव प्रयत्न गरिरहनु पर्छ ।

यो चरणमा अहिले भारतबाट १४ जना गोरखा प्रवेश गरिसकेको र आठ जना प्रवेश गर्नेवालामा छन् । अरु पनि थपिने संकेत देखिसकेको छ ।
काठमाडौंबाट गाउँ फर्कने क्रम बीचैमा रोकियो । जोखिम ‘ट्रान्सफर’ हुन सक्ने कारण देखाउँदै सरकारले गाडी चढेका गोरखाका बिभिन्न गाउँपालिकाका बासिन्दालाई ओह्रालेर फर्कायो । उद्धार गर्न काठमाडौं जादै गरेको गाडीलाई बीचबाटोबाटै फर्कायो ।

तर अहिले भारतबाट धमाधम भित्र्याउनु अल्लि नसुहाएको जस्तो देखिनु स्वभाविकै हो किन्तु, काठमाडौंमा रहेका र भारतमा रहेकाको सन्दर्भ फरक छ । अबस्था फरक छ । त्यसैले उनीहरुलाई उद्धार गर्नु जरुरी छ ।

कोरोना ‘ट्रान्सफर’ हुने भन्दै निर्माण व्यवसायमा सहभागी हुन बिभिन्न जिल्लाबाट कामदार ल्याउन रोकिएको अबस्था छ । तर कोरोनाबाट लाखौं संक्रमित भएको देशबाट नागरिक भयरहित गाउँमा ल्याइएको छ ।

गोरखामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । सबै गाउँ सुरक्षितप्राय छन् । तर भारतबाट मान्छे भित्रिएसंगै कोरोना भित्रिने त्रास गाउँमा पक्कै पनि जन्मिएको छ । सँगसँगै गाउँलेहरु संयमित छन् । किनभने पसिना बेचेर परिबार पाल्न परदेश गएका दाइ, भाइ आएका छन् । आउन पाउनु पनि पर्छ ।

यो प्रक्रियामा गल्ती एउटै भएको छ, त्यो हो सीमाको क्वारेण्टाइनमा राखेपछि पिसिआर परीक्षण नगरी पठाइएको छ । यदि परीक्षणपछि पठाएको भए सुरक्षाको प्रत्याभूति हुने एउटा आधार बन्थ्यो । त्यो अबस्था रहेन । सीमा क्षेत्रको क्वारेण्टाइन स्थल कोरोना संक्रमणको कारखाना बन्यो भन्ने बारे टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालहरुमा दैनिक देख्नु परेको छ । यो खालको क्वारेण्टाइनमा १४ दिन राखेर मात्र पठाउनु असावधानी हो । कम्तिमा आरडिटी परीक्षण गरेर पठाएको भए पनि हुने थियो ।

यो त्रासलाई न्यूनिकरण गर्न अब गोरखाका स्थानीय सरकारले उनीहरुलाई सिघ्रातिसिघ्र पिसिआर परीक्षण गर्नुपर्छ । १४ दिनपछि पुन परीक्षण गर्ने गरी सुरुकै चरणमा पिसिआर परीक्षण भयो भने संक्रमण नभएकालाई पनि फैलिने सम्भावना कम हुन्छ । स्थानीयबासीलाई त्रास पनि कम हुन्छ ।

त्यसका लागि स्थानीय सरकारको चासो, चिन्ता र जिम्मेवारीबोध र सक्रियताको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्