| शनिबार, असार २७, २०७७

को–को थिए लखन थापासँगै मारिनेहरू

राजकुमार दिक्पाल :

गोरखा, बुंकोट विद्रोहका नायक लखन थापामगर नेपालका प्रथम सहिद हुन् । नेपाल सरकारले उनलाई २०५६ साल फागुन ११ गते सहिद घोषणा गर्‌यो । मगरहरूको साझा संस्था नेपाल मगर संघले लखनलाई प्रथम सहिद घोषणा गर्नुपर्ने माग गर्दै आएकोमा उनलाई २०७२ साल असोज ३ गते नेपाल सरकारले नेपालको प्रथम सहिद घोषणा गर्‌यो ।

लखन आफूलाई आफूभन्दा अढाई सय वर्षअघिका सिद्ध लखन थापाका अवतार ठान्थे र सोहीअनुसार प्रचार गर्थे । यस्तै देवी मनकामनाले जंगबहादुर राणाको हत्या गरी उनको ठाउँमा आफूलाई शासन गर्नू भन्ने आदेश प्राप्त भएको गाउँलेहरूलाई सुनाउँथे ।

गोरखाका राजा राम शाहका समयका सिद्ध लखन थापाले गुरु गोरखनाथसँग दीक्षा प्राप्त गरेको, राजा राम शाहको कचहरीमा रहँदा उनले विभिन्न चमत्कार देखाएको, राम शाहका सन्तानले नेपाल जित्ने भविष्यवाणी गरेको, ईश्वरी महारानीको मन जिती उनी र उनको दरसन्तानले मनकामना देवीको पूजाहारीको जिम्मेवारी प्राप्त गरेको आदि वर्णन ‘प्राचीन नेपाल’को संख्या २८ ( श्रावण २०३१:७–१६) मा प्रकाशित ‘गोरखा वंशावली’मा रोचक पाराले प्रस्तुत गरिएको छ ।

सिद्ध लखन थापाको अवतार हुनु र मनकामनादेवीबाट आफूलाई आदेश भएको प्रचार हुनुले यी दोस्रा लखनले प्रशस्तै अनुयायी प्राप्त गरी जंगबहादुर राणाविरुद्धमा जनसमर्थन जुटाएका थिए ।

जंगको हत्या योजना

जंगबहादुर राणाका छोरा पद्मजंगले लखनलाई मृत्युदण्ड दिइएको २२ वर्षपछि भारतबाट आफ्ना बाबुको जीवनी प्रकाशमा ल्याउने उद्देश्यले सन् १९०९ मा प्रकाशित गरेको ‘लाइफ अफ महाराज श्री जंगबहादुर’ (रत्न पुस्तक भण्डारद्वारा सन् १९७४ पुनः प्रकाशित पृष्ठ ३०२–३०४)मा प्रकाशित लखन थापा प्रकरण रेग्मी रिसर्च प्रालिले सञ्चालन गरेको ‘रेग्मी रिसर्च सेरिज’को वर्ष १२ अंक ५ (डिसेम्बर १९८०:७२–७५)मा प्रकाशित गरिएको छ ।

सो सेरिजमा प्रकाशित पद्मजंगको बयानअनुसार लखनले त्यस बेला एक हजार पाँच सय जनाको सशस्त्र समूह गठन गरेका थिए । सोही सेनाका प्रमुखलाई उनले राजधानी गएर जंगबहादुरको हत्या गरेर सत्ता कब्जा गरी नेपालमा सुनौलो इतिहास सुरु गर्न आदेश दिएका थिए ।

किल्ला र सैन्य संगठन निर्माण

लखन थापाको विषयमा खोजी र चर्चा गर्दै आएका अभियन्ताहरूले उल्लेख गरेअनुसार आफ्ना सहयोगीका साथ लखनले ढुंगाले घेरी बलियो किल्ला निर्माण गरेका थिए । उनले किल्ला परिसरभित्र मनकामना देवीको प्रतिमूर्ति स्थापना गरेका थिए । फौजलाई कवाज खेल्न, तारो हान्न तालिम सञ्चालन गर्न तथा खानेबस्ने बन्दोबस्त किल्लाभित्र जुटाएका थिए । ढुंगेधारा र पोखरीसमेत किल्लाभित्र बनाइएको थियो ।

सेनालाई आवश्यक पर्ने हातहतियारहरू ६० नाल बन्दुक, ठूलो संख्यामा तरबार, खुकुरी, भाला, डन्डी, धनुकाँड, खुँडा र कटारीहरू समेतको बन्दोबस्त गरेका थिए । सेनालाई आवश्यक पर्ने रसदपानी आदिको व्यवस्था मिलाई जंगबहादुरविरुद्ध जनविद्रोह गर्न तयारी पूरा गरिसकेका थिए भनी त्रिलोक थापामगरले ‘राज्यसत्ता डट कम’ (सन् २०११–०९–२३) मा उल्लेख छन् ।

रेग्मी रिसर्च सेरिजले पनि लखन थापा प्रकरणमा उनीबारे सरकारी सेनाले बुझाएको सूचना पनि प्रकाशित गरेको छ ।
सोअनुसार पाल्पाका मेजर कप्तान शमशेरजंग थापा क्षेत्री, सुब्बा वीरमानजंग थापा क्षेत्री र सुबेदार बुदलसिंह बस्न्यातले प्रसादसिंह थापा, खड्ग थापा र अन्य व्यक्तिबाट यस्तो सूचना पाएः

लखन थापा जुन घरमा बस्छन्, त्यो र आठ क्युविट चौडा र १६ क्युविट उचाइको छ । त्यो घर एक प्रकारको किल्लाजस्तै छ । विसं १९३२ फागुन २६ मा लखन थापालाई बन्दुक र तरबारले सुसज्जित ठूलो संख्यामा सशस्त्र भोटेहरूले साथ दिएका थिए । उनीहरू जंगबहादुरको सैन्यमा भर्ना हुन जान लागेका थिए । त्यसको खास उद्देश्य जंगबहादुरलाई खत्तम गर्नु थियो ।

 

सरकारी सैन्यको सूचनामा लखन थापाको घरको नाप दिँदै उनको घरलाई किल्लाजस्तै भनिएबाट पनि लखनले जंगबहादुर राणाका विरुद्ध ठूलै तयारी गरेका थिए भन्ने स्पष्ट हुन आउँछ ।

लखन थापाको विद्रोह दबाउने क्रममा उनीसहित अजपसिंह थापामगरलगायत १२ जनालाई पक्रेर बाँसको पिँजडामा राखी काठमाडौंको थापाथलीमा ल्याइयो । त्यहाँ उनीहरूलाई कायल गर्दा उनीहरूले दिएको बयान पनि रेग्मी रिसर्च सेरिजमा परेको छ । उनीहरूको बयानमा लखनले आफूहरूले सत्ता हात पारेपछि विद्रोहमा संलग्न व्यक्तिहरूलाई सेनाको विभिन्न उच्च पद दिने प्रतिज्ञा गरेका थिए ।

पद्मजंगको बयानअनुसार यो खबर जंगबहादुरले पाएपछि लखनलगायतलाई पक्राउ गर्न देवीदत्त पल्टनका सेना पठाए । उनीहरूको लखन थापाको सेनासँग केही बेर आमनेसामने भयो । सानोतिनो लडाइँपछि ती विद्रोहीहरूले आत्मसमर्पण गरे । लखनसहित १२ जना समातिए । उनीहरूलाई बाँसको पिँजडामा राखेर काठमाडौं ल्याइयो । उनीहरूले आफूहरूले गर्न लागेको विद्रोह र जंगबहादुरको हत्याको योजनासम्बन्धी भेद खोले ।

लखन थापाले सुरु गरेको विद्रोहमा जहरे चुमी (जयसिंह चुमी मगर), विराज थापामगर, जुठ्या थापामगर, जितमान गुरुङ र अजपसिंह थापामगर नै बढी सक्रिय भएको हुँदा लखन थापासँग मृत्युदण्ड पाउनेहरू पनि उनीहरू नै हुन सक्छन् ।

मेजर कप्तान शमशेरजंग थापा क्षेत्री लगायतबाट लखन थापासम्बन्धी खबर पाउनासाथ जंगबहादुर राणाले विसं १९३२ चैत्र सुदि १ मा पाल्पामा रहेका कर्णेल टेकबहादुर राणाको नेतृत्वमा लखन र उनका सहयोगीलाई पक्राउ गर्न सेना खटाएको ‘रेग्मी रिसर्च सेरिज’बाट स्पष्ट हुन्छ । उनलाई सहयोग गर्न उनै मेजर कप्तान थापा क्षेत्रीलाई आदेश दिइएको थियो । उनीहरूले लखनको घर घेराउ गरेर अजपसिंह थापामगरसहित उनका मानिसहरूलाई पक्राउ गरे ।

उनीहरूलाई काठमाडौंको थापाथली दरबारमा ल्याइयो । त्यहाँ उनीहरूले जंगबहादुरको हत्या गर्ने योजनाबारे स्पष्टै रूपमा बताए । ‘रेग्मी रिसर्च सेरिज’मा प्रकाशित उनीहरूको बयान यस्तो छः

लखन थापाले हामीलाई जर्नेल, कर्णेल र कप्तानमा नियुक्ति दिने कसम खाएका छन् । उनले जहरे चुमीलाई जर्नेल, विराज थापामगर, जुठ्या थापामगर र जितमान गुरुङलाई कर्णेल पद दिएका छन् । प्रधानमन्त्री जंगबहादुरको हत्या गर्ने र यसपछि शाहज्यादा उपेन्द्रविक्रम राजा बन्ने र लखनचाहिँ उपेन्द्रका दोस्रा व्यक्ति (प्रधानमन्त्री) बन्नेछन् । लखनले तार्कु वा मनाङबेसीमा जंगबहादुरको हत्या हुनेछ भनेका छन् । यो योजना सफल भएन भने उनी तिब्बतीहरूको सहयोग माग्न तिब्बत जानेछन् र उनको यो योजना सफल भयो भने उनी राजा बन्नेछन् ।

लखन र उनका अनुयायीहरूको यस्तो बयानअनुसार जंगबहादुरदेखि असन्तुष्ट रहँदै आएका शाहज्यादा उपेन्द्रविक्रम शाहलाई राजा बनाउने थियो र आफूहरूको तात्कालिक योजना असफल भयो भने तिब्बतलाई गुहार्ने थियो । यसले बयानले जंगबहादुरविरुद्ध लखनको दरबारसँग पनि भित्रभित्रै साँठगाँठ थियो भन्ने अनुमानलाई बलियो बनाउँछन् । यस्तै तिब्बतमा गई गुहार माग्ने भन्ने बयानले पनि उनीहरू अन्तर्राष्ट्रिय समर्थन र सहयोग लिएरै भए पनि जंगबहादुरविरुद्धको अभियानलाई सफल बनाउने उद्देश्यका साथ विद्रोहमा होमिएका थिए भन्ने पनि स्पष्ट हुन्छ ।

सात विद्रोहीलाई मृत्युदण्ड

जंगबहादुरका छोरा पद्मजंगको बयानअनुसार छानबिनपछि पक्राउ परेका १२ जनामध्ये लखनसहित सात जनालाई मृत्युदण्ड दिइयो र बाँकी पाँच जनाको त्यस घटनामा सक्रिय सहभागिता नदेखिएका कारण घर फिर्ता गरियो । इतिहासकार बालचन्द्र शर्माले पनि पक्राउ परेका १२ मध्ये सात जनालाई मात्र मृत्युदण्ड दिइएको ‘नेपालको ऐतिहासिक रूपरेखा’ (२०३३ः३४१) मा उल्लेख गरेका छन् ।

लखनसहित सातजना विद्रोहीलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झुन्ड्याएर मृत्युदण्ड दिइएको खोजकर्ता त्रिलोक थापामगरले ‘इसमता डट कम’ (२०७२–११–०२) मा उल्लेख गरेका छन् । थापाले आफ्नो लेख ‘कप्तान लखन थापाको जनविद्रोहको नालीबेली’मा उल्लेख गरेअनुसार लखनको जन्म विसं १८९१ मा भएको थियो ।

हालसम्म लखन थापाको प्रसंगमा ‘उनीसहित जयसिंह चुमी मगर लगायतलाई झुन्ड्याएर मृत्युदण्ड दिइयो’ भन्नेमात्र पढ्न पाइन्छ । उनीसहित मारिने बाँकी को को थिए त ? यो प्रश्नको भरपर्दो जवाफ हालसम्म पढ्न पाइएको छैन । यस समस्याको समाधान गर्ने प्रयास यहाँ गरिएको छ ।

पद्मजंगको बयानमा पक्राउ परेका १२ जनामध्ये सात जनालाई मृत्युदण्ड दिइएको र विद्रोहमा कम सक्रियता भएका बाँकीलाई घर जान दिइएको प्रसंग परेकाले सात जनाले मृत्युदण्ड पाएको भन्ने तर्कलाई विश्वसनीय मान्न सकिन्छ । लखन थापालाई मृत्युदण्ड दिइएको घटनाको समयमा पद्मजंग २० वर्षका थिए । त्यसैले यस घटनाबारे उनमा चासो हुनु र यसबारे उनी जानकार हुनु सम्भव छ । इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णांक ९३ (वैशाख २०५५:३५) मा प्रकाशमा ल्याएको ‘कुण्डली संग्रह’अनुसार पद्मजंगको जन्म विसं १९१४ कात्तिक २८ गते भएको हो ।

‘रेग्मी रिसर्च सेरिज’ले प्रकाशमा ल्याएको विद्रोहीहरूको बयानमा लखन थापाले सेनाका ठूलाठूला पद दिने प्रतिज्ञा गरेका व्यक्तिमध्ये जहरे चुमी (जयसिंह चुमी मगर)लाई जर्नेल, विराज थापामगर, जुठ्या थापामगर र जितमान गुरुङलाई कर्णेल पद दिइएको थियो । पक्राउ पर्दा लखन थापासँगै अजपसिंह थापामगर पनि पक्राउ परेको उल्लेख भएको हुँदा लखनका सक्रिय सहयोगी पनि यिनै व्यक्तिहरू थिए भन्ने अनुमानलाई बलियो बनाउँछ ।

यी विभिन्न तथ्य केलाएर हेर्दा लखन थापासँगै जंगबहादुर राणाबाट मृत्युदण्ड पाउनेमा जहरे चुमी (जयसिंह चुमीमगर), विराज थापामगर, जुठ्या थापामगर, जितमान गुरुङ र अजपसिंह थापामगर नै थिए भन्ने अनुमान गर्न सकिन्छ । एकजना व्यक्तिको नाम भने अझै अज्ञात छ ।

लखन थापालाई मृत्युदण्ड दिइँदा मर्नुअघि उनले ‘म मरेको एक सातामा जंगेको पनि मृत्यु हुनेछ’ भनी गरेको भविष्यवाणी प्रसिद्ध छ । संयोग पनि कस्तो भयो भने लखनलाई मृत्युदण्ड दिइएको एक होइन, दुई सातापछि जंगबहादुरको पनि मृत्यु भयो । ‘पूर्णिमा’ पूर्णांक ३३ (भाद्र २०३२:४६) अनुसार जंगबहादुरको मृत्यु विसं १९३३ साल फागुन १६ गते (फागुन शुल्क द्वादशी उप्रान्त त्रयोदशी)मा भएको हो ।

जंगबहादुर राणाविरुद्ध सशस्त्र विद्रोहको तयारी गर्नु सानो कुरा थिएन, त्यस बेला । गोरखाको बुङ्कोटमा भएको त्यस विद्रोहमा लखनले निकै ठूलो नैतिक र भौतिक सहयोग प्राप्त गरेका थिए । निकै ठूलो दबाबपछि लखन नेपालको प्रथम सहिद घोषित भए । उनीसँगै विद्रोह गर्दै मृत्युदण्ड प्राप्त गर्ने बाँकी ६ जनाचाहिँ सहिद होइनन् ? उनीहरूलाई पनि सहिद घोषणा गर्न माग किन नगर्ने ?

प्रतिक्रिया दिनुहोस्