| शुक्रबार, साउन २३, २०७७

भोलि वसन्त पञ्चमी, यस्तो छ महत्व

 लेखक मित्र देवकोटा

       प्रकृतिको सर्वोत्कृष्ठ उपहार तथा संसारकै शिर सगरमाथाले विभूषित नेपाल ज्ञानभूमी, तपोभूमी एवं तेत्तीसकोटी देवीदेवताको क्रिडास्थल हो । विश्वको मानचित्रमा थोप्ले ठाउँ ओगटेको नेपाली माटोमा शान्तिको अत्तर मगमग बास आइरहन्छ। हिमवत खण्डमा अवस्थित नेपालका ऐतिहासिक एवं पुरातात्विक सम्पदा र यहाँका जैविक विविधताले विश्वलाई नै चकित र आकर्षित बनाएको छ ।

ऋतुहरुको राजा मानिने वसन्त ऋतुलाई अन्य पाँचवटा ऋतुहरुको तुलनामा सर्वोत्कृष्ठ मधु ऋतु।मानिन्छ । फरक –फरक ऋतुहरुका प्रभावले सम्पूर्ण चराचर प्राणी तथा वनस्पतिहरुमा फरक –फरक प्रभाव पारेकै हुन्छ । हाम्रा धर्मशास्त्रहरुले पनि भन्दछन् – वसन्त ऋतुमा स्त्री र प्रकृति दुबैमा यौवन चढ्दछ । सम्पूर्ण धार्मिक, सामाजिक, शैक्षिक गतिविधीहरुको मात्र होईन, यो जगत सृष्टिको शुभारम्भ पनि वसन्त ऋतुमा नै भएको थियो भन्ने शास्त्रीय मान्यता रहको पाईन्छ । त्यसैले वसन्त पञ्चमीलाई प्राचिन कालमा मदनोत्सवको रुपमा मनाउने गरिन्थ्यो भन्ने प्रमाणहरु पाइन्छन् । अनेकतामा एकता रहेको हाम्रो मुलुकमा भएका चाडपर्वहरु, देवस्थलहरु र तीर्थस्थलहरु प्राचिनकालदेखिनै महत्वपूर्ण थिए र वर्तमानमा पनि उत्तिकै महत्व बोकेका छन् ।

आफ्नोआफ्नो साँस्कृंतिक महत्व बोकेका अनेकौं चाडपर्वहरु कुनै जातीय रुपमा मनाउने गरिन्छन् भने कुनै पर्व राष्ट्रिय साँस्कृतिक धरोहरका रुपमा सम्मानित छन् । यी महत्वपूर्ण हरेक चाडपर्वहरुले हरेक मान्छेको धार्मिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई प्रष्ट पारिरहेका छन् । यस्तै महत्वपूर्ण चाड वा उत्सवका रुपमा सदियौैँदेखि नै वसन्त पञ्चमीले पनि विशेष महत्व पाएको छ ।

वसन्त पञ्चमी प्रत्येक बर्ष माघ शुक्ल पञ्चमीका दिनमा पर्दछ । वसन्त पञ्चमीलाई दुई फरकफरक उत्सवका रुपमा मनाउने चलन विद्यमान छ – वसन्त ऋतुको स्वागतार्थ मनाईने वसन्तोत्सव र विद्याकी अधिष्ठात्री सरस्वती जयन्तीका रुपमा । सामान्यतया वसन्त ऋतु चैत वैशाख महिनामा पर्ने हुँदा वसन्त उत्सव पनि चैतवैशाखमा नै मनाइनुपर्ने हो तर सूर्य दक्षिणायनबाट उत्तरायणतर्फ मकर सक्रान्तिका दिनदेखि लाग्ने हुँदा सो समयलाई वसन्तको प्रारम्भ मानिएको हो भन्ने जनविश्वास रही आएको छ ।

हिन्दू धर्मशास्त्र ऋग्वेदमा व्याख्या गरिए अनुसार रसिक र श्रृंगारका देवता कामदेवको पूजा गरेर प्राचीनकालमा यो बसन्तोत्सव मनाउने चलन थियो । वैदिक काल, लिच्छवीकाल र मल्लकालमा पनि कामदेवको पूजा गरेरै वसन्तपञ्चमी मनाउने चलन थियो भन्ने प्रमाण इतिहासले बताउँछ । राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहद्धारा वसन्त पञ्चमीका दिनमा पहिले वसन्तपुर दरबारको समुद्घाटन गरी दोस्रो चरणमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको शुरुवात गराएका थिए ।’

पछि आएर यो उत्सव श्री ५ को उपस्थितिमा दरबारका मूल पुरोहितद्धारा पूर्ण कलशको विधिवत् पूजा अर्चना गरी शुभ मुर्हुतमा १२औं शताब्दीका संस्कृत महान कवि जयदेवद्धारा लिखित गीतागोविन्द नामक संस्कृतकाब्यको दोस्रो अध्याय वाचन गरेर श्री ५ लाई सुनाइन्थ्यो । भगवान श्रीकृष्ण र राधालाई मुख्य नायक नायिका बनाई वसन्तको वर्णन गरिएको शास्त्र नै गीतागोविन्द हो ,यसैलाई वसन्त श्रवण भनिन्छ । वर्तमान समयमा राष्ट्राध्यक्ष अर्थात् राष्ट्रपतिको समुपस्थितिमा नेपाल सरकारका विशिष्ट कर्मचारीहरु पनि वसन्त श्रवण गर्न हनुमान ढोकाको नासलचोकमा उपस्थित हुने गर्दछन् । त्यसपछि त्यहाँ वसन्त र व्याञ्चलि रागको गायन गरी यो उत्सव सम्पन्न गरिन्छ ।

नेपालमा मात्र होईन संसारका पश्चिमा मुलुकमा पनि वसन्त उत्सव विभिन्न तौर तरिकाबाट वसन्तको स्वागतार्थ मनाउने गरिन्छ । ती मुलुकहरुमा हिमवत खण्डमा झै ऋतुहरुको क्रमिक विभाजन नभएपनि हरेक मान्छेको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने गर्दछ । त्यसैले त्यहाँ एउटी सुन्दर बालिकालाई छानेर उसलाई फूलै फूलले सिंगारेर सौन्दर्यरानीको संज्ञा दिइन्छ र वसन्त पर्व मनाईन्छ । यसरी वसन्तको आगमनलाई संसारभर हर्षोल्लासका साथ सबैले मनाउने गरेका छन् ।

वसन्त पञ्चमीकै दिनमा विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा धुमधामसँग गर्ने चलन रहेको छ । पञ्चाङ्ग अनुसार मलमास लागेको बर्ष २६ वटा र अन्य बर्षहरुमा जम्मा २४ वटा पञ्चमीहरु रहेका हुन्छन् । तिमध्ये विशेष रुपमानाग पञ्चमी मनाईन्छ । तीन तहमा विभाजित मानव मस्तिष्कको प्राथमिक तह र सर्पको मस्तिष्क झण्डै उस्तै हुने हुनाले मानिसले आफ्नो शरीरमा प्राप्त गर्ने प्राकृतिक ऊर्जा तथा कुण्डलिनी जागरणको उर्जा गति सर्पकै चलायमान जसरी प्राप्त गर्ने हुँदा सर्प देवको पूजा र बर्षायाम समाप्त भई हिउँद लाग्ने उत्सव तथा प्रकृति पूजाका रुपमा श्रावण शुक्लपञ्ममी अर्थात नागपञ्चमीले स्थान पाएको छ ।

त्यस्तै नारी जाती रजोवती हुँदा अन्जानमा भएका गल्ती कमजोरीहरु प्रति क्षमायाचना स्वरुप पापमोचन गर्नका निमित्त नारीहरुद्धारा मनाईनेभदौरे शुक्लपञ्चमी अर्थात् ऋषिपञ्चमी मनाईन्छ । त्यसै गरीत्रेतायुगमा मर्यादा पुरुष श्री रामले सीतामाईसँग विवाह सम्पन्न गरेका दिनकोसम्झना स्वरुप मार्ग शुक्ल पञ्चमी अर्थात्विवाह पञ्चमी र वागदेवी सरस्वतीको जन्म जयन्तीका रुपमा माघ शुक्लपञ्चमी तथा वसन्त पञ्चमी अर्थात् श्री पञ्चमीलाई विधिवत रुपमा हर्सोल्लासका साथ मनाउने गरिन्छ ।

अन्य पञ्चमीमा श्री शब्द जोडिएको छैन तर मघिया शुक्लपञ्चमीमा श्री शब्द जोडिएको हुनाले यसको महत्व झन् फराकिलो हुन पुगेको छ । श्री को अर्थ सामान्यतया धन वा लक्ष्मी हुन्छ । कृषकहरुले आफ्ना अन्नरुपी लक्ष्मी भित्र्याईएको खुसीयालीमा यस दिन श्री पञ्चमी मनाउँछन् र यसै दिन हलोसारो गर्दछन् । हलोसारो गर्दा खेती गरिने जमिनमा कृषकले आफ्ना हलगोरु पूर्व दिशा फर्काई नारेर तीन सिया मात्र जोती पश्चिम फर्काई फुकाउने र जोतिएका सियाहरुमा नागदेवलाई गाईको शुद्ध दुध अर्पणगरी हलोजुवाको पनि फलफूल नैवेद्य, अक्षताले विधिवत पूजा गर्ने चलन विद्यमान रहेको छ ।

श्री शब्द श्रेष्ठताको सूचक भएको हुनाले अन्य पञ्चमीभन्दा श्री पञ्चमी सर्वश्रेष्ठ छ । श्रीपञ्चमी सौन्दर्य, विद्या, सम्पति र आनन्द प्रदान गर्ने चाड भएकाले यस दिन ऋतु, विद्या, श्री, विष्णु, श्रीकृष्ण, प्रकृति र कृषकहरुका कृषि औजारहरुको पूजा गर्ने चलन रहिआएको पाइन्छ ।सरस्वतीको पवित्र प्रसाद पाएर खुसी भएका श्रीकृष्णले द्धापर युगमा वरदान दिई वसन्त पञ्चमीका दिन सरस्वती भगवतीको पुजा गर्ने चलन चलाएका थिए भन्ने पौराणिक कथनहरु पाइन्छन् । त्यसैले यसै दिन सरस्वतीको जन्म भएको कुरा पौराणिक धर्मग्रन्थहरुमा प्रस्ट छ ।

ज्ञानकी अधिष्ठात्री देवी सरस्वतीको प्रभाव वैदिक, पौराणिक, स्तुति एंवम् लोकसाहित्य, संगीत तथा अठार विद्या र चौसठ्ठी कलामा पूर्ण रुपले परेको पाइन्छ ।ब्रम्हाजीको मुखबाट उत्पन्न भएकी वाक् सरस्वतीले स्वयं पिता ब्रम्हालाई नै ज्ञान दिएर उनलाई प्रबुद्ध बनाएकी थिईन् । त्यसैले सरस्वती देवीमा जन्मजात उच्च कोटीको ज्ञान थियो भन्न सकिन्छ । वैदिककालकी वाक्देवी सरस्वती पौराणिक कालमा आएर विभिन्न शक्तिरुपा भईन् । त्यस्तै, बैदिक साहित्यले सरस्वतीलाई नदी र जलदेवीका रुपमा बताएका छन् ।

कतै ब्रम्हाकी छोरी,कतै ब्रम्हाकी शक्ति, कतै महादेवकी छोरी, गणेशकी दिदी र विष्णुकी शक्तिका रुपमा पनि सरस्वतीलाई व्याख्या गरेको पाईन्छ । त्यस्तै, वौद्ध साहित्यमा सरस्वतीलाई मन्जुश्रीकी पत्नीको रुपमा उल्लेख गरेको पाईन्छ । मन्जुश्रीलाई हिन्दुहरुले सरस्वतीका रुपमा मान्दछन् भने बौद्धहरुले बोधिसत्वका रुपमा मानेका छन् ।

विभिन्न वैदिक एवम् पौराणिक साहित्यमा वर्णन गरिए अनुसार सरस्वतीको रुप र प्रकृति पनि फरक फरक रहेका छन् । कतै,श्वेत कमलमा आसन जमाएकी, स्वेत वस्त्र धारण गरेकी, चारबाहु भएकी, एकहातमा वीणा लिएकी, अर्को हातले बजाउदै गरेकी,दाहिने एक हातमा अक्षमाला लिएकी, अर्को हात व्याख्यायान मुद्रामा भएकी नै सरस्वतीको वास्तविक रुप मानिएको छ । कतै, श्वेतकमलमा बसेकी, सेता वस्त्र तथा आभुषणहरुले सजिएकी, चार हात भएकी, दाहिने एक हात व्याख्यायन मुद्रा र अर्को हातमा रुद्राक्षको माला लिएकी, देब्रे हातहरुमा पुस्तक र श्वेत कमल लिएकी वास्तविक रुप नै सरस्वती माताको हो भनेको पनि पाईन्छ ।

यसरी नै कतै उनलाई सेतो कमलको फूलमाथि उभिएकी, दाहिने हातमा वीणा, देब्रे हातमा कमण्डलु लिएकी छिन् भन्ने पनि पाईन्छ ।त्यस्तै पुराण साहित्यमा सरस्वती भगवती त्रिनेत्रले युक्त छिन् भनिएको छ भने कतै सरस्वतीको एक हातमा अंकुश लिएकै हुनुपर्छ भनेर व्याख्या गरेको पाईन्छ । त्यस्तै, कुनै शास्त्रमा राजहंसमा चढेकी, सेता फूलका माला लगाएकी, शरीरमा चन्दन लेपन गरेकी तथा एक हातमा अमृत घडा लिएकी नै सरस्वतीको सच्चा रुप भएको पाईन्छ ।

धर्मशास्त्रहरुले व्याख्या गरिएअनुसारका सरस्वतीका मूर्तिहरु नेपालमा त्यति छैनन् । कुनै मूर्तिहरु हाँसको वाहन साथमा कमलमाथि बसेको, दुबै हातले वीणा समातेको, दुई हातहरुमा रुद्राक्षमाला र पुस्तक लिएको रुपमा पाइन्छ । कतै उभिएको र दुई हातमा पुस्तक तथा रुद्राक्षमाला लिएको र दुई हातमा कमल र मसीको भाँडो लिएको मूर्तिहरु पनि पाइन्छन् । त्यस्तै गोरखाको सन्दर्भमा पनि जगत्माता सरस्वतीको एउटा दुर्लभ मूर्ति छ । गोरखकाली मन्दिरको पश्चिमद्धार अगाडि हुनमानको मूर्तिभन्दा पूर्वोत्तर दिशामा चर्तुबाहुसरस्वतीको कलात्मक पुरानो मूर्ति देख्न सकिन्छ ।

सो मूर्ति कहिले र कसले स्थापना गरेको हो भन्ने कुनै ऐतिहासिक प्रमाण पाउन सकिँदैन । कलात्मक दृष्टिले हेर्दा यो मूर्ति निकै पुरानो देखिन्छ । दुई हातमा वीणा लिएकी, एक हातमा पुस्तक र अर्को हातमा खड्ग लिएकी हुनाले खड्गद्धारा अज्ञानता हट्छ भन्ने विश्वास सबैलाई जागेर आउँछ । यी सरस्वतीमा ज्ञानशक्ति र क्रियाशक्तिको अद्भुत समन्वय रहेको पाईन्छ । यी सरस्वती शक्ति र ज्ञान दुबै उपासकका लागि समान रुपले पूजनीय छन् भन्ने सन्देश उक्त मूर्तिबाट पाईन्छ ।

ज्ञानविनाको शक्ति अन्धो र प्रतिउत्पादक हुन्छ भने शक्ति विना ज्ञान प्राप्त हँुदैन । ज्ञानको लागि तपस्याको आवश्यकता पर्छ भने कमजोर व्यक्तिले तपस्या गरी ज्ञान प्राप्त गर्नसक्दैन । त्यसैले दायाँ हातमा खड्ग लिएकी यी सरस्वतीको मूर्ति दुर्लभ छ त्यसैलेयीनलाई महासरस्वतीको प्रतिक मानिन्छ । सरस्वतीलाई विभिन्न रुपमा वर्णन गरिएको पाइनाले उनी स्वतन्त्र छिन् भन्ने पुष्टि हुन्छ । सरस्वती थोरै देवीदेवताहरुमा पर्छिन् – जसलाई बौद्ध, हिन्दू र जैन सबैले उत्तिकै श्रद्धा भक्तिका साथ भजन, कीर्तन, मनन र पूजा अर्चना गर्छन् ।

त्यसैले सरस्वतीको महिमा अपरम्पार छ । पठनपाठनमा लागेका सबैले यसदिन सरस्वतीपूजा र उपासना हर्षोल्लासका साथ गर्ने गर्दछन् । यसदिन ललितपुरको लेले स्थित सरस्वती कुण्डमा भक्तजनहरुको मेला लाग्दछ । देशभरका शैक्षिक समूदायले विशेष पर्वका रुपमा मनाउने गर्दछन् । ज्ञान आर्जनमा लागेकाहरुले बिहान नुवाई धुवाई गरी आफूलाई पायक पर्ने सरस्वतीको मन्दिरमा वा पुस्तकालयलाई विशेष श्रद्धा र भक्तिपूर्वक पूजा अर्चना गर्ने चलन रहिआएको छ । तराईमा माटोले बनाईएको सरस्वतीको मूर्ति सिंगारेर बडो महत्वका साथ पूजा अर्चना गरी भोलिपल्ट उक्त मूर्ति नदी वा तलाउ किनारमा लगेर सेलाउने चलन छ ।

सरस्वती जयन्तीका दिनबाट अबोध शिशुहरुलाई अक्षाराम्भ गराई ज्ञानको ज्योति जगाएर विद्यासाधनाको जग बसालिन्छ । सत्व गुणबाट सरस्वती भगवतीको उत्पन्न भएको मानिएकाले सेता सामाग्रीको साथ जगन्माताको पूजा गर्नु उत्तम मानिन्छ । दूध, दही धानको लावा, चाँदीका गरगहना, सेता वस्त्र, अक्षता पेडा, श्रीफल, वयर, मौसम अनुसारका सेता फूल, फल आदि चढाई पूजा गर्नु पर्दछ भन्ने शास्त्रीय मान्यता अनुरुप भक्तजनहरुले यो दिन बिहानै नुवाईधुवाई गरेर सरस्वती एवं पुस्तकादीको विधिवत् पूजा गरी साथमा सरस्वती गायत्री मन्त्र“ॐ महासरस्वत्यै च विद्महे सर्वशक्त्यै च धीमहि तन्नो वाणी प्रचोदयात्”, “ॐ ह्रीं ऐं ह्रीं ॐ सरस्वत्यै नमः” सरस्वती वीज मन्त्र, “क्रीं हूं ह्रीं” नील सरस्वती बीज मन्त्र एवं सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी……..स्त्रोत्र तथा या कुन्देन्दुतुषरहारधनला था शुभ्रवस्ता वृता…… लगायतका स्तोत्र पाठ गरिन्छ । यसदिन पढेकाहरुले पढेमा बुद्धि घट्छ भन्ने शास्त्रीय मान्यता रहेको पाईन्छ ।

सरस्वती जयन्तीका दिनदेखि नै गुरुङ समुदायको प्रसिद्ध घाटु नाच शुरु हुने गर्दछ । यसै दिनमा बालबालिकाहरुको नाक कान छेड्ने परम्परा छ । नेपालका बलामी जातीहरुले यसै दिनमा परम्परागत विवाह गर्ने चलन पनि रही आएको पाईन्छ । श्रावण महिनाको कृष्ण पक्षमा काटिएको पाटे सिँउडी वा खिर्रोद्धारा सोही महिनाको शुक्ल पक्षमा निर्माण गरीने नेपाली लोक बाजा सारङगीलाई सुन गोहोरोको छालालेमोहोरी बडादशैंको महाअष्टमीमा कालरात्री गरेको कालो बोकाको आन्द्राको तार, सतीसालको घोडी, असुरोको मूर्रा, श्रीखण्डको सुन्दरी र कालोघोडाको पुच्छरको रौंद्धारा निर्मित गजो सहितको सारङगीलाई गन्धर्व समुदायले विधिपूर्वक पूजा गरेर यसै दिनदेखि बजाउने चलन थियो भन्ने लोकोक्ति पाईन्छ ।

हाम्रो लोक संस्कृतिमा गीत, संगीत, सोरठी, मारुनी, बालन लगायतका लोक नाटक, नृत्य र धामी झाँक्रीहरुको थालनीमा पनि सरस्वतीको पूजा आरधना गर्ने चलन छ । यस दिनकोमहत्ता काठमाण्डौं स्वयंभू स्थित मन्जुश्री मन्दिरमा विशेष भिड देख्न सकिन्छ र बौद्ध धर्मावलम्बीहरुले मञ्जुश्रीको जन्मोत्सव पनि मनाउने गर्दछन् । ज्ञान उपार्जन तथा दीर्घायु र सुस्वास्थ्यका निम्तिपनि सरस्वतीको आरधना गर्ने गरिन्छ ।

प्राचिन कालदेखि नै यो दिन धार्मिक मेला, उच्चस्तरीय बैचारिक छलफल तथा विचारको पनि आदान प्रदान हुने गर्दछ । त्यसैले सदियौं देखि चलिआएका चाडवाड हाम्रा अमूल्य निधि हुन् । विदेशी संस्कृतिको प्रभाव परेको वर्तमान समयमा सरस्वती जयन्ती तथा धार्मिक संस्कार एवम् चालचलनहरुलाई जोगाएर राख्न सके भविष्यका पिँढीलाई हस्तान्तरण गर्न सकिने छ अन्यथा हाम्रा सभ्यता हराउने हुन् कि भन्ने चिन्ता सबैलाई पर्नु स्वाभाविक हो ।
या देवि सर्वभुतेषु बुद्धिरुपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम ः ।।
अस्तु ।
(लेखक द ओल्ड क्यापिटल माविका शिक्षक हुन् )

स्रोत – धार्मिक विभिन्न पुस्तक तथा पत्रपत्रिकाहरु ।

प्रतिक्रिया दिनुहोस्